२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

भर्ना अभियान नारामै सीमित

हामी पढ्न रहर भएर पनि विद्यालय जान सक्दैनौं, राधाकृष्ण किशोरी समूहकी अध्यक्षसमेत रहेकी भीमा खड्काले भनिन्, ‘गाउँटोलमा र्‍याली निकालेर मात्रै हाम्रा समस्या कसरी समाधान होलान्, बुझ्नै सकिएको छैन ।’

डोटी/कञ्चनपुर — ७ नं. प्रदेशका ९ वटै जिल्लामा यतिवेला विद्यार्थी भर्ना अभियान सुरु भएको छ । पहाडी जिल्ला डोटीदेखि तराइको सुगम मानिने कञ्चनपुरसम्म तामझामका साथ जिल्ला शिक्षा कार्यालयले भर्ना अभियान चलाइरहेको छ ।

भर्ना अभियान नारामै सीमित

डोटी/कञ्चनपुर–

पढ्ने उमेरकालाई विद्यालय ल्याउन जिल्ला शिक्षा अधिकारी आफैं गाउँ गाउँ खटिएका छन् । विद्यार्थी कर्मचारी, संघसंस्था पनि र्‍याली निकाल्दै भर्ना अभियानमा सहभागी छन् । भर्ना अभियान चलिरहेकै बेला डोटीको आदर्श गाउँपालिका– १ बाँझककानीका बालिकाहरू भने पढाइबाट बञ्चित छन् । गत वर्ष यिनै बालबालिकाको समूह एक औपचारिक कार्यक्रममा पढ्न नपाएको गुनासो पोख्न महिला विकास कार्यालय पुगेका थिए । यो वर्ष पनि उनीहरू पढाइबाट बञ्चित भइरहेका छन् ।

६ भाइ बहिनीमध्येकी जेठी भीमाकुमारी खड्का कापी कलम र परिक्षा शुल्क तिर्न नसक्दा पढाइ छुटेको दुखेसो गर्छिन् । शारीरिक अशक्तताले कक्षा ५ मै पढ्ने रहर त्याग्नु परेको पीडा कमला कुमारी खड्काले गरिन् । ‘लैंगिक बिभेदबाट उब्जिएको पीडा सबै पढेलेखेकाले पनि विश्लेषण गर्न सक्दैनन्’ महिला बिकास कार्यालयकी निरीक्षक सबिना श्रेष्ठ भन्छिन्, ‘गहन रुपमा छलफल, चाँसो र विषयवस्तुको उठान नहुँदासम्म यस्ता अभियानले यी बहिनीहरूको समस्या समाधान हुन सक्दैन ।’
विद्यालयको पढाइ छोडेका बालबालिकाहरूले भर्ना अभियान प्रभावकारी नभएको दुखेसो गरे । ‘घरमा अनेक समस्या छन्, जस्ले हामी पढ्न रहर भएर पनि विद्यालय जान सक्दैनौं’ राधाकृष्ण किशोरी समुहकी अध्यक्ष समेत रहेकी भीमा खड्काले भनिन, ‘गाउँटोलमा र्‍याली निकालेर मात्रै हाम्रा समस्या कसरी समाधान होलान् बुझ्नै सकिएको छैन ।’ महिला बिकास निरिक्षक श्रेष्ठले बाँझककानीमा मात्रै गत वर्ष ३६ बालिका पढाइबाट वञ्चित रहेको बताइन् ।

कञ्चनपुरमा मुक्त कमैया, मुक्त हलिया, बाढी पीडित र अन्य विभिन्न कारणले विस्थापित परिवारका वालवालिकाहरू नियमित रुपमा विद्यालय जान नसक्ने हुदा विद्यालय छाड्ने दर उच्च हुने गरेको हो । उक्त समुदायका छात्रहरू ४/५ कक्षा सम्म अध्ययन गरेर अधिकांश रोजगारीका लागि भारत पस्ने गर्छन् । खेतीपातीका
समयमा विद्यालय पनि नआउने गरेको समुदायमा रहेका विद्यालयका प्रधानाध्यापकहरू बताउँछन् । ‘बजार क्षेत्रकै वालवालिकाहरू विद्यालयको पहुँच बाहिर छन्’ लामो समयसम्म कञ्चनपुरमा शिक्षण पेसामा संलग्न वीर बहादुर चन्दले भने, ‘काम गरिखाने वर्गका र विपन्न समुदायका वालवालिकाहरू पढाइ भन्दा काममा बढी केन्द्रित हुन्छन् ।’ उनले लक्षित समुदाय अहिले पनि भर्ना अभियान लगायत अन्य सरकारी कार्यक्रमबाट बञ्चित रहेको बताए ।

अहिले पनि कञ्चनपुरको सदरमुकाम महेन्द्रनगर तथा अन्य बजार क्षेत्रसँगै सवारी साधनमा ठुलो संख्यामा वालवालिकाहरू कामदार छन् । पारिवारिक अवस्था कमजोर भएका र घरबाट भागेर आएका ती बालबालिकाहरूलाई विद्यालय भर्ना अभियानले छुन नसकेको सरोकारवाला बताउछन् । ‘होटेलमा भाडा माझ्ने वालकलाई बसोबासको व्यवस्थासहित विद्यालय भर्ना गरिनुपर्छ’ उनीहरू भन्छन्, ‘होटेलबाट वा सवारी साधनबाट छुटाएर मात्रै पुग्दै उसलाई पढाइको वातावरण बनाउनेतर्फ पनि जोड दिइनुपर्छ ।’

डोटीको सायल गाउँपालिकाको गिरीचौकाको एउटा वडामा मात्र ४१ जना बालबालिका विद्यालय जानबाट बञ्चित छन् । जिल्लाको बोगटान क्षेत्रमा पर्ने दुर्गम केदारअखडा गाविसमा १३ जना फेला परेका छन् । ‘त्यस्ता सयौं भाइबहिनी अझै पढाइबाट बञ्चित भएका डाटाहरू हामीसम्म आइपुग्दैछन्’ डोटीको महिला बिकास कार्यालयले संकलन गरिरहेको तथ्यांकबारे जानकारी दिंदै महिला बिकास निरीक्षक श्रेष्ठले भनिन, ‘यस्तो भयावह तथ्यांक र अवस्था होला भन्ने कल्पना नै गरेको थिएन, गाउँतिर बालिकाहरूको अवस्था मन रुवाउने खालको छ ।’

जिल्लामा यस्तो अवस्था हुँदासम्म जिल्ला शिक्षा कार्यालयले अहिलेसम्म विद्यालय छोड्ने विद्यालयहरूको तथ्यांकसमेत संकलन गर्न सकेको छैन । न त भर्ना अभियानबाट विद्यालय छोडेका कति बिद्यार्थीहरूलाई विद्यालयसम्म ल्याउन सकेको छ भन्ने बारे लगत राख्न सकेको छ । ‘चाँडै नै तथ्यांक संकलन गरिरहेका छौं, स्रोत व्यक्तिमार्फत काम भइरहेको छ’, डोटीका जिल्ला शिक्षा अधिकारी अनन्त कुमार पौडेलले भने,‘त्यस्ता विद्यार्थीहरूलाई उपचारात्मक शिक्षणबाट समस्या समाधान गर्न सकिन्छ ।’ भर्ना अभियान प्रभावकारी नभएको आरोपबारे भने उनले खण्डन गरे । डोटीमा पढाइ छोडका अधिकांश छात्राका अभिभावक रोजीरोटीका लागि भारत गएर काम गरिरहेका छन् ।

घरमा भाइबहिनीको संख्या बढीरहेकाले तीनका अभिभावकले सबैको स्याहारसुसार र पढाइ खर्च धान्न सकेका छैनन् । ७ कक्षा पढ्दा पढ्दै पढाई छोडेकी आदर्श गाउँपालिका बाँझककानीकी अमृता खड्काले घरमा रहेकी एक्ली अपांग आमा र घरमा तीन भाइबहिनीको लालनपालनको जिम्मेवारी आफ्नो काँधमा आएकाले पढ्ने रहर त्याग्नु परेको दुखेसो गरिन् । ‘अपांग आमाको उपचारका लागि भारतमा काम गरिरहेका बुवाको कमाई ठिक्क छ’ सिरकला गाउँकी अमृताले आफ्नो बाध्यता सुनाइन, ‘घरको चुलोमा आगो बाल्ने सम्म नहुँदा मैले घरको काम गर्दैमा दिन बित्छ ।’

कञ्चनपुरमा ६ सय ४० बालबालिका विद्यालय बाहिर
जिल्ला शिक्षा कार्यालयको तथ्यांक अनुसार कञ्चनपुरमा विद्यालय जाने उमेरका करिब डेढ प्रतिशत बालबालिका विद्यालय बाहिर छन् । गत वर्ष आधारभुत तहमा सामुदायिक र संस्थागत विद्यालयमा ११ हजार ४ सय ४ बालबालिका भर्ना भएका थिए । भर्ना हुन नसकेका बालबालिकाको संख्या ६ सय ४० रहेको शिक्षा कार्यालयका विद्यालय निरिक्षक राजेन्द्र भट्टले जानकारी दिए । उक्त तथ्यांक गत वर्ष यहाँका सामुदायिक अध्ययन केन्द्रले संकलन गरेको हो । ‘बढ्दो बसाइँ सराईका कारण पूर्ण रुपमा वालवालिका भर्ना हुन सकेका छैनन्’ भट्टले भने, ‘भर्ना भएका बालबालिका पनि सबै नियमित स्कुल जाँदैनन् ।’ उनले विद्यालय छाड्ने दर समेत बढी भएको जानकारी दिए । ‘विद्यालय छाड्ने दर पनि छात्राहरूमा उच्च छ’ भट्टले भने, ‘माथिल्लो कक्षामा अझ बढी छ ।’ उनका अनुसार जिल्लामा ४ प्रतिशत भन्दा बढी
विद्यालय छाड्ने दर रहेको छ । यस वर्षको विद्यालय शिक्षा परिक्षा (एसईई) दिने छात्राका संख्या हेर्दा पनि छात्राहरूमा विद्यालय छाड्ने दर उच्च रहेको सहजै देख्न सकिन्छ । यस वर्ष एसईई दिने छात्राको संख्या ५ हजार ४२६ रहेको छ । जबको तिन वर्षअघि कक्षा ८ मा भर्ना हुने छात्राको संख्या ६ हजार २३९ छ । तीन वर्ष अघि कक्षा ८ मा भर्ना भएकै विद्यार्थी यसपटकको एसईईको परीक्षामा सहभागी भएका हुन् ।

प्रकाशित : वैशाख ५, २०७५ ११:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?