औलोको चपेटामा चुरेफेदी

अर्जुन शाह

ओलेनी (कैलाली) — एचआईभी र क्षयरोगको संक्रमणले आक्रान्त कैलालीको ओलेनी गाउँ यतिबेला औलोको चपेटामा परेर थलिएको छ । चुरेको फेदीसँग जोडिएको कैलालीको गोदावरी नगरपालिका–११ मा रहेको चुरेफेदीको बस्तीमा बर्सेनि औलोका बिरामीको संख्या बढेको बढ्यै छ ।

औलोको चपेटामा चुरेफेदी

ओलेनी गाउँमा तुलनात्मक रूपमा सहरबजार जस्तो लामखुट्टे पनि लाग्दैनन् । तर औलोको संक्रमण भने उच्च छ । स्थानीय गोदावरी स्वास्थ्य चौकीको तथ्यांकअनुसार यहाँ साउनयता २२ जना औलोका बिरामी फेला परे । ‘अहिले यहाँ औलो संक्रमितहरूको संख्या बढेको छ,’ स्थानीय स्वास्थ्य चौकीका अहेब तरुण जोशीले भने, ‘हरेक महिना बिरामीको संख्या थपिँदैछ ।’

ओलेनीबाट कामको खोजीमा भारतका विभिन्न सहर पसेका कामदारहरू गाउँघरमा ओहोरदोहोर गरिरहन्छन् । उनीहरूबाट कडा प्रकारको औलो भित्रिने गरेको अहेब जोशीले बताए । यो गाउँमा अधिकांश पुरुष रोजगारीका लागि भारतका विभिन्न सहरमा जाने गर्छन् । ‘घर फर्किंदा उनीहरूसँगै त्यहाँ हुने कडा प्रकारको औलो, डेंगुको संक्रमण यहाँ भित्रिने गर्छ,’ अहेब जोशीले भने, ‘समयमै पहिचान भएका बिरामीको उपचार सहजै गर्छौं, रोग छिप्पिएका बिरामीलाई अलि सास्ती हुन्छ ।’ एचआईभी र क्षयरोगबाट आक्रान्त रहेको ओलेनी अहिले औलोको चपेटामा परेको वडाध्यक्ष शिव विक बताउँछन् ।

कैलाली औलोको उच्च जोखिममा रहेको जिल्ला हो । कैलालीमा औलोबाट प्रभावित हुनेको संख्या यो आर्थिक वर्षको ८ महिनामा विगतका पूरै वर्षभन्दा बढी भइसकेको छ । कुल जनसंख्याको २९ प्रतिशत जनसंख्या औलोको उच्च जोखिममा रहेको जिल्ला जनस्वाथ्य कार्यालय कैलालीको तथ्यांकमा छ । साबिकका १२ गाविस औलो रोगको उच्च जोखिम र १४ गाविस मध्यतहको जोखिममा रहेको जिल्ला जनस्वाथ्य कार्यालयका औलो रोग नियन्त्रण फाँटका भेक्टर कन्ट्रोल सुपरभाइजर हरि भट्टले बताए । साबिकका गोदावरी, चौमाला, उर्मा, मसुरिया, हसुलिया, पहलमानपुर, रामशिखरझाला, खैलाड, चुहा, बलिया र सुगरखाल गाविस औलोका उच्च जोखिममा रहेका गाविस हुन् । ती गाविसमध्येका पनि २६ वडा उच्च र ७९ वडा मध्यम तहका जोखिममा रहेको भट्टले बताए ।

दिन बिराएर ज्वरो आउने, पसिना आउने, पेट तथा टाउको दुख्ने, बान्ता हुनेलगायत औलो रोगका लक्षण हुन् । औलो रोगबाट बच्न घरवरिपरि पानी जम्न नदिने, खाल्डाखुल्डी पुर्ने, कीटनाशक झुल लगाएर मात्रै सुत्नुपर्ने चिकित्सकहरू बताउँछन् । ‘औलोबाट जोगिन आवश्यक सतर्कता नअपनाउँदा संक्रमण बढेको देखिन्छ,’ औलो फाँट प्रमुख भट्टले भने । ग्लोबल फन्डको सहयोगमा हालै आरडीएफ नामक संस्थाले २ लाख ९० हजार कीटनाशक झुल जोखिमयुक्त क्षेत्रमा वितरण गरिएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । आर्थिक वर्ष ०७०/०७१ मा १ सय ७९ जनामा औलोका जीवाणु फेला परेका थिए । ०७१/७२ मा यो संख्या बढेर २ सय ५५ पुगेको थियो । यस्तै, ०७२/०७३ मा १ सय ९५ मा औलोका जीवाणु फेला परेका थिए । तीमध्ये भारतबाट फर्किएका १ सय २२ र स्थानीयवासी ७२ जनामा रोगको जीवाणु फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालयको अभिलेखमा उल्लेख छ । चालु आर्थिक वर्षको साउनयताका ८ महिनामा औलोबाट संक्रमित बिरामीको संख्या २ सय नाघेको भेक्टर कन्ट्रोल सुपरभाइजर भट्टले बताए ।

नेपालमा सन् २०२६ सम्म औलो निवारण गर्ने लक्ष्य छ । सबैभन्दा बढी औलोको जोखिमको जिल्लाका रूपमा कञ्चनपुर र कैलाली छन् । त्यही लक्ष्य पूरा गर्न जिल्ला जनस्वास्थ्य कार्यालयले जिल्लाका जोखिमयुक्त क्षेत्रमा नियन्त्रणका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जिल्ला जनस्वास्थ्य अधिकृत टंकप्रसाद चापागाईंले बताए ।

प्रकाशित : वैशाख ७, २०७५ १२:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?