१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

चोरीसिकारी नियन्त्रण गर्न वन्यजन्तु सप्ताह

मोहन बुढाऐर

धनगढी — कैलालीको राष्ट्रिय तथा सामुदायिक वन भित्र चोरीसिकारी बढ्न थालेपछि स्थानीय उपभोक्ताहरुले संरक्षणका लागि वन्यजन्तु सप्ताह मनाएका छन् । चोरीसिकारी नियन्त्रणको अभियानमा स्थानीय वन उपभोक्ताहरुमा जागरुकता ल्याउन  सप्ताह मनाइएको हो ।

चोरीसिकारी नियन्त्रण गर्न वन्यजन्तु सप्ताह

कैलालीको बसन्ता जैविक मार्गमा पर्ने भजनी रेन्जरपोष्ट स्तरीय सामुदायिक वन समन्वय समितिले बैशाख १ देखी शुरु गरेको वन्यजन्तु सप्ताह शुक्रबार समापन गरेका छन् । समन्वय समितिका बिजयराज श्रेष्ठले भजनी रेन्जरपोष्ट अन्तर्गतका ४४ वटा सामुदायिक वनले आ–आफ्नै ढंगले सप्ताहाका कार्यक्रमलाई समापन गरेको जानकारी दिए ।


‘समृद्धिका लागि वन्यजन्तु संरक्षण’को मुल नारामा यहाँका सामुदायिक वन समितिले आ–आफ्नो क्षेत्रमा संरक्षण सम्बन्धी र्‍याली, गीत प्रतियोगिता, सचेतना अन्तक्र्रिया, सामुदायिक वन क्षेत्र भित्र गस्ती, घोडाघोडी सिमसार क्षेत्रमा चारा अवलोकन लगायतका कार्यक्रमहरु गरेर साता व्यापी कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।

वनदेवी सामुदायिक वनका अध्यक्ष सिताराम चौधरीले वन्यजन्तुको महत्वको बारेमा स्थानीय उपभोक्ताहरुलाई सचेतना दिने उद्देश्यले कार्यक्रम शुरु गरेको बताए । ‘यहिबेला राष्ट्रिय तथा सामुदायिक वन भित्र चोरीसिकारी समुह सक्रिय भएको कुरा आएको छ,’ उनले भने, ‘जनतामा वन्यजन्तुको महत्वबारे सचेतना फैलाउन जरुरी ठानियो ।’

समन्यव समिति स्तरीय चोरीसिकारी नियन्त्रण दलका संयोजक अन्तराम चौधरीले बसन्ता जैविक मार्गमा बन्यजन्तुको आगमनको बृद्धि संगै चोरी सिकारी समुह सक्रिय भएको बताए ।

‘चोरीसिकारीको गिरोहले स्थानिय उपभोक्ता सदस्यलाई मिलाएर वन्यजन्तुको सिकार गर्ने गरेका छन्,’ उनले भने, ‘त्यसैले पनि यस्ता सप्ताह कार्यक्रमको महत्व रहेको छ ।’ उनले कैलालीको दक्षिणी क्षेत्रको जंगलमा भारतीय चोरसिकारीको बिगबिगी रहेको बताए ।

वसन्ता संरक्षित वन कैलाली जिल्लाको ६८ हजार हेक्टरमा फैलिएको छ । वसन्ता जैविक मार्ग दक्षिणमा भारतको दुदुवा नेसनल पार्क देखी उत्तर चुरे पर्वत श्रखलासँग जोडिएको छ । दक्षिणमा मोहना र पूर्वमा कर्णाली जैविक मार्गलाई जोडेको छ । मोहना कोरिडोरले कञ्चनपुरको शुक्लाफाँटा र कर्णाली कारिडोरले बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएको छ ।

जिल्ला वन अधिकृत नवराज काफ्लेले दुदुवा, शुक्लाफाँटा र बदिया राष्ट्रिय निकुञ्जसँग जोडिएको वसन्ता, कर्णाली र मोहना जैविक मार्गमा वन्यजन्तुको आउजाउ बढेको बताए । उनले पछिल्लो समयमा दुदुवा नेशनल पार्कको रेडियो कोलार लगाएको बाग समेत छिरेको बताए । त्यस्तै अन्य ठुला जनावरहरुले पनि अहिले कैलालीका तीनवटा जैविक मार्गलाई आफ्नो बासस्थान बनाउन थालेको बताए ।

उनले जिल्ला वन कार्यालयबाट वन्यजन्तु तस्करी तथा चोरीसिकारी नियन्त्रणका लागि आफनो साधन स्रोतले भ्याएसम्म गस्ती बढाउनेदेखी सूचना राख्ने काम गरेको बताए ।


प्रकाशित : वैशाख ७, २०७५ १३:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?