कर्मचारी अभावले सेवा प्रभावित

अछाम — मंगलसैन नगरपालिकामा आउने सेवाग्राही सधैं अन्योलमा पर्ने गर्छन् । नगरपालिकाका ३, ४, ५, ६ र ७ का वडा कार्यालय, जिल्ला युवा सञ्जाल र मंगलसैन नगरपालिकाकै युवा सूचना केन्द्र एकै ठाउँमा हुँदा आफूले कहाँ गएर सेवा लिने भन्नेबारे सेवाग्राही अलमलिन्छन् ।

कर्मचारी अभावले सेवा प्रभावित

वडा ६ र ७ ले केही महिनासम्म साबिकको जनालीबण्डाली गाविसमा कार्यालय सञ्चालन गरे पनि त्यसले निरन्तरता पाउन सकेन । अहिले त्यहाँबाट सिफासिस पत्र बनाउन र अन्य सामान्य कामकाजका लागि पनि सदरमुकाम पुग्नुपर्ने बाध्यता छ । सेवाग्राहीको भीडमा पनि वडाध्यक्ष र सचिव खोज्नै समय लाग्ने गरेको मंगलसैन ७ का उमेश विक बताउँछन् । ‘यतै हो भनेपछि वडाध्यक्षको टेबुलमा कागजात राखें ।


त्यो त वडा नम्बर ५ का वडाध्यक्षको टेबुल रहेछ । साहै्र अलमलमा परें,’ उनले भने ।उमेशझैं मंगलसैन नगरपालिकाको कार्यालयमा आफूले खोजेको जनप्रतिनिधि र कर्मचारी फेला पार्न नसकेका धेरै सेवाग्राही मर्कामा परेका छन् ।

नगरपालिकाले दिएको टेबुल फोटोकपी, ल्यापटप, दराज राख्ने ठाउँ नहुँदा असहज भएको वडा ३ का अध्यक्ष पदम भाटले बताए । ‘पानी खाने जग राख्ने ठाउँ छैन । रजिस्ट्ररबाहेक केही राख्न पाएका छैनौं,’ उनले भने । साथै कर्मचारी अभावले पनि समस्या निम्त्याएको छ । अहिले २ सचिवले ७ वटा वडाको काम गर्नुपर्छ । नगरपालिकामा प्राविधिक नहुँदा कार्य सम्पादनमा पनि निकै असहज भएको नगरप्रमुख पदम बोहरा बताउँछन् ।

मंगलसैन नगरपालिका मात्र होइन । जिल्लाका अन्य ९ वटै स्थानीय तहमा कर्मचारी अभाव छ । अहिलेसम्म साँफेबगर नगरपालिकाको पक्की भवनबाहेक अरूको छैन ।

प्रकाशित : वैशाख ८, २०७५ १०:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?