चोरी सिकार नियन्त्रण अभियान

मोहन बुढाऐर

धनगढी — जिल्लाका राष्ट्रिय तथा सामुदायिक वनका मध्यवर्ती क्षेत्रमा वन्यजन्तु सप्ताहअन्तर्गत चोरी सिकारविरुद्ध अभियान सञ्चालन गरिएको छ ।स्थानीय बासिन्दाको पहलमा सुरु अभियानमा उपभोक्तामा जागरण ल्याउन विविध कार्यक्रम सञ्चालन गरिएका छन् ।

चोरी सिकार नियन्त्रण अभियान

कैलालीको वसन्ता जैविक मार्गमा पर्ने भजनी रेन्जपोस्टस्तरीय सामुदायिक वन समन्वय समितिले वैशाख १ देखि थालेको वन्यजन्तु सप्ताह शुक्रबार समापन गरिएको छ । समन्वय समितिका विजयराज श्रेष्ठका अनुसार भजनी रेन्जपोस्टअन्तर्गतका ४४ सामुदायिक वनले आ–आफ्नै ढंगले सप्ताह मनाएका छन् ।

‘समृद्धिका लागि वन्यजन्तु संरक्षण’ नारासहित मनाइएको सप्ताहमा र्‍याली, गीत प्रतियोगिता, अन्तक्र्रिया, वन क्षेत्रमा गस्ती, सिमसार क्षेत्रमा चरा अवलोकनलगायत कार्यक्रम गरिएका थिए ।वनदेवी सामुदायिक वनका अध्यक्ष सीताराम चौधरीका अनुसार वन्यजन्तुको महत्त्वबारे उपभोक्तालाई सचेतना दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । ‘अहिले राष्ट्रिय तथा सामुदायिक वनभित्र चोरी सिकार समूह सक्रिय रहेको जानकारी आएको छ,’ उनले भने, ‘सर्वसाधारणमा वन्यजन्तुको महत्त्वबारे सचेतना फैलाउन जरुरी ठानियो ।’

चोरी सिकार नियन्त्रण दलका संयोजक अन्तराम चौधरीले वसन्ता जैविकमार्गमा वन्यजन्तुको आगमनको वृद्धिसँगै चोरी सिकार समूह सक्रिय भएको बताए । ‘चोरी सिकारको गिरोहले स्थानीय उपभोक्ता सदस्यलाई मिलाएर वन्यजन्तुको सिकार गर्ने गरेका छन्,’ उनले भने, ‘त्यसैले पनि यस्ता कार्यक्रमको महत्त्व छ ।’ उनले कैलालीको दक्षिणी क्षेत्रको जंगलमा भारतीय चोरी सिकारको बिगबिगी रहेको बताए । जिल्ला वनको सशस्त्र सुरक्षा दस्ताको गस्ती प्रभावकारी बनाउन आवश्यक रहेको उनको भनाइ छ ।

वसन्ता संरक्षित वन जिल्लाको ६८ हजार हेक्टरमा फैलिएको छ । वसन्ता जैविकमार्ग दक्षिणमा भारतको दुधवा नेसनल पार्कदेखि उत्तर चुरे पर्वत शृंखलासँग जोडिएको छ । दक्षिणमा मोहना र पूर्वमा कर्णाली जैविकमार्गलाई जोडेको छ । मोहना करिडोरले कञ्चनपुरको शुक्लाफाँटा र कर्णाली करिडोर बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएको छ ।

जिल्ला वन अधिकृत नवराज काफ्लेले दुधवा, शुक्लाफाँटा र बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएको वसन्ता, कर्णाली र मोहना जैविकमार्गमा वन्यजन्तुको आउजाउ बढेको बताए । उनले पछिल्लो समयमा दुधवा नेसनल पार्कको रेडियो कलर लगाएको बाघसमेत पसेको बताए । त्यस्तै अन्य ठूला जनावरहरूले पनि अहिले कैलालीका ३ जैविकमार्गलाई आफ्नो बासस्थान बनाउन थालेको उनले बताए ।

प्रकाशित : वैशाख ८, २०७५ १०:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?