ऐतिहासिक दरबार अलपत्र

वसन्तप्रताप सिंह

बझाङ — तत्कालीन बझाङीे राजाको पुरातात्त्विक महत्त्वको भोपुर दरबार अलपत्र परेको छ । केही वर्षअघिसम्म सेनाले प्रयोग गर्दै आएको उक्त दरबार छाडेर सेनाको टुकडी नयाँ भवनमा सरेपछि दरबार अलपत्र परेको हो ।

ऐतिहासिक दरबार अलपत्र

मानिस बस्न छाडेपछि दरबार भित्र रहेका कोठा, खोपी र बैठक कक्षको सिलिङका काठ खसिसकेको छ । ग्यालरी र बरण्डामा ठूला–ठूला भ्वाङ परेका छन् । भित्ताहरू खुइँलिएर दरबारको स्वरूप नै बिग्रने अवस्थामा पुगेको छ । कुनै–कुनै झ्यालका काठ पनि कुहिन थालेका छन् । विभिन्न ठाउँमा लगाएको गारो खसेको छ ।

बझाङको ऐतिहासिक धरोहर एवं पर्यटकीय स्थलका रूपमा रहेको दरबार बेवारिसे जस्तै बनेपछि स्थानीयहरूले यसको संरक्षणप्रति चिन्ता व्यक्त गर्न थालेका छन् । ‘तत्काल जीर्णाेद्धार गर्न सकिएन भने यसको अस्तित्व नै नरहन सक्छ,’ नेपाल पर्यटन पत्रकार संघ बझाङका अध्यक्ष रमेश केसीले भने, ‘दिन प्रतिदिन दरबार जीर्ण बन्दै गएको छ । यही हालतमा रहने हो भने केही वर्षमै भत्किन पनि सक्छ ।’तत्कालीन बझाङी राजा देवीजंगबहादुर सिंहले १९९० सालमा निर्माण सुरु गरेर १९९५ सालमा बनेको यो दरबार उनका छोरा ईश्वरजंगबहादुर सिंहको नाममा रहेको थियो । ईश्वरजंगको अपुतालीपछि उनका आफन्तहरूले २०४० सालतिर सरकारलाई बिक्री गरेपछि यस दरबारमा २०४५ सालमा तत्कालीन शाही नेपाली सेनाको ब्यारेक बसेको थियो ।

२०५८ सालमा सुरक्षाको कारण देखाउँदै सेनाको ब्यारेक हेमन्तवाडा सरेपछि दरबार बेवारिसे जस्तै बनेको थियो । २०६० सालमा तत्कालीन विद्रोही माओवादीले दरबारमा आगजनीसमेत गरेको थियो । यद्यपि स्थानीयले आगो नियन्त्रण गरेका कारण एउटा कोठाबाहेक अन्यत्र दरबारमा क्षति हुन भने पाएको थिएन । आगलागीबाट क्षति भएको भागसमेत अहिले उस्तै रहेको छ । २०६३ सालमा शान्ति सम्झौता भएपछि नेपाली सेनाको एउटा टुकडी पुन: भोपुरमा बस्न थालेको हो ।

दरबार जीर्ण भइसकेका कारण त्यहाँ बस्न नमिल्ने भएपछि सेना नयाँ भवनमा बस्न थालेको हो । ‘दरबार भत्किनै लागेको छ,’ बझाङस्थित संग्राम सार्दूल गुल्मका गुल्मपति मुक्तिविक्रम शाहले भने, ‘हाम्रो नयाँ भवन निर्माण भइसकेका कारण त्यहाँ बस्नुपर्ने आवश्यकता पनि छैन ।’ १९९० सालको महाभूकम्पबाट त्रसित राजा देवीजंगले भारतको कलकत्ताबाट इन्जिनियर र मिस्त्रीहरू ल्याएर यो भवनको निर्माण गर्न लगाएको बझाङी राजाको इतिहासको लामो अध्ययन गरेका प्राध्यापक विष्णुभक्त शास्त्रीले बताए । ‘भूकम्पबाट डराएका राजाले यो भवन निकै बलियो हुनेगरी निर्माण गर्न लगाएको देखिन्छ,’ उनले भने, ‘भवनको जग मात्र एउटा बाँस डुब्ने गरी खन्न लगाएको भन्ने विभिन्न स्रोतबाट पुष्टि भएको छ ।’ भवन निर्माणको क्रममा मासको गारो लगाइएको र वास्तु दोष नलागोस् भनेर भवनको जग निर्माणमा अष्टधातुको प्रयोग गरिएको उनले बताए ।

‘राजा देवीजंग आफैं पनि इन्जिनियर र वास्तुविज्ञ थिए,’ शास्त्रीले भने, ‘यो भवनको जस्तो मोडल र निर्माण शैली अन्त कतै पनि भेटिएको छैन ।’ संरक्षण नगरिएका कारण बझाङमा रहेका थुप्रै पुरातात्त्विक महत्त्वका दरबारहरू भत्किसकेका छन् । भएका पनि जीर्ण बन्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै उनले भने, ‘यस्तो ऐतिहासिक र पुरातात्त्विक सम्पदालाई राज्यले बेवास्ता गर्न नहुने हो ।

भोलिको पुस्ताले समेत हेर्न मिल्ने गरेर यस्ता सम्पदाको संरक्षण गरिनुपर्छ ।’बाहिर जिल्लाबाट बझाङ आउनेहरूले समेत दरबारको संरक्षण नभएकोप्रति चिन्ता व्यक्त गरेका छन् । कैलालीका एकजना पर्यटनकर्मी रमणचन्द्र श्रेष्ठ भन्छन्, ‘बेलैमा यस्ता सम्पदाको संरक्षण र प्रवद्र्धन हुन सकेन भने भोलिका दिनमा पछुताउनुको विकल्प हुने छैन ।’ उनले यसको जीर्णाेद्धार हुन सके जिल्लाको पर्यटन प्रवद्र्धनमा पनि टेवा पुग्ने बताए ।

दरबारको जीर्णाेद्धार गरेर बझाङको परम्परागत जीवनशैली र संस्कृतिहरू झल्काउने खालको संग्रहालयका रूपमा विकास गरिनुपर्ने यहाँका बासिन्दाको माग छ ।

प्रकाशित : वैशाख ९, २०७५ १२:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?