‘बजेट कनिका छरे जस्तो हुने छैन’

१ अर्ब २ करोड ५ लाखको बजेट विनियोजन
डीआर पन्त

धनगढी — प्रदेश सरकारको पहिलो बजेट प्रस्तुत हुने अघिल्लो दिन अर्थमन्त्री झपट बोहराले सर्वसाधारणले सोचेभन्दा भिन्न ‘सरप्राइज बजेट’ प्रस्तुत हुने बताएका छन् ।

‘बजेट कनिका छरे जस्तो हुने छैन’

शनिबार आर्थिक मामिला मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री बोहराले पहिलोपटक आउन लागेको आंशिक बजेटले भविष्यको समृद्ध प्रदेशको आधार तयार गर्ने दाबी गरे । ‘भोलिको समृद्ध प्रदेशको आधार तयार गर्ने किसिमले बजेट निर्माण गरिएको छ,’ अर्थमन्त्री बोहराले भने, ‘आइतबार ल्याउने बजेटको सम्पूर्ण तयारी पूरा भइसकेको छ ।’ बजेट सानो आकारको भए पनि यसले असारमा आउने नयांँ आर्थिक वर्षको बजेट प्रारूपसमेत तयार गर्ने अर्थमन्त्रीले जानकारी दिए ।

प्रदेशमा पहिलोपटक प्रस्तुत हुने आंशिक बजेट कुल १ अर्ब २ करोड ५ लाख रुपैयाँको छ । बजेटले सार्वजनिक, निजी र सहकारिताको माध्यमबाट समाजवादउन्मुख आर्थिक नीतिलाई टेवा पुर्‍याउने दाबी पनि आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहराले गरेका छन् ।

यो बजेटले संघीयता कार्यान्वयनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने उनले बताए । ‘कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र वन क्षेत्रको विकासमा बजेटकेन्द्रित रहेको छ,’ अर्थमन्त्री बोहराले भने, ‘दिगो आर्थिक विकासको आधार तयार हुनेगरी बजेट तयार गरिएको छ ।’ बजेटले सुशासनलाई टेवा पुग्ने किसिमका कार्यक्रमलाई प्राथमिकतामा राखेको जानकारी दिंदै अर्थमन्त्रीले युवा र महिला विकासका कार्यक्रमलाई पनि बजेटले समेटेको जानकारी दिए ।

‘बजेट कनिका छरेजस्तो हुने छैन,’ अर्थमन्त्री बोहराले भने, ‘केही ठोस योजनाको सुरुवात हुनेगरी सरप्राइज बजेट प्रस्तुत हुनेछ ।’ सीमित स्रोत साधन र छोटो समय भएकाले सीमित योजनाहरू समेटिएको उनले बताए । समयमा शतप्रतिशत बजेट खर्च गर्नेगरी बजेट तर्जुमा गरिएको बोहराले बताए । उनले भने, ‘अहिले भएको संरचनाले बजेट खर्च गर्नेगरी तयारी गरिएको हो ।’

कार्यान्वयनको संयन्त्र नहुँदा धेरै कार्यक्रम नराखिएको र नीतिगत रूपमा दूरगामी प्रभाव पर्ने खाले योजनामा बजेट खर्च हुने पनि उनले जानकारी दिए । उनले कृषिक्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेर बजेट विनियोजन हुने उल्लेख गर्दै भने, ‘कृषिमा आत्मनिर्भर हुनेगरी कृषिक्षेत्रका कार्यक्रमहरूका लागि बजेट छुट्याइएको छ ।’

अर्थमन्त्रीले बजेट निर्माण गर्नुअघि आर्थिक मामिलाका विज्ञ र अन्य धेरै पक्षसँग बजेटका विषयमा विस्तृत छलफल गरिएको जानकारी दिए । जिल्ला समन्वय समितिका संयोजकहरू, गाउँपालिकाका अध्यक्षहरू, प्रदेशस्थित जिल्ला उद्योग वाणिज्य संघका पदाधिकारीहरू, कैलाली र कञ्चनपुरका भन्सार अधिकृत, सेती र महाकालीका कर अधिकृत, कोष तथा लेखा अधिकृतहरू, प्रदेशमा रहेका दुईवटा तथ्यांक कार्यालय बाजुरा र डडेल्धुराका तथ्यांक प्रमुख र राष्ट्र बैंकका अधिकारीसँग पनि बजेटका विषयमा विस्तृत छलफल गरेको पत्रकार सम्मेलनमा जानकारी दिए ।

अर्थमन्त्री बोहराले आइतबार प्रस्तुत हुने बजेटका विषयमा मुख्यमन्त्री त्रिलोचन भट्ट र प्रदेश प्रमुख मोहनराज मल्ललाई जानकारी गराएका छन् ।

‘बजेटका विषयमा मुख्यमन्त्री र प्रदेश प्रमुखलाई ब्रिफिङ गरेको छु,’ अर्थमन्त्री बोहराले भने, ‘बजेट प्रस्तुत भएपछि प्रदेश सरकारले गति लिनेछ ।’ बजेट तयारी गर्नुअघिदेखि नै प्रदेश सरकारले प्रस्तुत गर्ने बजेट जिल्ला समन्वय समिति र स्थानीय तहका प्रतिनिधिहरूले आफू सम्बद्ध निकायबाट खर्च गरिनुपर्ने भन्दै निरन्तर दबाब दिंदै आएका छन् ।

जिल्ला समन्वय समितिका संयोजकहरूले आफूहरू भूमिकाविहीन भएको र बजेट खर्च, अनुगमन लगायतका अधिकार दिनुपर्ने भन्दै २ पटक आर्थिक मामिला तथा योजना मन्त्रीलाई ज्ञापनपत्र बुझाइसकेका छन् । जिल्ला समन्वय समिति डोटीका संयोजक रामबहादुर ऐरले स्थानीय तहले आफूसँग भएको बजेट खर्च गर्न नसकिरहेको बताए । उनले भने, ‘स्थानीय तहभन्दा जिल्ला समन्वय समितिमार्फत बजेट खर्च हुनुपर्छ भन्ने हामीहरूको माग हो ।’स्थानीय तहका पदाधिकारीले भने जिल्ला समन्वय समितिमार्फत बजेट खर्च गरिनु स्थानीय सरकारले पाएको अधिकारमाथि हस्तक्षेप हुने भएकाले स्थानीय तहमार्फत नै बजेट खर्च गरिनुपर्ने माग गरेका छन् ।

प्रकाशित : वैशाख ९, २०७५ १२:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?