१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

ब्याडमै सुक्यो धानको बेर्ना

भवानी भट्ट

कञ्चनपुर — सिँचाइ अभावले कञ्चनपुरको भीमदत्त नगरपालिका १६ वसन्तपुरका खेमबहादुर बस्नेतले आधा बिघा जमिनमा लगाउन तयार पारेको चैते धानको बीउमा भैंसी चराए ।

ब्याडमै सुक्यो धानको बेर्ना

महाकाली सिँचाइअन्तर्गतको नहरमा पानी आउला र रोपाइँ गरुँला भन्दाभन्दै बीउ बूढो भएपछि उनले भैंसी चराएका हुन् ।

फागुन दोस्रो साता छरेको बीउ २०/२५ दिनभित्र रोपिसक्नुपर्छ । तर नहरमा पानी नआउँदा बूढो हुनुका साथै सुक्न थालेपछि चराउनुको विकल्प नरहेको उनले बताए । ‘वैशाख ५ मा पानी आउँछ, नहर सफाइको काम चलिरहेको छ भन्थे,’ उनले भने, ‘अझै नहरमा पानी आएको छैन, बीउ बिग्रँदै गयो त्यसपछि भैंसी चराए ।’वसन्तपुरकै श्याम थापाले पनि आधा बिघामा लगाउन तयार पारेको बेर्ना डेढ महिनाभन्दा बढी हुँदा पनि रोप्न सकेका छैनन् । उनी पनि बेर्ना काटेर गाई–भैंसीलाई खुवाउन थालेका छन् । ‘अब यो बीउ रोपेर काम छैन, रोप्नेबित्तिकै बाला आउँछ,’ उनले भने, उत्पादन आधा पनि हुँदैन ।’

महाकाली सिँचाइ आयोजनाको नहरमा चैते धान रोप्ने बेलादेखि नै पानी बन्द गरिएको हो । यसका कारण नहरको कमान्ड क्षेत्रका कृषकहरू मारमा परेका छन् । कतिपयले बीउमा गाई–भैंसी चराए भने कतिपय अझै पनि नहरमा पानी आउँछ कि भनेर पर्खेका छन् । तर सिँचाइको अभावका कारण बीउसमेत सुक्न थालेको उनीहरू बताउँछन् ।

‘चैते धान रोप्ने बेला जहिले पनि नहरमा पानी बन्द हुने गर्छ,’ श्यामबहादुर थापाले भने, ‘यसका कारण कृषकहरू चैते धान खेती छाड्न थालेका छन् ।’ १२ वर्षदेखि चैते धान खेती गरिरहेका उनले सुरुका वर्षको तुलनामा अहिले आधा घटाएका छन् । ‘सुरुमा १ बिघामा रोपाइँ गर्थें’ उनले भने, ‘सिँचाइ अभावले बीउ बचाउनै समस्या, रोपाइँका बेला पनि पानीको अभाव र रोपाइँ गरिसकेपछि पनि सिँचाइ अभावले सुक्ने गरेका कारण यसतर्फ चासो घट्दै गएको हो ।’विगतका वर्ष पनि सिँचाइ अभावका कारण खेतमा रोपेको चैते धान त्यत्तिकै सुकेको कृषकहरू बताउँछन् ।

बर्खे धानको तुलनामा बढी उत्पादन हुने भएकाले केही वर्षअघिसम्म जिल्लामा चैते धान खेतीतर्फ कृषकको आकर्षण निकै बढेको थियो । खासगरी सिँचाइ सुविधा भएको भीमदत्त नगरपालिकाको दक्षिणी क्षेत्रसँगै बेल्डाडी, बेलौरी शुक्लाफाँटा र कृष्णपुरलगायतका क्षेत्रका कृषकहरूले ठूलो मात्रामा चैते धान खेती गर्न थालेका थिए । तर अहिले आएर रोपाइँकै बेला नहरमा पानी बन्द हुने, समयमा मलखाद र बीउ नपाउने लगायतका समस्याका कारण यसतर्फको आकर्षण घट्दो छ ।

कृषि विकास कार्यालय कञ्चनपुरका अनुसार जिल्लामा १ सय हेक्टर बढी क्षेत्रफलमा चैते धान खेती गरिंदै आएको छ । तर यसपटक पानी अभावका कारण कृषकहरूले १० प्रतिशत पनि रोपाइँ गर्न पाएका छैनन् । ‘कृषकहरू बेर्ना सुक्न लाग्यो भनेर आइरहेका छन्,’ वरिष्ठ कृषि विकास अधिकृत सागर ढकालले भने, ‘अब धेरै ढिलो भइसक्यो ।’ उनका अनुसार चैत तेस्रो सातादेखि अन्तिमसम्म यसको रोपाइँ गरिसक्नुपर्छ । नभए असारमा रोप्ने धानका लागि ढिलो हुने र भित्र्याउँदा वर्षातका कारण समस्या हुन्छ । यसका साथै बीउ पनि बूढो भएर उत्पादन कम हुने उनले बताए ।

महाकाली सिँचाइ आयोजनाको मूल नहरमा डेढ महिनादेखि बन्द रहेको पानी शुक्रबारदेखि सुचारु भएको छ । नहर सफाइको बहानामा पानी बन्द गरिएको हो । अहिले पनि न्यून मात्रामा पानी सुचारु गरिएकाले ब्लक र टर्सरीहरूमा अझै पानी नपुगेको कृषकहरू बताउँछन् । ‘मूल नहरमा मात्रै पानी आएको सुनिएको छ,’ बस्नेतले भने, ‘तर कृषकका खेतमा कहिले पुग्ने हो थाहा छैन ।’

प्रकाशित : वैशाख ९, २०७५ १२:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?