कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

बैंकिङ कारोबार गर्न ५ दिन पैदल, उधारो र ऐचोपैंचो गर्नुपर्ने अवस्था

दीपेन्द्र शाक्य

संखुवासभा — भोटखोला गाउँपालिकाका अध्यक्ष तेम्बा भोटे बैंकिङ कारोबार गर्न ५ दिन हिँडेर सदरमुकाम खाँदबारी झरेका छन् । गाउँपालिकाले छनोट गरेको योजनाको सम्झौता र बैंक खाता खोल्न उपभोक्ता समितिसहित तेम्बा खाँदबारी आएका हुन् ।

बैंकिङ कारोबार गर्न ५ दिन पैदल, उधारो र ऐचोपैंचो गर्नुपर्ने अवस्था

नजिकमा बैंक नहुँदा भोटखोलावासी ५ दिन पैदल हिँडेर सदरमुकाम झर्छन् । यहाँका अधिकांश गाउँ र नगरपालिकामा आर्थिक कारोबार गर्न मुस्किल भएको छ । आर्थिक कारोबारका लागि सदरमुकाम खाँदबारीमै पुग्नु पर्दा कर्मचारीले असुरक्षित महसुस गर्ने गरेको उनले बताए ।


आर्थिक कारोबार गर्न गाउँपालिका केन्द्र हटिया गोलामा बैंक नहुँदा समस्या भएको उनले बताए । ‘बैंक पठाइदिनुपर्‍यो भनेर पटकपटक माग गरेका छौं,’ उनले भने, सुनुवाइ भएको छैन, कारोबार गर्न नजिक बैंक नभएकाले काम कारबाहीमा बाधा उत्पन्न भएको छ ।’


नगदै बोक्दा जोखिम हुने गरेको उल्लेख गर्दै उनले भने, ‘भोटखोलाका ५ गाउँमा सामान्य काम चलाउन पनि उधारो र ऐचोपैंचो गर्नुपर्ने अवस्था छ ।’ किमाथांकाबाट हिँडेको ५ दिनमा मात्रै सदरमुकाम खाँदबारी आइपुग्ने उनले बताए । १० स्थानीय तहमध्ये खाँदबारी, पाँचखपन नगरपालिका र मकालु गाउँपालिकाबाहेक ७ तहमा बैंक छैनन् । बैंक नहुँदा संखुवासभाका दुर्गममा रहेका गाउँपालिकाहरूले समस्या झेल्नुपरेको छ ।


सदरमुकामसँगै जोडिएको चिचिला गाउँपालिकामा पनि बैंक नहुँदा सदरमुकाम आउनुको विकल्प छैन । गाउँपालिका अध्यक्ष पासाङनुर्बु शेर्पा बैंक नजिक नभएकाले सदरमुकामसम्म आएर कारोबार गर्न सुरक्षा चुनौती रहेको बताउँछन् । चिचिलाबाट पनि खाँदबारीसम्म आएर कारोबार गर्न ३ घण्टा लाग्छ ।


तीबाहेक सिलिचोङ, सभापोखरी गाउँपालिका, मादी र धर्मदेवी नगरपालिकाबाट स–सानो आर्थिक कारोबार गर्न बैंक खोज्दै सदरमुकाम र व्यापारिक केन्द्र चैनपुरसम्म आउनुपर्ने अवस्था छ । ‘कारोबार गर्नुअघि कोष लेखा नियन्त्रणबाट स्वीकृति लिन पनि सदरमुकाममै आउनुपर्ने बाध्यता छ,’ अध्यक्ष शेर्पाले भने, ‘सामाजिक सुरक्षाभत्ता वितरण गर्दा नगर्दै घर–घरमा पुर्‍याउनुपर्ने भएकाले सबैभन्दा सुरक्षा चुनौती त्यसबेला व्यहोर्नुपर्ने अवस्था छ ।’ कर्मचारीलाई काम गर्दा सुरक्षित महसुस नहुँदा गाउँपालिकाबाट हुने नियमित विकास कार्यमा समेत कठिनाइ भएको उनले बताए ।


‘अरुणपारिको सबैभन्दा टाढा रहेको सिलिचोङ गाउँपालिका र भोटखोला गाउँपालिकालाई आर्थिक कारोबार गर्न मुख्य चुनौती देखिएको छ,’ उनले भने, ‘यी क्षेत्रमा नियमित यातायातका साधन चल्दैनन्, हिँडेरै जानुपर्छ, सडक खनिएका छैनन् ।’


सदरमुकामबाट दुर्गम भएकाले यहाँ बैंकलाई आवश्यक पर्ने सुरक्षित र पक्की घरसमेत अभाव भएको उनले सुनाए । सदरमुकाम र आसपासका क्षेत्रमा मात्रै इन्टरनेटको सुविधा भएकाले गाउँमा बैंक गइहाले पनि कारोबारमा समस्या हुने उनले बताए ।


प्रमुख जिल्ला अधिकारी शिवराज जोशीका अनुसार सबै स्थानीय तहमा बैंक पठाउने निर्णयअनुसार विभिन्न बैंकहरूलाई शाखा विस्तार गर्न सहुलियत दिएर राष्ट्र बैंकले परिपत्र गरिसकेको छ । तर, सञ्चार, भौगोलिक, सुरक्षालगायत चुनौती रहेको दाबी गर्दै अझैसम्म ती बैंकहरूले गाउँ तहमा शाखा विस्तार गरेका छैनन् । ‘बैंकलाई गाउँ जान सुरक्षाको अवस्थाले कुनै समस्या हुँदैन,’ उनले भने, ‘तोकिएका स्थानीय तहमा बैंक गएर सेवा दिनै पर्छ ।’


गाउँ तहसम्म पुग्न नसकेका अधिकांश बैंकले इन्टरनेट, सुरक्षा, यातायातको पहुँच नभएको बताएका छन् । राष्ट्र बैंकले ग्लोवल आईएमईलाई भोटखोला गाउँपालिका, प्राइमलाई सभापोखरी गाउँपालिका, एभरेस्टलाई सिलिचुङ गाउँपालिका, मादी नगरपालिकामा हिमालय, धर्मदेवी नगरपालिकामा एसबीआई बैंकलाई शाखा विस्तार गर्न अनुमति दिएको छ ।

प्रकाशित : वैशाख ९, २०७५ १८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?