नेपालीबाटै लुटिए घर फर्किने कामदार

भवानी भट्ट

कञ्चनपुर — बझाङ छान्नाका धर्मेन्द्र सिंह शनिबार गड्डाचौकी नाका हुँदै भारतबाट घर फर्किए । बाल्यकालदेखि हरियाणामा चौकिदारीको काम गरिरहेका उनी यसपाला डेढ वर्षपछि घर फर्किएका हुन् ।

नेपालीबाटै लुटिए घर फर्किने कामदार

तर घर फर्किदा सीमामा नेपालीबाटै लुटिए । सिमावर्ती बजार बनबासाबाट महेन्द्रनगर पुग्न उनले ५ सय भारु खर्च गर्नुपर्‍यो ।

बनबासाबाट महेन्द्रनगर सम्म यात्रु बोक्ने मोटरसाइकल चालकले उनीबाट ५ सय भारु लिएका हुन् । ती मोटरसाइकल चालक नेपाली नै थिए । सुरुमा उनको कुराकानी भारतियसंग भएको थियो । उनले भाडा रकम पनि तिनैलाई दिएका थिए ।

‘बसपार्कबाट केही टाढा पुगेपछि उनले आफूलाई नेपाली मोटरसाइकलमा बस्न भने, ‘त्यतिबेला उनले भाडाको कुरा भइसकेको बताए,’ शनिबार घर जाने क्रममा महेन्द्रनगर बसपार्क पुगेका सिंहले भने, ‘यहां आएर दोस्रो मोटरसाइकल चालकले पनि पैसा लिए, नेपालीकै कारण सीमामा नेपाली कामदारहरू लुटिइरहेका छन् ।’ उनले सीमामा नेपाली र भारतियको मिलेमतोमा कामदार लुटिने कुरा सुने पनि यसपटक प्रत्यक्ष भोगेको बताए ।

गत साता विशु पर्व मनाउन घर फर्किएका बैतडी दोगडाकेदार गाउँपालिकाका कृष्ण क्षेत्री पनि यसरी नै लुटिए । उनी पनि मोटरसाईकलमै बनबासाबाट महेन्द्रनगर पुगेका थिए । उनीबाट पनि मोटरसाईकल चालकले ४ सय भारु लियो । ‘नेपाली र भारतिय दुवैले मिलेर जबर्जस्ती ४ सय भाडा लिए’ उनले भने, ‘बनबासादेखि महेन्द्रनगरसम्म २ सयमा कुरा भएको थियो, दुवैले २/२ सय लिए ।’

सीमामा भारतबाट मजदुरी गरि घर फर्किने कामदार नेपालीबाट यसरी लुटिने गरेका हुन् । सामान्य किनमेल देखि यातायातका साधनमा यात्रा गर्दा कामदारहरू बढी असुरक्षित छन् । सीमावर्ती बजार बनबासादेखि महेन्द्रनगरसम्म यात्रु बोक्ने मोटरसाईकल चालकहरू यस्तो गतिविधिमा बढी संलग्न हुने गरेको पाइन्छ । यसरी यात्रु बोक्नेमा नेपाली र भारतीय दुवैतर्फका छन् । चाडपर्वका बेला नशालु पदार्थ खुवाएर बोहोस बनाई लुट्ने पनि नेपालीहरू नै हुन्छन् । खासगरी दशैं र तिहारका बेला घर फर्किनेहरूलाई बाटोमा चिया वा चिसो पेय पदार्थमा नशालु पदार्थ मिसाएर खुवाइन्छ ।

बेहोस भएपछि सबैथोक लुटेर उनीहरूलाई अलपत्र परेर छाडिन्छ । ‘बाटोमा नेपाली नमिलेर भारतीय नागरिक एक्लैले लुट्नै सक्दैन, बोली भाषाले नजिक भएर लुट्ने गरेको पाइन्छ,’ सीमा क्षेत्रका एक सुरक्षाकर्मीले भने, ‘लुटिएर यहाँं पुग्नेमध्ये अधिकांशले आफूसंगै आएका नेपालीले नै बेहोस बनाएको भन्छन् ।’

घर फर्किने कामदारलाई काम गर्ने स्थलबाटै पछ्याउने काम गरिन्छ । यसरी पछ्याउनेमा अधिकांश नेपाली हुन्छन् । जहां कामदारले आफ्नो घर भन्छ आफू पनि त्यही ठाउँको भएको भन्दै नजिक हुने गर्छन् । खाना खाने ठाउँमा आफैं पानी, चिसो पेय पदार्थ र चियालगायत ल्याएर खुवाउँछन् । बसमा यात्रा गर्दादेखि सीमा क्षेत्र नकाटिँदासम्म घर फर्किने कामदारहरू जोखिममा हुन्छन् । घर फर्किदा सीमामा सुरक्षाकर्मीको दुव्र्यवहार र चेकजाँचका नाममा हुने अवैध असुलीसंगै यस्ता गतिविधिका कारण निकै सस्ती खेप्नुपर्ने बाध्यता छ । लुटेराका कारण असुरक्षित यात्रुहरू सुरक्षाकर्मीको दुव्र्यवहारले दु:ख पाउने गर्छन् ।

प्रकाशित : वैशाख १०, २०७५ ११:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?