कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

प्रदेशमा पहिलो बजेट

१ अर्ब २ करोड ५ लाख रकमअनुसार बजेट
डीअार पन्त

धनगढी — प्रदेश ७ का अर्थमन्त्री झपट बोहराले प्रदेशसभामा पहिलो पटक शनिबार अल्पकालीन बजेट प्रस्तुत गरेका छन् । संघीय सरकारबाट प्राप्त १ अर्ब २ करोड ५ लाख रकमअनुसार बजेट प्रस्तुत गरिएको छ ।

प्रदेशमा पहिलो बजेट

बजेटको कुल विनियोजनमध्ये चालुतर्फ ३० करोड ७ लाख ७७ हजार र पुँजीगततर्फ १५ करोड ५७ लाख रकम विनियोजन गरिएको छ । यसैगरी, विविधतर्फ ५६ करोड ४० लाख २३ हजार विनियोजन गरिएको छ । प्रतिशतका आधारमा चालुतर्फ बजेटको २९.४७ प्रतिशत, पुँजीगततर्फ १५.२६ प्रतिशत र विविधतर्फ ५५.२९ प्रतिशत रकम विनियोजन गरिएको छ । बजेटमा कृषि अनुदानतर्फ ५ करोड, खाद्यान्न राहत कोषका लागि २ करोड ५० लाख र आकस्मिक कोषका लागि ५० लाख रकम प्रस्ताव गरिएको छ । प्रादेशिक निकायबाट चालुतर्फ २ करोड ४१ लाख ८७ हजार र पुंँजीगततर्फ १ करोड ५१ लाख खर्च भएको रकमसमेतलाई प्रदेश सञ्चित कोषबाट भएको खर्च मानी बजेटमा समावेश गरिएको छ ।

यस्तै, बजेटमा महिला स्वास्थ्य स्वयंसेविका, बालविकास सहजकर्ता र विद्यालय सहयोगीलाई प्रोत्साहन गर्न ३ करोड ७८ लाख ३७ हजार रकम विनियोजन गरिएको छ । सामुदायिक अस्पताललाई उपकरण तथा अन्य सहायताका लागि ४० लाख, नि:शुल्क घुम्ती शिविरका लागि ३० लाख प्राकृतिक तथा गैरप्राकृतिक विपद् आपतकालीन अवस्थामा औषधि खरिद गर्न ४० लाख रकम विनियोजन गरिएको छ ।

अल्पकालीन बजेटमा संघीयता कार्यान्वयनका लागि कानुनी संरचना निर्माण, अल्पकालीन, मध्यकालीन र दीर्घकालीन आवधिक योजना निर्माण, गरिबी न्यूनीकरण लक्षित कार्यक्रम, कृषिमा आत्मनिर्भर हुने कार्यक्रमलाई बजेटमा प्राथमिकता दिइएको छ । विकासका पूर्वाधारको प्रारूप तयार गर्ने भन्दै बजेटमा ठूलो रकम सम्भाव्यता अध्ययनका लागि राखिएको छ । ठूल्ठूला आयोजनाको सम्भाव्यता अध्ययन भन्दै बजेटमा विभिन्न विकास योजनाको अध्ययनका नाममा ४ करोडभन्दा बढी बजेट विनियोजन गरिएको छ ।

सम्भाव्यता अध्ययनमा केन्द्रित
सानो आकारको बजेटको ठूलो हिस्सा भने विभिन्न विकास आयोजनाको सम्भाव्यता अध्ययनका लागि विनियोजित गरिएको छ । लोक्ताबााट बन्ने नेपाली कागज उद्योग स्थापनादेखि चिउरी प्रशोधन र रिट्ठा प्रशोधन जस्ता उद्योगको सम्भाव्यता अध्ययनमा ठूलो रकम विनियोजन गरिएको छ । बजेटमा ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक पर्यापर्यटन विकासको अध्ययनका लागि बजेटमा १ करोड विनियोजन गरिएको छ ।

स्थानीय तहलाई जोड्ने पुल, सडक, खानेपानी, विद्युत् संरचना निर्माणको सम्भाव्यता अध्ययनका लागि बजेटमा २ करोड ३२ लाख रकम विनियोजन गरिएको छ । तुइन विस्थापित गर्न अध्ययन गर्नका लागि मात्र बजेटमा २० लाख विनियोजन गरिएको छ ।

प्रकाशित : वैशाख १०, २०७५ ११:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?