कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

माछापालनबाट करोड आम्दानी

कार्कीले ४ बिघा जमिनमा ४ ठूला र २ साना गरी ६ पोखरी निर्माण गरेका छन् 
भवानी भट्ट

कञ्चनपुर — कञ्चनपुरको भीमदत्त नगरपालिका १६ वसन्तपुरका ६० वर्षीय लोकबहादुर कार्कीले जीवनभरि परम्परागत धान–गहुँको खेती गरे । तर सामान्य घरखर्च चलाउन जहिल्यै गाह्रो भयो ।

माछापालनबाट करोड आम्दानी

फेरि कृषि मजदुर पाउन पनि निकै समस्या । बर्सेनि हुने उत्पादन ह्रास, बढ्दो लगानी आदिका कारण परम्परागत खेतीपातीको काम छाडेर ५ वर्षदेखि आधुनिक तरिकाले माछापालन सुरु गरे । त्यही माछापालनका कारण आज उनी जिल्लाकै नमुना कृषक बनेका छन् ।

माछापालनबाटै उनले पक्की घर बनाए । गाउँमै ३० लाख पर्ने जमिन र महेन्द्रनगर बजारमा ३२ लाख मूल्यमा घरेडी किनेका छन् । माछापालनबाटै उनले कृषि कार्यमा प्रयोग हुने ट्याक्टर पनि खरिद गरेका छन् । ‘माछापालन सुरु गरेपछि १ करोड बढीको सम्पत्ति जोडिएको छ,’ कार्कीले भने, ‘बुढेसकालमा यस्मै रमाएको छु, घर परिवारले पनि सघाएका छन् ।’

कार्कीले ४ बिघा जमिनमा ४ ठूला र २ साना गरी ६ पोखरी निर्माण गरेका छन् । ती पोखरीमा १ लाख माछा हालिएको बताए । भुरा पनि आफैं उत्पादन गर्छन् । अहिले साढे ४ लाख भुरा उत्पादन भएका छन् । यस पटक थप १ पोखरी थप्ने योजनामा रहेको कार्की बताउँछन् ।

२०२८ मा गुल्मीबाट आमाबुवासँगै बसाइँ सरी यहाँ पुगेका कार्की जीवनभरि परम्परागत खेतीपाती गरेर खासै प्रगति नभएपछि माछापालनमा लागेका हुन् । एक पटक धानमा रोग लागेर एक बिघामा ३ बोरी मात्रै फलेपछि उनले नयांँ काम गर्ने सोच बनाएका हुन् । ‘वर्षभरि मिहिनेत गरेर धान गहुँबाट डेढ/दुई लाख आम्दानी हुन्थ्यो, तर त्योभन्दा बढी खर्च आउँथ्यो,’ उनले भने, ‘छोराछोरीको पढाइदेखि घर परिवारको खर्च चलाउनै गाह्रो ।’ कार्कीले २०६९ देखि माछापालन सुरु गरेका हुन् । अहिले वर्षमा २०/२५ लाखभन्दा बढी आम्दानी हुने गरेको छ । उनले भैरहवा, कपिलवस्तुलगायतका ठाउँसँगै भारतको कलकत्ता, पन्तनगरबाट समेत नयांँ जातका भुरा ल्याउने गर्छन् ।

यस पटक पनि उनी पन्तनगरमा हालै नयांँ उत्पादन भएको जात जयन्त रहु ल्याउने सोचमा छन् । तर, यसमा क्वारेन्टाइनलगायत विभिन्न प्रक्रयाका कारण समस्या रहेको उनी बताउँछन् । अहिले उनको पोखरीमा भुरादेखि ठूलो माछासम्म सबै पाइन्छ । पंगासिस, नैनी, रहु, ग्रास, कमन कार्पलगायतका प्रजातिका माछाहरू उनले पालन गर्दै आएका छन् । यहांँ उत्पादन भएको माछा स्थानीय बजारमै खपत हुने गर्छ । आधाभन्दा बढी त घरबाटै बिक्री हुने उनले बताए ।

‘बजारको कुनै समस्या छैन, व्यापारीदेखि उपभोक्ता सबैले घरमै आएर लैजान्छन्,’ उनले भने, ‘एक वर्षमा १ करोडभन्दा बढीको माछा उत्पादन हुन्छ ।’ उनका अनुसार भुरा, चारा आदि खर्च कटाएर वर्षमा २५ लाख जति बचत हुन्छ । फागुन चैतमा पोखरीमा छाडिएको माछाको भुरा मंसिरदेखि खानलायक हुन्छ । एक माछाको तौल १ केजीभन्दा बढी हुन्छ । अहिले प्रतिकिलो अढाई सयदेखि साढे तीन सयसम्ममा बिक्री हुने गरेको छ । सिजनका बेला दैनिक ३ क्विन्टल माछा बिक्री हुने गरेको उनले बताए ।

बिमा रकम पाउन समस्या
दुई वर्षअघि अक्सिजन अभावले कार्कीको पोखरीमा ठूलो मात्रामा माछा मरे । उनले बिमा पनि गरेका थिए । तर, बिमा रकम पाउन भने निकै मिहिनेत गर्नुपर्‍यो । धनगढीदेखि काठमाडौं आउजाउ गर्नमै बिमाबाट पाइनेभन्दा बढी खर्च भएको उनको गुनासो छ । ‘नोक्सान भएअनुसार कम्तीमा ६/७ लाख पाउनुपथ्र्याे तर नोक्सान भएको ८ महिनापछि ७० हजार मात्रै पाइयो,’ कार्कीले भने, ‘त्यो पनि ३/४ पटक धनगढी र काठमाडौं पुगेर ।’ उनले बिमा गर्दा घरमै आएर पैसा पाइने आश्वासन दिने भएपछि कृषकहरूले निकै सास्ती खेप्नुपरेको बताए ।

प्रकाशित : वैशाख ११, २०७५ १०:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?