औद्योगिक क्षेत्र स्थापनार्थ ज्ञापन

डीआर पन्त

धनगढी — २२ वर्षदेखि चर्चामा रहेको कञ्चनपुरको दैजी छेलामा स्थापना हुने भनिएको औद्योगिक क्षेत्रका विषयमा बेतकोट उद्योग वाणिज्य संघ र बेतकोट नगरपालिकाले मुख्यमन्त्रीलाई सोमबार ज्ञापनपत्र बुझाएका छन् ।

औद्योगिक क्षेत्र स्थापनार्थ ज्ञापन

औद्योगिक क्षेत्र स्थापनाका लागि कञ्चनपुर जिल्लाको बेतकोट नगरपालिका २ र ३ मा आवश्यक पर्ने जग्गाको भोगाधिकार औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले पाउन नसक्दा औद्योगिक क्षेत्र स्थापना हुन सकेको छैन । सरकारले स्वीकृति दिइसके पनि वन मन्त्रालयले भोगाधिकार दिन नमान्दा अन्य सबै प्रक्रिया पूरा भइसक्दा पनि उद्योग क्षेत्र स्थापनामा समस्या भएको बेतकोट नगरपालिका प्रमुख अशोक चन्दले वताए ।

चन्दले भने, ‘वन मन्त्रालयका अधिकारीहरूले भोगाधिकारका दिन मानिरहेका छैनन्, सरकारले ०७२ सालमा नै औद्योगिक क्षेत्र स्थापनाको स्वीकृति दिएको हो,’ नगरप्रमुख चन्दले भने, ‘औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले आवश्यक प्रक्रिया पूरा गरी जग्गाको नक्सांकनसमेत गरिसकेको छ ।’

उद्योग क्षेत्रका लागि आवश्यक ९ सय बिघा जग्गामध्ये ३ सय बिघाको नापनक्सासमेत भइसकेको छ । लिमिटेडले सम्भाव्यता अध्ययन र डीपीआरसमेत तयार गरिसक्दा पनि जग्गाको भोगाधिकार नपाउंँदा अन्य सबै काम रोकिएको बेतकोट उद्योग वाणिज्य संघका अध्यक्ष शंकर चन्दले बताए । ०५२ सालमा २२ वर्षअघि सुरु गरिएको प्रयास वन मन्त्रालयका अधिकारीहरू बाधक हुँदा काम सुरु गर्न नसकिएको पनि उनले वताए ।

‘कानुनी प्रक्रिया सबै पूरा भइसकेका छन्,’ अध्यक्ष चन्दले भने, ‘व्यवस्थापन लिमिटेडले भोगाधिकार पाउनेबित्तिकै औद्योगिक क्षेत्र स्थापनाको काम अगाडि बढ्नेछ ।’ औद्योगिक क्षेत्र स्थापनाका लागि उक्त क्षेत्रमा रहेका जनचेतना सामुदायिक वन र बेतकोट सामुदायिक वनले ०७१ सालमा नै निर्णय गरिसकेका छन् ।

कञ्चनपुर उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष माधव जोशीले ज्ञापनपत्र बुझाएपछि मुख्यन्त्री त्रिलोचन भट्टले यस विषयमा प्रदेश सरकार गम्भीर भएको बताए ।

प्रकाशित : वैशाख ११, २०७५ १०:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?