कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

प्रदेश बजेट: ‘निम्न वर्गलाई उपेक्षा’

डीआर पन्त

धनगढी — पहिलो पटक प्रदेशसभामा प्रस्तुत आर्थिक वर्षको आंशिक बजेटले अल्पसंख्यक र निम्न वर्गलाई उपेक्षा गरिएको भन्दै छलफलमा सहभागी सत्ता र प्रतिपक्षका सांसदले आलोचना गरेका छन् ।

प्रदेश बजेट: ‘निम्न वर्गलाई उपेक्षा’

बजेट माथिको छलफल मंगलबार सकिएको छ । बजेटले थारू, जनजाति, अल्पसंख्यक, लोपोन्मुख जाति र दलितका लागि कुनै ठोस कार्यक्रम ल्याउन नसकेको भन्दै उनीहरूले आलोचना गरेका हुन् ।

सत्ता पक्षीय सांसद चुनकुमारी चौधरीले प्रदेशमा ठूलो जनसंख्या रहेको थारू समुदायका क्षेत्रमा बजेटले कुनै पनि कार्यक्रम ल्याउन नसकेको आरोप लगाइन् । ‘थारू समुदायको आर्थिक विकास र सामाजिक सांस्कृतिक विकासका क्षेत्रमा बजेटले कुनै कार्यक्रम ल्याउन सकेको छैन’ उनले भनिन् । नारा र भाषणमा मात्र थारू समुदायको विकासका कुरा हुने तर व्यवहारमा लागू नहुने स्थिति बजेटमा पनि देखिएको चौधरीले बताइन् । बजेटले थारू बाहुल्य क्षेत्रमा विशेष प्याकेज ल्याउन उनको आग्रह छ । एमाले सांसद दुर्गा कुमारी कामीले पनि उपेक्षित र हालसम्म विभेदमा पारिएको दलित वर्गको शिक्षा र स्वास्थ्यका क्षेत्रमा बजेटले कार्यक्रम ल्याउन नसकेको बताइन । ‘दुर्गमका महिलाको पाठेघर खस्ने विकराल समस्या छ’ उनले भनिन्, ‘बर्थिङ सेन्टरलाई सुविधा सम्पन्न वनाउने, महिला उद्यमीलाई विशेष प्राथमिकतामा राख्नुपर्ने जस्ता महत्त्वपूर्ण कार्यक्रम समावेश गरिनुपर्छ ।’

सत्ता पक्षकै सांसद लालबहादुर खड्काले पनि प्रदेशमा लामो समय देखि समस्याका रूपमा रहेको आरक्ष विस्थापित समस्या समाधानका विषयमा बजेटमा ठोस व्यवस्था गरिनुपर्ने वताए । एमालेका सांसद खडाले बजेट गम्भीर गहिरिएर जान नसकेको समेत वताए । उनले भने, ‘औद्योगिक क्षेत्रका विषयमा पनि बजेटले अपनत्व लिन नसकेको बताए ।’ उनले २२ वर्षदेखि औद्योगिक क्षेत्र स्थापनाका लागि भइरहेको प्रयासलाइ बजेटमा समावेश गरी अपनत्व लिन सकेको भए प्रभावकारी हुन सक्ने विचार व्यक्त गरे । राजपा सांसद मालामति रानाले छलफलमा भाग लिंदै बजेट नारामा मात्र सीमित भएको आरोप लगाइन् । सामाजिक द्वन्द्वको समस्यामा रहेको कैलाली कञ्चनपुरमा द्वन्द्व समाधान र सामाजिक सद्भाव कायम गर्नेखाले कुनै पनि कार्यक्रम बजेटले समेट्न नसकेको पनि रानाले बताइन् । रानाले भनिन, ‘बजेट चुनाव खर्च उठाउनमा मात्र केन्द्रित देखिएको छ ।’ हरेक कार्यक्रमलाई घुमाउरो पाराले कार्यकर्तामुखी बनाइएकोमा उनले आपत्ति प्रकट गरिन् । रानाले थारू समुदायको अवमूल्यन हुने गरी कुनै पनि कार्यक्रम नराखिएकोले थारू समुदाय आक्रोसित भएको बताइन् ।

छलफलमा कांग्रेस सांसद गोविन्द बोहराले बजेट बजेट जस्तो नभएर खर्च विवरण जस्तो भएको आरोप लगाए । प्रस्तुत बजेटले प्रदेशलाई नयांँ दिशा दिने आशा गरिएकोमा बजेटले सामान्य अनुभूतिसम्म नगराएको बोहरा बताए । उनले भने, ‘पश्चिम सेती जस्ता समृद्धि र रोजगार सिर्जना गर्ने कुनै पनि गौरवका योजनाका विषयमा बजेटमा एक शब्द उल्लेख समेत नहुनु दूर्भाग्यपूर्ण हो ।’ बोहराले राष्ट्रिय गौरवका योजनालाई समेत उपेक्षा गरेको आरोप लगाए । कार्यकर्ता पाल्ने र बजेटका सामान्य सिद्धान्तसमेत पालना नगरिएको उनले बताए ।

यस अघि बजेट माथि पहिलो दिन भागलिने प्रतिपक्षका सांसदहरूले बजेट अनुत्पादक भएको भन्दै आलोचना गरेका छन् । कांग्रेसका सांसद रणबहादुर रावलले चालु र अर्थ विविध गरी ८५ प्रतिशतभन्दा बढी रकम विनियोजन गरिनु राम्रो नभएको बताए । उनले भने, ‘यो कार्यकर्ताहरूलाई चुनाव खर्च उठाउ भन्ने खोजेको हो ।’ कांग्रेसका सांसद श्यामलाल रानाले, ‘यो बजेटले जनता प्रत्यक्ष लाभान्वित हुने कार्यक्रम नसमटेको बताए । बजेटले जनतालाई निरास बनाएको छ सांसद रानाले भने, ‘बजेटको ठूलो हिस्सा सत्ता पक्षले कार्यकर्तालाई बाँड्नका लागि ल्याएको स्पष्ट देखिएको छ ।’

यसैगरी बजेटमा माथिको छलफलमा भागलिंदै एमाले सांसद हर्कबहादुर कुंँवर, शान्ति नेपाली, रतनबहादुर थापा लगायतले बजेट सम्भाव्यता अध्ययनमा केन्द्रित भए जस्तो देखिएको आरोप लगाए । बजेटमा छुटेका धेरै विषय समेट्नु आवश्यक रहेको सांसदहरूले सुझाव दिएका छन् । गत आइतबार प्रदेशसभामा अर्थमन्त्री झपट बोहराले १ अर्व २ करोड ५ लाखको अल्पकालीन बजेट प्रस्तुत गरेका थिए ।

प्रतिपक्षद्वारा दुई संशोधन दर्ता
अर्थमन्त्री झपट बोहराले आइतबार प्रदेशसभामा प्रस्तुत गरेको बजेट माथि भएको छलफलपछि विपक्षी दलहरूले दुईवटा संशोधन प्रस्ताव दर्ता गरेका छन । ‘बजेटमा दुईवटा संशोधन प्रस्ताव दर्ता गरेका छौं,’ कांग्रेस सांसद कर्णबहादुर मल्लले भने, ‘१२ जना कांग्रेस सांसद र २ जना राष्ट्रिय जनता पार्टी राजपका गरी १४ जनाले संशोधन प्रस्ताव दर्ता गरेका हौं ।’ बजेटमा प्रस्तुत अनुसन्धान तथा परामर्श शीर्षकमा राखिएको ७ करोड २० लाख र भ्रमण अनुगमन भत्ता शीर्षकमा २ करोड २० लाख विनियोजन भएको रकमका सम्बन्धमा संशोधन प्रस्ताव प्रतिपक्षी सांसदहरूले राखेको सांसद मल्लले जानकारी दिए ।

प्रकाशित : वैशाख १३, २०७५ ११:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?