कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

विकास निर्माणमा महिला अग्रसर

अछाम — ग्रामीण क्षेत्रका महिला विकास निर्माणका काममा अग्रसर हुन थालेका छन् । अछामको कुल जनसंख्यामा महिलाको संख्या करिब १७ हजार बढी छ । पुरुषहरू कामको सिलसिलामा भारतलगायत अन्य मुलुकमा जान थालेपछि यहाँका महिलाहरू विकास निर्माणका गतिविधिमा सक्रिय हुन थालेका हुन् ।

विकास निर्माणमा महिला अग्रसर

आव ०७४/०७५ मा अछामका १० स्थानीय तहमा आएका योजनाका धेरैजसो उपभोक्ता समितिको नेतृत्वमा महिलाहरू नै छन् । साँफेबगर नगरपालिका–११ देवीस्थानका महिलाको पहलमा सिंँचाइ पोखरी निर्माण भएको छ । श्रीमान् कामको खोजीमा भारत जाने र गाउँघरमा सबै काम महिलाहरूले नै गर्नुपर्ने भएकाले विकास पूर्वाधार निर्माणका काममा महिलाहरू सक्रिय हुने गरेका हुन् । बालीनालीका लागि गाउँमा सिँचाइ पोखरी निर्माण गरिएको हो ।

सामुदायिक विकास कार्यक्रमको १८ लाख १२ हजार, स्थानीय महिलाको श्रमदान २ लाख ६ हजारमा १५ हेक्टर क्षेत्रफलमा पोखरी निर्माण भएको सामुदायिक विकास कार्यक्रमका सुशासन र जीविकोपार्जन अधिकृत महेन्द्र चन्दले बताए । सिम्काथली गाउँका ३५ महिलाको श्रमदानमा सिँचाइ पोखरी निर्माण भएको वडा नम्बर ११ की वडा सदस्य लक्ष्मी विकले बताइन् । ‘महिलालाई आर्थिक, सामाजिक क्षेत्रमा अगाडि बढाउनका लागि विकास निर्माणका कार्यमा अग्रसर गराउन लागेका छौं,’ वडा सदस्य विकले भनिन्, ‘पुरुषहरू भारतमा काम गर्न जान्छन्, गाउँमा दु:ख महिलालाई हुन्छ ।’

साबिकको देवीस्थान गाविसमा पर्ने सिम्काथली गाउँ अझै पनि दुर्गम छ । सिँचाइ अभावमा स्थानीय उत्पादन न्यून हुन्छ । पोखरीको पानीले सिँचाइ गरेर मौसमी बेमौसमी तरकारी खेती गरिरहेको स्थानीय गायत्री धामीले बताइन् । ‘अग्लो ठाउँमा भएको जग्गामा खेतीपातीको सिजनमा पनि जग्गा बाँझो राख्नुपर्ने बाध्यता थियो । तर, अहिले पूरै जग्गामा खेतीपाती गरेका छौं,’ उनले भनिन्, ‘१३ वर्षसम्म बाँझो रहेको जग्गामा अधिकांशले तरकारी खेती सुरु गरेका छन् ।’

सदरमुकाम मंगलसैन, साँफेबगर, कमलबजार, विनायक क्षेत्रका महिलाहरू मात्र अगुवा महिलाका रूपमा चिनिने र ग्रामीण क्षेत्रका महिलाहरूको पहुँच कुनै ठाउँमा पुग्न नसकेको अवस्थामा विकास निर्माणमा जुट्न आवश्यकता महसुस भएरै पोखरी निर्माणमा सक्रिय भएको सिम्काथलीकी देवी धामीले बताइन् ।‘घरभित्रको काम महिलाको, घर बाहिरको काम पुरुषको भन्ने सोचाइ अन्त्य गर्न पनि हामी आफैं लागेका हौं,’ देवीले भनिन्, ‘यही कामका लागि पुरुषलाई कुरेर बस्ने हो भने कहिल्यै बन्ने थिएन । पुरुषहरू घरमा भेटाउन मुस्किल छ ।’ घर बाहिरको काममा महिलाहरू एकजुट भएर गर्दा कामको मूल्यांकन पनि हुने र गाउँका मान्छेको पनि सहयोग पाइने गरेको उनले बताइन् ।

प्रकाशित : वैशाख १३, २०७५ १०:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?