कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

सुक्न थाले पानीका मूलहरू

मोहन शाही

डोटी — दिपायल कुमालीकोटका ८२ वर्षीय बहादुरसिंह कठायतले बाल्यकालमा सल्लेरी वनको डाँडामा पानीको ठूलो ताल देखेका थिए । भम्क नामले चिनिने उक्त तालबाट कुमालीकोटका खेतहरू सिँचाइ हुन्थे । बहादुरसिंह अहिले पनि भम्क तालबाट सिँचाइ गर्दाको सम्झना तन्नेरी पुस्तालाई सुनाउन रमाइलो मान्छन् ।

सुक्न थाले पानीका मूलहरू

‘भम्क तालनजिकै ठूलो सल्लाको रुख थियो, सिँचाइ गर्न पालो पाउने परिवारले कुलो गाड्ने मिजुरो (बारी खन्ने घरेलु औजार) त्यो रुखमा खोपेर झुन्डाउँथ्यौं’ विगत सम्भँmदै वृद्ध बहादुरसिंहले भने, ‘रुखमा मिजुरो हेरेर कसको खेतमा सिँचाइ भइरहेको छ भन्ने थाहा हुन्थ्यो, मिजुरो रुखबाट झिकेपछि अर्काको पालो आउने नियम थियो ।’

भम्क ताल सुकेको ६ दशक बितिसकेको छ । कुमालीकोटमा ठाउँ–ठाउँमा फुट्ने पानीका मुहानहरू बिस्तारै सुक्दै गएका छन् । खडेरी, जथाभावी वन विनाश तथा विकासका नाममा मनोमानी पहाड खन्ने कामले पानीका मूलहरू सुक्दै गएको बहादुरसिंह बताउँछन् । पाँच वर्ष अघिसम्म दिपायलका धाराहरूमा पिउने पानी नआउँदा पिपल्ला बेडेखोलामा आउने पानीको मूलले स्थानीयको प्यास मेटाउँथ्यो । नुहाइधुवाइ गर्न, पिउने पानीका रूपमा प्रयोग गर्न, लुगाकपडा सरसफाइ गर्न बेडेखोलामा स्थानीयको धुइरो लाग्थ्यो । तर अहिले मूल पूरै सुकेको छ ।

खोलाको माथिल्लो भागबाट पहाड खनेर बेडेखोला माटोले पुरिदिएपछि पानीको स्रोत सुकेको हो । ‘अहिले पनि दिपायलमा पानीको अभाव छ, धारामा ३/४ दिनमा मात्रै पानी आउँछ,’ होटल व्यवसायी तेज डुम्रेलले भने, ‘बेडेखोला सुकेपछि सेती नदीको फोहोर पिउने पानी ल्याउनुपर्ने बाध्यता छ ।’ पछिल्लो समय विभिन्न कारणले सुदूरपहाडमा पानीका मुहानहरू सुक्न थालेका छन् । जिल्ला विकास समिति डोटीले ०७२ मा प्रकाशन गरेको जिल्ला प्रोफाइलअनुसार डोटीमा ३६.४५ प्रतिशत जनसंख्या स्वच्छ खानेपानीबाट वञ्चित हुनुपरेको छ । वातावरणीय असरले बर्सेनि पानीको स्रोत घट्दै गएको जिल्ला वन अधिकृत बद्रीकुमार कार्कीले बताए । छतिवन ताल, खप्तडमा रहेको छेडेदहमा पानी सतह घटिसकेको छ । आदर्श गाउँपालिकामा रहेको मौवातह, तेलेलेकमा रहेका लामीताल, खकरेताल, बाटुलीताल, चुरमुनी ताल लगायत पनि सुकिसकेका छन् ।

डोटीमा पानीको मुख्य स्रोत भनेका खप्तड राष्ट्रिय निकुञ्ज र तेलेलेक क्षेत्र हुन् । यी दुवै क्षेत्रमा भइरहेको अवैध कार्यले वातावरण प्रतिकूल भई पानीको स्रोत घट्दै गएको दाबी कार्कीको छ । ‘त्यही भएकाले तेलेलेकलाई संरक्षित क्षेत्र घोषणा गर्ने तयारी छ । स्थानीयले नकारात्मक असरहरू देखिन थालेको भन्दै गुनासो गरिरहेका छन्,’ वन अधिकृत कार्कीले भने, ‘वन–जंगलको संरक्षणमा नजुट्ने हो भने विकराल समस्या आउन सक्छ ।’ जिल्ला कृषि विकास कार्यालयका अनुसार डोटीमा रहेको खेतीयोग्य २० हजार १५६ हेक्टर जमिनमध्ये १६ हजार ३१ हेक्टर जमिन अझै सिँचाइबाट वञ्चित रहेको छ । सहरबजार क्षेत्रमा पानीको अभाव झन् चर्को छ । पहाडी जिल्लाहरू डोटी, डडेलधुरा, अछाम, बैतडीका सदरमुकामहरूमा पानीको हाहाकार बढ्दै गएको छ । पानीको स्रोत घट्न नदिन डोटीका ३५ वडाहरूमा जलाधार संरक्षण कार्यक्रम लागू छ । भूसंरक्षण कार्यालयमार्फत भइरहेको यो कार्यक्रमले हरेक वडामा तीन वर्षका लागि डेढ करोड खर्च गरिँदै छ ।

अघिल्लो वर्ष कार्यक्रमअन्तर्गत खानेपानीको इन्टेक बनाउनका लागि कार्यक्रमले प्रारम्भिक डिस्चार्ज डाटा निकालेर योजनाको प्राविधिक लागत तयार पारेको थियो । तर गत वर्ष योजना निर्माणका लागि जाँदा पानीको मुहानै सुकेको थियो । ‘यसले पानीका मुहान बर्सेनि सुक्न लागेको संकेत दिन्छ,’ भूसंरक्षण कार्यालय प्रमुख दामोदर ऐरले भने, ‘त्यही भएकाले जलाधार संरक्षण कार्यक्रमको आवश्यकता महसुस गरिएको हो ।’

पानीका मुहान सुक्न नदिन पानी भएको स्रोत वरपर वृक्षरोपण, पहिरो नियन्त्रण, पोखरी तथा खानेपानी इन्टेक निर्माण गर्नुका साथै जनचेतनाका अभियानहरू जलाधार कार्यक्रमले सञ्चालन गरिरहेको छ । डोटीका अन्य ६ वडाहरूमा पनि कार्यक्रम विस्तार हुन लागेको उनले जानकारी दिए । ५ वर्षको अवधिमा पानीको स्रोतको तुलनात्मक अवस्था तथा अवलम्बन गर्नुपर्ने दीर्घकालीन योजनाहरूबारे तथ्यगत आधारहरू कार्यक्रमले दिनेछ ।

प्रकाशित : वैशाख १३, २०७५ १०:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?