‘तीव्र गतिमा काम गर्न सकिएन’

धनगढी — मुख्यमन्त्री त्रिलोचन भट्टले सरकार गठन भएयता मन्त्रिपरिषद्ले सम्पन्न गरेका मुख्य कामहरू सार्वजनिक गर्दै तीव्र गतिमा अघि बढ्ने चाहना पूरा नभएको बताएका छन् ।

‘तीव्र गतिमा काम गर्न सकिएन’

सरकार गठन भएयता दुई महिनाको अवधिमा ७ पटक मन्त्रिपरिषद् बैठक बसेर २८ वटा निर्णय गरिएको मुख्यमन्त्री भट्टले जानकारी दिए । तीमध्ये २० वटा कानुन निर्माणसम्बन्धी निर्णय गरिएका हुन् । एउटा विधेयक पास गरिएको, नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरिएको लगायतका कामलाई उनले मुख्य उपलब्धिका रूपमा अथ्र्याए । ‘शून्यताबाट सुरु गर्नुपर्ने भएकाले धेरै कुरा मिलाउन समस्या भएकै हो,’ मुख्यमन्त्री भट्टले भने, ‘सरकार बल्लबल्ल खुट्टा टेक्न खोज्दै छ ।’

मुख्यमन्त्रीले पदभार ग्रहण गरेपछि पहिलोपटक मंगलबार आफ्नै कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत सरकारले हालसम्म गरेका गतिविधि सार्वजनिक गरेका हुन् । त्यस क्रममा उनले सरकारले आगामी दिनमा गर्नुपर्ने कामबारे सुझावसमेत मागेका हुन् । संवाददाताहरूले सरकारको गति सुस्त भएको औंल्याएका थिए । कर्मचारी दरबन्दीअनुसार पदपूर्ति नभएको, भौतिक पूर्वाधारको अभाव लगायतकै उल्झनमा सरकार अलमलिएको मुख्यमन्त्रीले बताए । ‘सबै काम नयाँ निर्माण गर्नुपर्ने थियो,’ उनले भने, ‘कानुन निर्माणको क्रमसँगै सरकारले कामलाई दु्रतगतिमा अघि बढाउनेछ ।’

पहाडका गाउँहरू रित्तै हुने गरी सर्वसाधारण भारतमा पस्नुपर्ने बाध्यतालाई अन्त्य गर्नुपर्नेमा पत्रकारले जोड दिए । यस्तै, सडक निर्माणका नाममा पहाडका डाँडाकाँडा डोजरले भत्काएर वातावरणमा पार्ने असरहरूबारे समेत उनीहरूले मुख्यमन्त्रीको ध्यानाकर्षण गराएका थिए । सहभागीहरूले तराईको उब्जाउ जमिन मासिँदै गएकोमा समेत सरकार सचेत भएर दीर्घकालीन योजनामा अघि बढ्न सुझाव दिएका थिए ।

प्रकाशित : वैशाख १३, २०७५ १०:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?