कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

महाकाली पुलले गति लिँदै

पुल निर्माणलाई सुक्खा बन्दरगाहको पूर्वाधारका रूपमा लिइएको छ
भवानी भट्ट

कञ्चनपुर — महाकाली नदीको पक्की पुल निर्माणकार्यले गति लिन थालेको छ । यो पुल गत भदौमा शिलान्यास गरिएको थियो । शिलान्यास भएदेखि नै निर्माण सामग्री र उपकरण जुटाउने काम भए पनि फिल्ड स्तरमा निर्माण कार्य भने हालै सुरु गरिएको हो ।

महाकाली पुलले गति लिँदै

अहिले पुलका पिलरहरूको फाउन्डेसन निर्माण कार्य भइरहेको छ । जसका लागि मेसिनद्वारा पाइलिंग गर्ने कार्य भइरहेको हो । उक्त कार्य दुई महिनादेखि चलिरहेको निर्माण कम्पनी कुमार सीएफईसी जेभी महेन्द्रनगरका प्रबन्ध निर्देशक पीके श्रेष्ठले बताए । उनले वर्षात्अगावै एक चौथाइ पाइल फाउन्डेसनको काम सक्ने लक्ष्य राखिएको बताए । ‘पाइल फाउन्डेसनका लागि एउटै मेसिन भएका कारण केही ढिलो भइरहेको छ,’ श्रेष्ठले भने, ‘वर्षात्पछि अर्काे मेसिन पनि थपेर तीव्र रूपमा काम अघि बढाइनेछ ।’ २० मिटर गहिराइमा फाउन्डेसन निर्माणको काम चलिरहेको छ ।

उनले महाकालीसँगै भुजेला खोलामा समेत पुलका लागि फाउन्डेसन निर्माणको काम सँगसँगै चलिरहेको बताए । महाकालीमा ४ सय ८ र भुजेला खोलामा ६० वटा पाइल फाउन्डेसन बनाउनुपर्ने उनले जानकारी दिए ।

यतिबेला महाकाली नदी किनारमा निर्माण सामग्री जम्मा गर्ने र पिलरका लागि फलामे छडको जाली बनाउने काम भइरहेको छ । नदीको बीच भागमा पाइलिङको काम पनि धमाधम चलिरहेको छ । ‘हामीहरू रातिको समयमा पनि काम गरिरहेका छौं,’ श्रेष्ठले भने, ‘केही समय पाइलिङका लागि मेसिन आउन ढिला भएका कारण काम गर्न समस्या भएको हो ।’ पुलका १६ वटा खण्ड हुनेछन् । १७ वटा पिलरहरू पाइल फाउन्डेसनबाट २८ मिटर गहिराइमा गाडेर पुल निर्माण गरिनेछ । ८ सय मिटर लम्बाइ र २४ मिटर चौडाइ रहने पुल निर्माण आयोजनाले जनाएको छ ।

कञ्चनपुरको भीमदत्त नगरपालिका १२ ओदाली र महाकाली (दोधारा चाँदनी) नगरपालिका १ चाँदनी जोड्ने गरी निर्माण हुन लागेको ४ लेनको पक्की पुलको गत भदौमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले शिलान्यास गरेका थिए । ३ वर्षभित्र निर्माण कार्य सक्नेगरी ३ अर्ब २७ करोडमा निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएको हो । महाकाली र भुजेला खोलासँगै महाकाली सिँचाइ आयोजनाको नहरमा समेत पुल निर्माणको काम चलिरहेको महाकाली पुल आयोजनाका प्रमुख इन्जिनियर प्रदीप भण्डारीले बताए । उनका अनुसार पूर्व–पश्चिम राजमार्गसँग जोड्ने गरी निर्माण हुने सडकमा पर्ने खोला र नहरमा पुल निर्माण गरिन लागेको हो ।

यसैगरी महाकाली नदीमा बन्ने पक्की पुलको दुवैतर्फ निर्माण हुने साढे ७ किमि ४ लेनको सडकका लागि जग्गा अधिग्रहणको काम पनि अघि बढाइएको इन्जिनियर भण्डारीले बताए । जग्गा अधिग्रहणका लागि सूचना प्रकाशित गरी मुआब्जा वितरण गर्न दर निर्धारणको तयारी भइरहेको उनले जानकारी दिए । ‘यो आर्थिक वर्षभित्र जग्गा अधिग्रहणको काम सके अर्काे वर्ष सडक निर्माण गर्ने लक्ष्य छ,’ उनले भने, ‘पहिलो वर्ष भएकाले जग्गा प्राप्त गर्न केही समस्या भएकाले ढिलाइ भइरहेको हो ।’ सडक निर्माणका लागि २४ बिघा भन्दा बढी जमिन अधिग्रहण गर्नुपर्नेछ ।

भीमदत्त नगरपालिकाको गड्डाचौकीदेखि महाकाली नगरपालिकाको मलेरिया नालासम्म पुलसहित ८ दशमलव ४ किलोमिटर लम्बाइको सडकसमेत निर्माण गरिनेछ । पछिल्लो पटक व्यापक चर्चामा रहेको दोधाराको सुक्खा बन्दरगाहलाई लक्षित गरेर नै पुल र ४ लेनको बाटो निर्माणको काम चलिरहेको हो । पुल निर्माणपछि यस क्षेत्रको औद्योगिक विकासमा ठूलो टेवा पुग्ने व्यवसायीहरू बताउँछन् । झन्डै सय वर्षअघि निर्माण गरिएको शारदा ब्यारेजको पुल पुरानो भएको भन्दै मालवाहक साधन सञ्चालनमा असहज हुन थालेपछि यहाँका व्यवसायीले पक्की पुलको माग गर्दै आएका थिए ।

पुल निर्माणले सुक्खा बन्दरगाहका लागि पूर्वाधारको विकास समेत भएको व्यवसायीहरू बताउँछन् । टापुको रूपमा रहेको महाकाली नगरपालिकालाई सडक सञ्जालसँग जोडने प्रमुख माध्यम समेत बन्ने स्थानीय बताउँछन् ।

प्रकाशित : वैशाख १३, २०७५ १०:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?