१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८४

सुधारिंदै डोटीका ग्रामीण सडक

मोहन शाही

डोटी — ग्रामीण क्षेत्रका साँघुरा र कच्ची सडकको स्तरोन्नति थालिएको छ । निर्माणाधीन सडक पनि प्राथमिकतामा पर्न थालेका छन् । तीन दशकबाट बेवारिसेझैं रहेको बहुप्रतीक्षित बोगटान सडक, समूहगाढ–कपल्लेकी–गड्सेरा सडक, दिपायल–मौवा–मेल्लेख सडक, बुडर–जोरायल सडकमा धमाधम स्तरोन्नतिको काम भइरहेको हो ।

सुधारिंदै डोटीका ग्रामीण सडक

डबल कटिङ गरी चौडा पार्ने, वाल उठाउने र माटो सम्याउने काम भइरहेको सडक डिभिजन कार्यालय कुलपातेका इन्जिनियर महानन्द जोशीले बताए । ०४२ देखि अलपत्र बोगटान सडकलाई चालु आर्थिक वर्षदेखि कालोपत्रे गर्ने गरी निर्माण सुरु गरिएको हो ।


उक्त सडकलाई चौडा पार्दै १० किलोमिटरसम्म कालोपत्रे भएपछि जिल्लाको झन्डै आधा जनसंख्याले राहत पाउनेछन् । यो सडकले दिपायलको राजपुरदेखि कैलालीको सहजपुर हुँदै डोटीको दक्षिण क्षेत्र बीपीनगर जोड्नेछ । तीन दशकअघि बोगटान सडकमा काम सुरु भएको थियो । एक सय आठ किलोमिटर लम्बाइको उक्त सडक यसअघि केन्द्रबाट उपेक्षित हुँदा निर्माण कार्यमा ढिलासुस्ती भएको थियो ।

‘दिपायल सिलगढी नगरपालिकाको पिपल्लादेखि केआईसिंह गाउँपालिकाको ब्वारसम्म चाँडै कालोपत्रे हुँदै छ,’ केआईसिंह गाउँपालिका अध्यक्ष लोकेन्द्र शाहीले भने, ‘त्यहाँबाट वायलसम्म अर्को वर्षसम्म काम पूरा भएपछि स्थानीयलाई सडक यातायातको सुविधा पुग्नेछ ।’ यस्तै ०७२ मा २९ जनाको ज्यान जाने गरी भएको बस दुर्घटनापछि जोरायल सडकलाई पनि स्तरोन्नति गर्ने काम भइरहेको छ । बुडरदेखि जोरायलसम्म डबल कटिङको काम सम्पन्न भइसकेको छ । पर्खाल लगाउने र थप सुधार गर्ने काम अन्तिम चरणमा रहेको जोरायल गाउँपालिका अध्यक्ष दुर्गा ओझाले बताए ।


यसअघि सडकको दुरवस्थाका कारण बस दुर्घटना भएको भन्दै स्थानीयले सरकारसँग स्तरोन्नतिको माग राख्दै आएका थिए । जोरायल गाउँपालिका अध्यक्ष ओझाले सडक स्तरोन्नतिपछि जोरायलवासीलाई राहत पुग्ने बताए । धनगढी–दिपायल फास्ट ट्रयाकलाई बझाङको चैनपुर हुँदै चीनको ताक्लाकोट सिमानासँग जोड्ने योजनाअनुसार दिपायल–मौवा–मेल्लेख सडकको पनि स्तरोन्नति भइरहेको छ ।


सडक फराकिलो बनाइएको छ । समूहगाढ–कपल्लेकी–गड्सेरा सडक पनि मर्मत तथा स्तरोन्नति गरिँदंै छ । यो सडकमा गत वर्षबाटै चौडा पारेर कालोपत्रे गर्ने उद्देश्यले टेन्डर
खोलिएको भए पनि ठेकेदारले यो वर्ष मात्र काम सुरु गरेका हुन् ।


शिखर नगरपालिकाका नगरप्रमुख सीताराम जोशीले उक्त सडक कालोपत्रे भएलगत्तै तेलेलेकमा पर्ने नाहापानी क्षेत्रको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने बताए । तर, ठेकेदारले सुस्त गतीमा काम गरिरहेको स्थानीयले बताए ।

प्रकाशित : वैशाख १८, २०७५ १०:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?