२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

‘फलाम खानी’मा सडक

‘फलाम खानी छ भन्ने कुरा त सबैलाई थाहै थियो, यसको संरक्षण र उत्खननका लागि कसैले चासो दिएनन्’
वसन्तप्रताप सिंह

बझाङ — बझाङको तल्कोट गाउँपालिकामा पर्ने भोपुर रुवातोला सडकको बयालधार खण्डमा फलाम खानी फेला परेको छ । सडक निर्माणको क्रममा डोजरले खन्दा ठूलो परिमाणमा फलामका टुक्राहरू यत्रतत्र छरिएका छन् । सडक खन्ने क्रममा निस्किएका फलामे ढुंगाहरू ठूलो मात्रामा सेती नदीमा समेत खसेको स्थानीयले बताए ।

‘फलाम खानी’मा सडक

चैनपुर– ताक्लाकोट सडकमा पर्ने साबिक सुनिकोट गाविसको सेरागाउँदेखि धमेना गाविसको कँुवर गाउँ सम्मको करिब ३ किमि क्षेत्रमा ठाउँठाउँमा फलाम जस्तै ढुंगाहरू भेटिएका हुन् । जताततै फलाम भेटिए पनि यसबारे कसैले वास्ता नगरेका कारण सडक निर्माणको क्रममा ठूलो परिमाणमा ती ढुंगा सेती नदीमा खसेको स्थानीय धनबहादुर कठायतले बताए ।

साबिकको धमेना गाविसमा पर्ने बयालधार डाँडामा रहेको फलाम खानी करिब ६५ वर्ष पहिला प्रयोगमा थियो । खानीबाट कच्चा फलाम निकालेर यहाँका स्थानीय लुहार समुदायले आफ्नै परम्परागत सीप प्रयोग गरेर प्रशोधन गर्थे । त्यसबेला फलाम प्रशोधन गरेर निर्माण गरेका कृषि औजार, विभिन्नखाले हतियार र घरायसी प्रयोगका लागि बनाइएका भाँडाकुँडा हालसम्म पनि स्थानीयले प्रयोग गर्ने गरेको पाइएको छ ।

खानीबाट फलाम झिकेर आफैं प्रशोधन गरेका तल्कोट गाउँपालिका १ भाटगाउँका थोल्या कामीका अनुसार खानी प्रयोग गरेबाफत लुहार मुखियाले तत्कालीन बझाङ राज्यलाई तिर्नुपर्ने कर तिर्न नसकेपछि खानी प्रयोगमा बन्देज लगाइएको थियो । ‘मेरै हातले फलाम झिकेर ल्याएर पगाल्ने र भाँडाकुँडा बनाउने काम गरेको छु,’ ८० वर्षीय उनले त्यो बेलाको फलाम प्रशोधन गर्ने प्रविधिको चर्चा गर्दै भने, ‘एउटा भट्टी हुन्थ्यो । त्यसमा फलामे ढुंगालाई फुटाएर साह्रो गोल (बाँझको मुढा बालेर बनाइएको कोइला) मा राख्नु पथ्र्यो । चारै तिरबाट छालाको खलाँती (आरनमा आगो फुक्ने चिज) ले चार जनाले धुनु (फुक्नु) पथ्र्याे । एक जनाले लामो सनासोले फलाम चलाइराख्नु पथ्र्यो । फलाम तातिएपछि पग्लेर भट्टीको तल राखिएको भाँडोमा चुहिन्थ्यो । त्यसैलाई आरनमा पिटेर चाहेको सामान बनाउने गरिन्थ्यो ।’ यहाँको फलाम एकदमै गुणस्तरीय भएको र आयातित फलामभन्दा सजिलैसँग चाहिएको कृषि औजार, हतियार वा भाँडाकुँडा बनाउन सकिने खालको रहेको उनको भनाइ छ । त्यो ठाउँमा फलाम खानी छ भन्ने कुरा यहाँका सबैलाई थाहा भए पनि त्यसको संरक्षण र उत्खननमा कसैले वास्ता नगर्ने गरेको स्थानीय बताउँछन् । ‘फलाम खानी छ भन्ने कुरा त सबैलाई थाहै थियो,’ सुनिकोटका कृष्णबहादुर थापाले भने, ‘यसको संरक्षण र उत्खननका लागि कसैले चासो दिएनन् । हामीले पनि के काम लाग्ला र ? भनेर वास्ता गरेनौं । सडक खन्नेहरूले पनि मतलव गरेनन् ।’

भूगर्भविद्हरूको टोली बझाङ आउँदै
यता खानी तथा भूगर्भ विभागका उपमहानिर्देशक तथा खनिज सम्पदा महाशाखाका प्रमुख रामप्रसाद घिमिरेले बझाङमा फलाम खानीको सम्भावना रहेको यस अघिका अध्ययन प्रतिवेदनले देखाएको भए पनि कुन ठाउँमा कति मात्रामा फलाम छ भन्ने विस्तृत अध्ययन भइनसकेको बताए । जेठको पहिलो सातातिर भूगर्भविद्हरूको टोली बझाङ आउने र अहिले देखिएको फलाम खानीका विषयमा अध्ययन गरिकन आवश्यक निर्णय लिइने उनले बताए । उनले भने, ‘कति मात्रामा फलाम डिपोजिट छ भन्ने अध्ययन भइसकेपछि उत्खनन गर्ने वा नगर्ने भन्ने निक्र्योल गर्छाैं । अहिले नै केही भन्न सकिन्न ।’

प्रकाशित : वैशाख २७, २०७५ ११:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?