१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

फेरियो दलित बस्ती

मोहन शाही

डोटी — कुनै बेला अर्काको गाडी चलाएर गुजारा चलाउँथे, गणेश नेपाली । जोरायल गाउँपालिकाको छतिवनस्थित सेलागाउँका गणेश अहिले भने मौरीपालन गरेर अरूलाई रोजगारी दिने भएका छन् ।

फेरियो दलित बस्ती

१५ वर्षको कलिलो उमेरबाटै सवारी चालकको जिम्मेवारी सम्हालेका उनले आर्थिक अवस्था सबल बनाउन ठूलो संघर्ष गरे । केही समय तरकारी खेती गरेका गणेश अहिले मौरीपालनबाट सफल किसानमा दरिएका छन् ।

सुरुवातमा परम्परागत ‘खोपे घार’ बाट मौरीपालन सुरु गरेका गणेश अहिले आधुनिक रूपमा मह उत्पादनमा जुटेका छन् । मौरीपालनबाट उनको आर्थिक अवस्था मात्रै सुध्रिएको छैन, अरूले जिल्लाकै सफल किसानमा रूपमा चिन्न थालेका छन् । ०७० बाट उनी व्यावसायिक मौरीपालनमा जुटेका हुन् । त्यसयता मह बिक्री गरेरै वार्षिक डेढ लाखभन्दा बढी आम्दानी गरिरहेका छन् ।

गणेशका छिमेकी बलबहादुर सार्की र जितबहादुर सार्कीले पनि मौरीपालन थालेका छन् । बलबहादुर मौरीकै आम्दानीबाट छोराछोरी पढाइरहेका छन् । जितबहादुरलाई घर गुजारा गर्न निकै सहज छ । दलित समुदायको बसोबास रहेको सेला बस्तीका १५ परिवार अहिले आधुनिक मौरीपालन व्यवसायमा लागेका हुन् । अधिकांशको आयस्रोत नै महपालन बनेको छ । प्रत्येकका घरमा ८/१० आधुनिक मौरी घार छन् । वर्षमा दुईपटक निकालिने महबाट एक परिवारले ५० हजारभन्दा बढी कमाउँछन् । ‘नुनतेलका लागि अरूको मुख ताक्नुपर्ने अवस्था छैन,’ जितबहादुरले भन्छन्, ‘केही काम गर्ने इच्छा, केही ज्ञान सीप भए सफल भइँदो रहेछ ।’ घरघरमा देखिने मौरी घारले सेलागाउँ अहिले फेरिएको छ । ‘आँगन र बारीमा राखिएका मौरी घारले गाउँ पनि सुन्दर देखिन्छ,’ गणेश भन्छन्, ‘हामीमा यसले सामाजिक भावनाको पनि विकास गरेको छ ।’

समैजी कृषक समूह गठन गरेर सेलागाउँका दलित परिवारले मौरीपालन सुरु गरेका हुन् । साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजनाको अनुदान सहयोगमा व्यवसायमा लागेका हुन् । आयोजनाबाट प्रत्येक परिवारलाई ५ वटा मौरी घारसँगै आवश्यक अन्य सामग्री वितरण गरिएको थियो । मौरीपालन व्यवसाय, कृत्रिम तरिकाले गोला विभाजन, गोला संयोजन, कीराको उपचारबारे तालिम दिइएको थियो । चिनी चास्नी खुवाउने तरिका, रानो मौरी उत्पादन गर्ने तरिका, मह प्रशोधन र बजारीकरण जस्ता प्रविधिबारे जानकारी पाएपछि किसानहरू मौरीपालनप्रति आकर्षित भएको त्यस क्षेत्रमा कार्यरत कृषि प्राविधिकले बताए । आयोजनाको सेवा प्रदायक संस्था केदार ग्रामीण विकासका कृषि प्राविधिक इन्द्रबहादुर सार्कीका अनुसार आर्थिक र सामाजिक रूपमा पिछडिएको समुदायका लागि मौरीपालन आयआर्जनको राम्रो स्रोत बनेको छ ।

‘म व्यावसायिक रूपमा मौरीपालनमा लाग्ने अवसर पाउनु नै मेरो ठूलो सफलता हो,’ गणेश भन्छन्, ‘ढिलो, चाँडो यसलाई पेसाकै रूपमा अँगाल्दै थप विस्तार गर्न प्रतिबद्ध छु ।’ छोराछोरी पढाउन र घर खर्च धान्न निकै सजिलो भएको अनुभव उनले सुनाए । एक घारबाट ७ देखि १० केजीसम्म मह उत्पादन हुने गरेको छ । गाउँमै १ केजी मह ५ सयमा बिक्री भइरहेको छ । गाउँबाहिर पुर्‍याएमा प्रतिकिलो ७ सयसम्ममा बिक्री हुन्छ । सामूहिक रूपमा मह संकलन गरेर बिक्री गरिन्छ । संकलनको जिम्मेवारी गणेशले नै लिएका छन् । उनी धनगढी र महेन्द्रनगरका व्यापारीलाई बेच्ने गर्छन् ।

प्रकाशित : वैशाख २९, २०७५ १०:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?