हावाहुरीले छाना उडाउँदा ३ सय परिवार अलपत्र

एकको मृत्य, दुई गम्भीर
विद्युत सेवा ठप्प
रुख ढल्दा सडक अवरुद्ध

कैलाली/कञ्चनपुर — कैलाली कञ्चनपुरमा आइतबार रातिको हावाहुरीले एक महिलाको मृत्यु र दुई गम्भीर घाइते भएका छन् । घरको छाना उडाउँदा ३ सयभन्दा बढी परिवार खुला आकाशमा बस्न बाध्य छन् । विद्युत् सेवा पूर्ण रूपमा अवरुद्ध छ ।

हावाहुरीले छाना उडाउँदा ३ सय परिवार अलपत्र

घरको छाना खसेर कैलालीको गौरीगंगा नगरपालिका–१ की ५६ वर्षीया चारुमती बुढाको मृत्यु भएको छ । घरकै इँटा खसेर कैलालीकै कैलारी गाउँपालिका–७ का शोभा चौधरी र गिधिनिया चौधरी गम्भीर घाइते भएका छन् । घाइतेहरूको सेती अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

हावाहुरीले कैलालीका विभिन्न गाउँमा स्थानीयका कच्ची घरका छाना उडाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार कैलालीभर ३ सय १ घरमा क्षति पुगेको छ । कतिपय बस्तीका सबै घरका छाना उडाएको छ । सुगरखालमा २१ परिवार र मालाखेतीमा २० परिवारको कच्ची घरको छाना उडाएको छ । ‘राति एक्कासि चलेको हावाहुरीबाट ज्यान त जोगियो तर रात कसरी बिताउने भन्ने चिन्ता छ,’ मालाखेतीकीले कमला ओडले भनिन्, ‘छानो उडाएका सबै परिवारको हालत एकनासकै छ ।’ भीषण हावाहुरीले टीकापुरमा ८, भजनीमा १, सडकपुर मोहन्यालमा १ सय घरका छाना उडाएको छ । यस्तै, मसुरियामा १३ घर, हसुलियाको पुरै बस्तीका ९० घरको छाना उडेपछि स्थानीय बासिन्दा खुला आकाशमुनि बस्नुपर्ने अवस्थामा छन् । धनगढी उपमहानगरपालिका–१९ फूलबारीमा ३७ घरको छाना हावाहुरीले उडाएको छ । धनगढीमै रेडियो धनगढी र जनआवाज एफएमको टावरमा क्षति पुगेको छ ।

रूखहरू ढल्दा सडक यातायात अवरुद्ध भएको छ । प्रदेश राजधानी धनगढीलगायत कैलाली कञ्चनपुरका अधिकांश बस्तीहरूमा विद्युत् अवरुद्ध छ । कैलालीको टीकापुर, लम्की र धनगढी बजारमा रहेका विभिन्न पसलका टिनका छानाहरू हुरीले उडाएको छ । विभिन्न स्थानमा पनि रूखहरू ढलेका छन् र बिजुलीका खम्बा पनि ढलेका छन् ।

कैलाली जिल्लामा सय बढी विद्युतका पोल ढलेपछि विद्युत् सेवा अवरुद्ध भएको हो । अत्तरिया क्षेत्रमा मात्रै ४० भन्दा बढी विद्युतका पोल ढलेका छन् । धनगढी क्षेत्रमा दर्जनौं पोलहरू ढलेका छन् । जिल्लाका अन्य क्षेत्रमा पनि विद्युतका पोल ढलेको नेपाल विद्युत् प्राधिकरण धनगढी वितरण केन्द्रले जनाएको छ । चारवटा टिम परिचालन गरी विद्युतीय उपकरणमा भएको क्षति संकलनको कार्य भइरहेको वितरण केन्द्रका प्रमुख धीरेन्द्रकुमार यादवले बताए । ‘केही क्षेत्रमा सोमबार नै विद्युत् सेवा सुचारु हुने अवस्था रहे पनि अधिकांश क्षेत्रमा भने सोमबार विद्युत् सेवा सुचारु गर्न सकिने अवस्था छैन,’ यादवले भने ।

धनगढीमा रहेको रेडियो धनगढीको टावर पनि हुरीले ढालेपछि रेडियोको प्रसारण अवरुद्ध भएको स्टेसन प्रमुख हरि जोशीले बताए । क्षतिको विवरण संकलन भइरहेको कैलालीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले बताए ।

कञ्चनपुरमा पुनर्बास नगरपालिका र बेल्डाडीमा विद्युतीय तार सर्ट भएर बेल्डाँडी गाउँपालिका–२ का प्रेम चुनाराको कुखुरा र्फाममा आगलागी हुँदा ३ सय चल्ला मरेको डीएसपी ज्ञानबहादुर सेटीले बताए । यस्तै पुनर्बास नगरपालिका–१ बलभद्रबस्तीमा शुक्र तामाङको गोठ र खोरमा आगलागी हुँदा ८ बाख्रा र २० कुुखरा मरेका छन् । बेल्डाँडीमै धना लुहारको कच्ची गोठ भत्किँदा गाईका बाच्छा मरेको उनले सेटीले बताए ।

प्रकाशित : जेष्ठ १, २०७५ ०९:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?