कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

आवश्यकता एकातिर बजेट अर्काेतिर

‘जनप्रतिनिधिले ल्याएको पहिलो आर्थिक वर्षको बजेटमा समेत खानेपानीका योजना परेको छैन’
मोहन बुढाऐर

धनगढी — कैलालीको गोदावरी नगरपालिकाको चुरे फेदीका बस्तीमा वर्षौंदेखि खानेपानीको हाहाकार छ । गर्मीयामको सुरुवातसँगै प्राकृतिक मूल र कुवाको पानीसमेत सुकेर त्यस क्षेत्रका विभिन्न वडाका बस्तीहरू काकाकुल हुने गरेका छन् । एक घैंटो पानीका लागि २/३ घण्टा पैदल हिँड्नुपर्छ ।

आवश्यकता एकातिर बजेट अर्काेतिर

‘हरेक चुनावमा यहाँका बासिन्दाले माग्ने भनेकै पानी हो,’ गोदावरी १२ का कृष्णदत्त भट्टले भने, ‘पानी दिने विश्वास जसले दिलाउँछ, उही चुनाव जित्छ ।’ तर पनि यहाँका बासिन्दाले जहिलेसुकै पानीकै माग गरिरहनुपर्ने पीडाबाट मुक्त हुन नसकेको उनी बताउँछन् । उनका अनुसार स्थानीय तहदेखि प्रदेश र केन्द्र सरकारसम्म यहाँका बासिन्दाले पटकपटक पानीको समस्या राखे । तर, समाधान हुन सकेको छैन । यसपाला पनि स्थानीय तहको बजेटमा समेत खानेपानी योजनालाई न्यून बजेट छुट्टाएको स्थानीयको आरोप छ ।

‘मुलुक संघीयतामा गएपछि बनेको स्थानीय सरकारबाट जनताका समस्या सम्वोधन हुनेमा बढी आशावादी थियौं,’ गोदावरी ११ का वीरबहादुर विकले भने, ‘जनप्रतिनिधिले ल्याएको पहिलो आर्थिक वर्षको बजेटमा समेत खानेपानीका योजना परेको छैन ।’ गोदावरी नगरपालिकाको प्राय: सबै वडामा खानेपानीको अभाव छ । पानीको हाहाकार हुने गोदावरीका ४, ६, ७, १०, ११, र १२ नम्बर वडा हुन् । चुरे फेदीमा पर्ने ती वडामा खानेपानीका मूल पछिल्ला वर्षमा सुक्दै गएकोले पानीको हाहाकार हुन थालेको स्थानीयहरू बताउँछन् ।

गोदावरी नगरपालिकाका कार्यकारी प्रमुख मोहनप्रसाद मरासिनीले चालु आर्थिक वर्षमा खानेपानीतर्फ पूरै नगरपालिकाका लागि ६० लाख मात्र बजेट विनियोजन भएको बताए । नगरपालिकाको कुल विकास बजेट ३६ करोडमा सबैभन्दा धेरै कल्भर्ट निर्माण र सडक ग्राभेलमा रहेको उनले बताए ।

उनले ६० लाख डिप बोरिङ र कुवा मर्मतका लागि छुट्टाइएको बताए । जसअन्तर्गत वडा नम्बर ४, ६, ७ र १२ मा पर्ने चार ठाउँमा डिप बोरिङ गरिने बताए । एउटा डिप बोरिङको लागत १० देखि १५ लाख अनुमान गरिएको कार्यकारणी प्रमुख मरासिनीले बताए । बाँकी रकम परम्परागत कुवाहरूको मर्मत–सम्भार र अन्य सम्भाव्यता अध्ययनमा खर्चिने बताए । नगरपालकाले जनताको टडकारो आवश्यकताभन्दा अन्य शीर्षकमा बजेट धेरै राखेको स्थानीय आरोप लगाए । ‘खानेपानीको टडकारो आवश्यकता भएको ठाउँमा ग्राभेलमा बढी बजेट छ,’ गोदावरी ११ का लालबहादुर सुनारले भने, ‘यहाँका बासिन्दालाई सडक पनि चाहिन्छ तर पहिलो प्राथमिकता भनेको खानेपानीको समस्या हो ।’

‘सडक, बाटाे, बिजुली बत्ती, स्कुल, स्वास्थ्य चौकी, सञ्चार सबै आधारभूत आवश्यकतामा पर्छन्,’ उनले भने, ‘तर गाउँको पहिलो आवश्यकताको विषय प्राथमिकता पर्नुपर्छ । त्यसमा अरूभन्दा धेरै बजेट छुट्ट्याइनुपर्छ ।’ उनले ओलानीमा सडकको कालोपत्रेभन्दा स्थानीयलाई पानीको आवश्यकता रहेको बताए । ‘सबैको घरघरमा पानीको धारा पुग्न सके स्थानीयको अनुहारमा खुसी छाउँथ्यो,’ ओलानीकी सीता नेपालीले भनिन्, ‘वर्षाैंदेखिको पानीको दु:ख टथ्र्यो ।’ स्थानीय मदन वडले खानेपानीका लागि ११ र १२ वडामा एउटा डिप बोरिङका लागि १५ लाखको योजना दिएको बताए । उनले त्यो एउटा डिप बोरिङको पानी दुई वडालाई नपुग्ने बताए । वडले इनारमा बर्सेनि पानी सुक्दै गएकाले यस क्षेत्रमा खानेपानीको ठूलो योजना आवश्यक रहेको बताए ।

गोदावरी नगरपालिकाका प्रमुख हरिसिंह साउदले नगरपरिषदमा वडाबाट छनोट भएका योजनामा बजेट गएको बताए । उनका अनुसार शिक्षा, स्वास्थ्य, कृषि र सडकको स्तरोन्नतिमा धेरै बजेट गएको स्विकारे । ‘कतै आवश्यकता एकातिर, विकास बजेट अर्काेतिर बढी परेको हुन सक्छ,’ उनले भने, ‘तर पनि जहाँ जुन कुराको बढी आवश्यकता छ, परिषदले बजेटको बाँडफाँड त्यसरी गरेको छ ।’

अधुरा योजना बजेट अभावमा अलपत्र
गोदावरी नगरपालिकाले मात्रै हैन्, कैलालीका १३ स्थानीय तहले बजेट स्थानीयवासीको आवश्यकता र मागअनुसार जनप्रतिनिधिहरूले विनियोजन नगरेको स्थानीयको गुनासो छ । कैलाली पहाडी क्षेत्रमा पर्ने मोहन्याल र चुरे गाउँपालिकाले समेत सडक निर्माणमै धेरै बजेट विनियोजन गरेको छ । मोहन्याल गाउँपालिकाको पटनी सिँचाइ योजना मर्मतबिना पानी बग्दैन । उक्त योजनामा गाउँपालिकाबाट बजेट परेको छैन । करिब सय हेक्टरभन्दा बढी भूमि सिँचाइ हुने उक्त पटनी सिँचाइ योजनामा मर्मत बजेट परेको भए सयौ घरपरिवारको जमिन सिञ्चित हुने स्थानीय लालबहादुर सारुमगरले बताए । त्यसैगरी कैलारी र जोशीपुर गाउँपालिकामा करोडौंका खानेपानी योजना थोरै बजेटको अभावमा अलपत्र छन् ।

खानेपानी डिभिजनले उपभोक्ताको १० देखि २० प्रतिशत श्रमदानमा ५ देखि १० करोडका योजनाको निर्माण सुरु गरेको थियो । डिभिजनले आफ्नोतर्फबाट गर्नुपर्ने ओभरहेड ट्यांकीको भौतिक संरचना निर्माण सम्पन्न गरेको छ । जनश्रमदानबाट बिछ्याउनुपर्ने पाइपको काम अधुरै रहेकाले पानी सञ्चालन हुन सकेको हुन् । ‘गाउँपालिकाले निर्माण सम्पन्न बाँकी रहेका योजनामा थोरै बजेट विनियोजन गरेको भए, खानेपानी सञ्चालनमा आउँथ्यो,’ हसुलियाका भगीरथ चौधरीले भने, ‘स्थानीय तहले बजेटको बाँँडफाँट गर्दा गाउँमा नयाँ योजना दिनेतिर मात्रै ध्यान गएको देखिन्छ । पुराना अधुरा योजना सम्पन्न गर्नेतिर ध्यान पुर्‍याएको देखिँदैन ।’

त्यसैगरी कैलालीका अन्य स्थानीय तहहरूमा पनि सडकको ग्राभेल, कल्भर्ट निर्माणमा बढी बजेट छ । एउटा ठूलो र धेरै जना लाभन्वित हुने योजनाको निर्माणभन्दा कनिका छरिएजस्तै स्थानीय तहबाट बजेट विनियोजन भएको स्थानीय बुद्धिजीवी श्यामप्रसाद श्रेष्ठले बताए ।

प्रकाशित : जेष्ठ १, २०७५ ०९:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?