१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

बाह्रकुण्डालाई पर्यटकीय क्षेत्र बनाइँँदै

तालको संरक्षणसँगै पानी भरिादै
भवानी भट्ट

कञ्चनपुर — चुरेफेदीमा रहेको कञ्चनपुरको भीमदत्त नगरपालिका १ मा पर्ने बाह्रकुण्डा क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गरिने भएको छ । उक्त क्षेत्रका एक दर्जन ताल संरक्षणसँगै तिनमा पानी भरेर आकर्षक गन्तव्य बनाइन लागेको हो ।

बाह्रकुण्डालाई पर्यटकीय क्षेत्र बनाइँँदै

राष्ट्रपति चुरे तराई मधेस संरक्षण कार्यक्रम र भीमदत्त नगरपालिकाको संयुक्त लगानीमा बाह्रकुण्डाको संरक्षणसंँगै भौतिक पूर्वाधारको विकास गरिन लागेको छ । भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र विष्टले उक्त कार्यको मंगलबार शिलान्यास गरेका छन् । बाह्रै कुण्डहरूमा जल पुनर्भरण र पोखरी निर्माण गर्ने कार्यको शिलान्याससँगै उक्त क्षेत्रमा धार्मिक पर्यटनको विकास हुने अपेक्षा गरिएको छ ।


तालहरूमा पानी भर्न यसअघि नै बोरिङ जडान गरिएको छ । अब चारैतिर ट्रेकिङ रुट निर्माणसँगै तालहरूलाई एकआपसमा जोड्ने काम गरिनेछ । यसैगरी भ्यू टावर र पिकनिक स्पटहरूसमेत निर्माण गरिने भीमदत्त नगरपालिकाका प्रमुख विष्टले बताए । ‘रौटेला र विष्णुधामका बीचमा रहेको बाह्रकुण्डा क्षेत्र अब जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्य बन्नेछ’ उनले भने, ‘यहाँबाट ७/८ किमि पश्चिममा रहेको ब्रह्मदेवको सिद्धबाबा मन्दिरलाई पनि जैविक मार्गले जोडेको छ ।’


चुरे फेदीमा रौटेला मन्दिरदेखि सुरु भएर बाह्रकुण्ड, विष्णुधाम, भम्केनी धाम हुदै ब्रह्मदेवको सिद्धबाबा मन्दिरसम्म पुग्ने जैविक मार्गका हालै नगरपालिकाले ट्रयाक खोलेको छ । चुरे फेदीमा रहेको धार्मिक स्थललाई एकआपसमा जोडन उक्त मार्ग निर्माण गरिएको हो ।


पूर्णागिरि दर्शनपछि ब्रह्मदेवको सिद्धबाबा मन्दिरमा पुग्ने दर्शनार्थीलाई अब बाह्रकुण्डासम्म पुर्‍याउन सकिने भीमदत्त नगरपालिका १ का वडाअध्यक्ष आसिफ कुँवरले बताए । उनले रौटेला र विष्णुधामलाई समेत बाह्रकुण्डले जोडेकाले यसको महत्त्व अझ बढी रहेको जानकारी दिए । बाह्रकुण्डा पौराणिक महत्त्व बोकेको क्षेत्र पनि हो । उक्त क्षेत्रमा ढुंगाका ओखल, काटेका ढुंगाले बनाइएका घरको संरचना र किल्लाहरूसमेत देखिएका छन् । पौराणिककालमा विभिन्न देवीदेवता र ऋषिमुनिहरू यहाँ बसेको हुन सक्ने स्थानीयको अनुमान छ । ‘बाह्रकुण्डामा यहाँ बस्ती बसेदेखि नै पानी भरिभराउ थियो’ स्थानीय टेकबहादुर कुँवरले भने, ‘त्यतिबेला यसैको पानी सिंँचाइका लागि र गाईबस्तुका लागि प्रयोग हुन्थ्यो ।’ उनका अनुसार २/३ वर्षदेखि तालमा पानी सुकेको हो । सबै तालहरूमा पानी भर्ने उद्देश्यले तराई भूपरिधि कार्यक्रमको सहयोगमा गत वर्ष बोरिङ जडान गरिएको छ । उक्त क्षेत्र हात्ती हिँड्ने बाटो पनि हो । हात्तीले पनि यही तालमा पानी खाने गरेको स्थानीय वृद्धहरू बताउँछन् ।


चुरे फेदीमा रहेका बाह्रवटा कुण्डहरूकै नामबाट उक्त क्षेत्रको बस्तीको नाम पनि बाह्रकुण्डा रहन गएको हो । यहाँको बस्ती २०२३ देखिको हो । स्थानीयले तालहरूकै क्षेत्रमा गाईबाख्रा चराउने तथा विभिन्न धार्मिक गतिविधिहरू गर्थे । तर, हालका वर्षमा ताल सुक्दै गएपछि उक्त गतिविधिहरू पनि कम भएको स्थानीय बताउँछन् । ‘अबको एक वर्षभित्र बाह्रकुण्ड क्षेत्र आकर्षक गन्तव्यका रूपमा परिणत हुनेछ’ चुरे संरक्षण सञ्जालका अध्यक्ष रवीन्द्र कुंँवरले भने, ‘चारैतिर ट्रेकिङ रुटसंँगै तालहरूलाई एकआपसमा जोडेर बाह्रै महिना पानी भरिभराउ गरिनेछ ।’ उक्त क्षेत्रमा रहेको बाह्रवटै कुण्डहरूको नामकरणसमेत गरिनेछ । उनका अनुसार उक्त क्षेत्रमा पिकनिक स्पट र भ्यू टावरसमेत निर्माण गरिनेछ । यसैगरी तालहरूबाट नजिकैको बस्तीमा सिंँचाइ सुविधा पनि उपलब्ध हुनेछ । विगतमा पनि यही तालक्षेत्रबाट स्थानीयले खेत सिँंचाइ गर्दै आएका थिए । तालहरू सकुेपछि अहिले सिंँचाइको समेत समस्या भएको छ ।


राष्ट्रपति चुरे तराई मधेस संरक्षण कार्यक्रमको ७० लाख, भीमदत्त नगरपालिकाको ३० लाख, भीमदत्त नगरपालिका वडा नं १ को ५ लाख र उक्त क्षेत्रमा रहेको वैजनाथ सामुदायिक वनको ५ लाख गरी अहिले १ करोड १० लाखमा उक्त क्षेत्रमा विभिन्न संरचना निर्माण र संरक्षणको काम गरिनेछ । उक्त क्षेत्रको गुरुयोजनाअनुसार काम गर्न डेढ करोड आवश्यक पर्ने चुरे संरक्षण सञ्जालका अध्यक्ष कुँवरले बताए । अपुग बजेटका लागि समेत विभिन्न निकायमा माग गरिएको उनले सुनाए ।

प्रकाशित : जेष्ठ २, २०७५ ११:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?