कञ्चनपुरको गड्डाचौकी नाकाबाट आधा किलो सुनसहित २ पक्राउ

भवानी भट्ट

कञ्चनपुर — नेपालबाट भारततर्फ तस्करी भइरहेको ५ सय ग्राम सुनसहित दुईजना भारतीय नागरिक पक्राउ परेका छन् । कञ्चनपुरका भन्सार कार्यालयले गड्डाचौकी नाकाबाट बुधबार बिहान भारतीय नम्बरको गाडीमा सुन तस्करी गरिरहेका दुईजनालाई पक्राउ गरेको हो । 

कञ्चनपुरको गड्डाचौकी नाकाबाट आधा किलो सुनसहित २ पक्राउ

एच आर १२ एएफ ०००६ नम्बरको कारको डिग्गीमा झोलाभित्र लुकाईराखेका अवस्थामा उक्त सुन बरामद गरिएको कञ्चनपुर भन्सार कार्यालयका प्रमुख मदन दाहालले बताए । उनका अनुसार सुन तस्करीमा संलग्न हरियाणाका जितेन्द्र शैन र सुरेन्द्र कुमारलाई पक्राउ गरि आवश्यक अनुसन्धान सुरु गरिएको छ ।


देशभर नै सुन तस्करीले व्यापक चर्चा पाइरहेका बेला देशकै पश्चिमी नाकाका रुपमा रहेको गड्डाचौकीबाट पहिलोपटक भारततर्फ लगिँदै गरेको अवस्थामा सुन बरामद गरिएको हो ।

‘यो नाकाबाट सानो तिनो मात्रामा सुन भारततर्फ तस्करी हुने गरेको सूचना आइरहन्थ्यो,’ भन्सार अधिकृत दाहालले भने, ‘तर यसपटक ठुलो परिमाणमा बरामद गर्न सफल भयौं ।’ उनले यसअघि पनि अपुष्ट सूचना आए पनि तस्करसम्म पुग्न नसकिएको बताए ।

सुन तस्करीमा प्रयोग भएको गाडी वैसाख ३१ मा ४ दिनको भन्सार बनाएर नेपाल पसेको देखिन्छ । बरामद गरिएको सुन नजिकैको बजारबाट ल्याएको हुनसक्ने भन्सार कार्यालयको अनुमान छ । पक्राउ गरिएका दुवैजनासँग बयान लिने काम भइरहेको र त्यसपछि थप केहि खुल्न सक्ने प्रमुख भन्सार अधिकृत दाहालले बताए ।


प्रकाशित : जेष्ठ २, २०७५ १२:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?