कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

आपराधिक घटना पत्ता लाग्दै

विभिन्न चोकमा १२ वटा सीसीटीभी जडान
मोहन बुढाऐर

धनगढी — रातको समयमा धनगढीको चौराहामा गाडीको ठक्करबाट गत साता २७ वर्षीय अशोक पाण्डेको मृत्यु भयो । ठक्कर दिने गाडीको भने तत्काल पहिचान हुन सकेन ।

आपराधिक घटना पत्ता लाग्दै

प्रहरीले घटनाको अनुसन्धान गर्दै गयो । अनुसन्धानका क्रममा घटनास्थल नजिकैको एउटा पसल बाहिर जडान गरिएको सीसीटीभीले घटनालाई कैद गरेको ‘फुटेज’ प्रहरीले फेला पार्‍यो ।

सोही फुटेजको अधारमा प्रहरीले म १ त ३९४ नम्बरको ट्रयाक्टरले पाण्डेलाई ठक्कर दिएको थाहा पायो । त्यही आधारमा ट्रयाक्टरका मालिक करनसिंह भण्डारी पक्राउ परे । उनी आफैंले चलाएको ट्रयाक्टरको ठक्करबाट पाण्डेको मृत्यु भएको भण्डारीले स्वीकार गरे ।

यस्तै, २ महिनाअघि सीसीटीभीकै सहयोगमा एक मोटरसाइकल चोरलाई प्रहरीले पक्राउ गर्‍यो । धनगढी चौराहाबाट मोटरसाइकल चोरेर भाग्दै गरेको दृश्य सीसीटीभीले कैद गरेको थियो । पाँच महिनाअघि अर्को एक घटनामा प्रहरी नै संलग्न रहेको सीसीटीभीकै माध्यमबाट थाहा भयो । जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी चोरीमा संलग्न देखिएपछि ती प्रहरी बर्खास्त भए ।

जागिर गुमाएको ती प्रहरीले धनगढीको एक पसलबाट मोबाइल चोरेका थिए । पसलेले आफ्नो पसलमा राखेको सीसीटीभीको प्रमाणका अधारमा उजुरी दिएपछि प्रहरी आफैंले चोरी गरेको खुलेको हो ।

पछिल्लो समयमा दुर्घटना र चोरीका घटनामा सीसीटीभी अपराध अनुसन्धानमा सहयोगी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विनोद घिमिरेले बताए । ‘सीसीटीभीले अपराधीको पहिचान मात्रै होइन, फुटेज महत्त्वपूर्ण प्रमाण हो,’ उनले भने, ‘यसले अपराध अनुसन्धानमा सीसीटीभीको महत्त्व बढेको छ ।’

प्रहरी उपरीक्षक घिमिरेले धनगढीका विभिन्न चोकमा १२ वटा सीसीटीभी जडान भएको बताए । उनका अनुसार कैलाली उद्योग बाणिज्य संघ लगायत उद्योग व्यवसायीहरूको सहयोगमा जिल्ला प्रहरी कार्यालयमा कन्ट्रोल रहने गरी जिल्ला प्रहरी कार्यालयदेखि चौराहासम्मका विभिन्न चोकमा सीसीटीभी जडान भएका छन् । हालैको हावाहुरीले १० वटा बिग्रेको प्रहरी उपरीक्षक घिमिरेले बताए ।

प्रदेश ७ को अस्थायी राजधानी तथा मुख्य व्यापारिक सहर धनगढीका मुख्य चोक, नाका र सडक मार्गमा सीसीटीभीको संख्या बढाउनुपर्नेमा प्रहरीले जोड दिँदै आएको छ ।

धनगढी बजार क्षेत्रबाहेक भीडभाड तथा आपराधिक गतिविधि हुनसक्ने जिल्लाका अन्य केन्द्रमा समेत सीसीटीभी जडान गर्नुपर्ने आवश्यकता रहेको जिल्ला प्रहरी प्रमुख घिमिरे बताउँछन् ।

‘सुरक्षा व्यवस्था सुदृढ गर्न सार्वजनिक स्थल, औद्योगिक क्षेत्र, अत्तरिया, सुख्खड, लम्की, चिसापानी लगायतका ठाउँमा समेत सीसीटीभी जोड्न आवश्यक छ,’ घिमिरेले भने, ‘सहयोगी निकाय खोज्दैछौं ।’ अपराध अनुसन्धानमा मात्रै नभएर आपराधिक घटना न्यूनीकरण गर्नमा समेतसीसीटीभीको उपयोगिता देखिएको छ । कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष शंकर बोगटीले उद्योग–व्यवासायीको सुरक्षामा सहयोग पुग्ने प्रहरीलाई गत वर्ष सीसीटीभी जडानका लागि २ लाख सहयोग गरेको बताए ।

नगरको सुरक्षा व्यवस्था र चोरीका घटना नियन्त्रणका लागि उद्योग वाणिज्य संघले प्रहरीलाई प्राविधिक रूपमा सहयोग गर्न तयार भएको बताए । ‘तर प्रहरीले सीसीटीभीको प्रयोग भएको देखाउन सक्नु पर्‍यो’ उनले भने, ‘खाली जडान मात्रै गर्ने आराधिक गतिविधि नघट्ने भए के काम ?’

धनगढी उप–महानगरपालिका प्रमुख नृप वडले नगरपालिकाले सहरबजारका विभिन्न स्थानमा १५ वटा सीसीटीभी जडानमा प्रहरीलाई सहयोग गर्न लागेको बताए । ‘नगरको शान्ति सुरक्षा बढाउन प्रहरी प्रशासनसँग मिलेर प्रविधिमा सहयोग गर्छौं,’ उनले भने, ‘दुई किलोमिटरमा सीमा जोडिएको नगर भएकाले अहिलेका सुरक्षा चुनौतीलाई सीसीटीभीको सहायताले घटाउन सकिन्छ ।’

प्रकाशित : जेष्ठ ४, २०७५ १०:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?