कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रोजगारीको लोभले विलाप

वैदेशिक रोजगारीको प्रलोभनमा महिलालाई सीमा कटाएर भारत पुर्‍याइन्छ । त्यहाँबाट खाडी पुगेका महिला शारीरिक तथा मानसिक यातना भोग्न बाध्य छन् ।
मोहन बुढाऐर

धनगढी — ताप्लेजुङ र सिन्धुपाल्चोकका दुई युवतीको केही दिनअघि कैलालीको त्रिनगर नाकाबाट उद्धार गरियो । ‘दलाल’ ले उनीहरूलाई वैदेशिक रोजगारीमा लगाइदिने प्रलोभनमा भारत लगेर बिक्री गर्ने योजना बनाएका थिए ।

रोजगारीको लोभले विलाप

ताप्लेजुङकी ३१ वर्षीया इना र सिन्धुपालाञ्चोकी २१ वर्षीया रिना (नाम परिवर्तन) दुवै जना काठमाडौंबाट बस चढेर वैशाख १९ गते धनगढी बसपार्कमा उत्रेका थिए । यहाँबाट उनीहरूलाई त्रिनगर नाका कटाएर भारत पुर्‍याउने योजना बनाएका थिए, दलालले ।

माइती नेपालले समयमै उनीहरूको उद्धार गर्‍यो । प्रहरीका अनुसार ती दुई युवतीलाई प्रलोभनमा पार्ने मुख्य दलाल दीपेन्द्र चौधरी आफू काठमाडाैंमा बस्छन् ।

धनगढी फूलबारीकै दुई युवतीको सहयोगमा इना र रिनालाई सीमा कटाउँदै थिए । माइती नेपालका कार्यक्रम संयोजक शिवचरण चौधरीले भने, ‘सीमा नाकाको त्रिनगर भन्सार गेटमा बस्ने कर्मचारीको नजरमा परेकाले उनीहरू जोगिए । शंका लागेर सोधपुछ गर्दा उनीहरू बेचिन लागेको थाहा भयो ।’ थप सोधपुछका क्रममा दलालको सहयोगी फूलबारीकी ज्ञानु चौधरीले उनीहरूलाई सीमा कटाउँदै गरेको थाहा भयो । ज्ञानु र उनकी सहयोगी भने भाग्न सफल भए ।

दलालका अर्का सहयोगी खेम दमाई उम्कन पाएनन् । उनलाई प्रहरीले नियन्त्रणमा लियो ।चौधरीका अनुसार दुई स्थानीय युवतीले इना र रिनालाई बसपार्कबाट अलग–अगल अटोरिक्सामा भन्सार पुर्‍याएका थिए । हाल दीपेन्द्रलाई मानव बेचबिखनको मुद्दामा फरार अभियुक्त घोषित गरिएको छ । कैलाली जिल्ला प्रहरी कार्यालयमा मानव बेचबिखनको मुद्दा परेको छ । अघिल्लो वर्ष यही सीमा नाकाबाट बेचबिखनमा संलग्न रहेका ७ महिला फरार भएका थिए । माइती नेपालले मानव बेचबिखनविरुद्ध यो दोस्रो उजुरी दर्ता गराएको छ ।

दीपेन्द्रले काठमाडौंमा इना र रिनालाई सम्पर्कमा ल्याएका थिए । दुवै महिलाको पासपोर्ट र नागरिकता आफूसँग राखेका छन् । उनीहरूलाई भारतको दिल्लीमा भेट्ने भनेका थिए । भारतबाट उनीहरूलाई कुवेत र साउदी अरबको वैदेशिक रोजगारमा लगाइदिने आश्वासन दिएको उद्धार गरिएका महिलाले बताएका छन् ।माइती नेपालका शिवचरणले पछिल्लो समय वैदेशिक रोजगारीको लोभमा महिला बेचबिखनको जोखिम बढेको बताए । उनले सीमाबाट उद्धार गरिने महिलाको तथ्यांक हेर्दा ३० प्रतिशतलाई दलालले वैदेशिक रोजगारमा लैजाने भनेर सीमा कटाउने गरेको बताए ।

कैलाली कनरीकी लक्ष्मी चौधरी पनि दलालकै फन्दामा परेर चार वर्षअघि कुवेतमा बेचिन पुगेकी थिइन् । लक्ष्मीका अनुसार उनलाई नेपालगन्जका एक दलालले रुपैडिया नाकाबाट भारतको दम्बोली पुर्‍याएका थिए । त्यहाँ उनलाई एक कुवेती नागरिकको जिम्मा लगाइयो । दुई वर्षपछि उनी मालिकलाई ‘कन्भिन्स’ गरेर घर फर्कन सफल भएकी थिइन् ।

माइती नेपालका संयोजक चौधरीले वैदेशिक रोजगारका लागि यहाँबाट लगिएका महिलालाई भारत र साउदी अरब तथा कुवेतका नागरिकलाई बेच्ने गरेको बताए । उनका अनुसार दलालले यहाँबाट वैदेशिक रोजगारका लागि लगिएका महिलाको लिलामै हुने गरेको छ । भारतका विभिन्न सहरमा गोप्य रूपमा त्यसो गरिन्छ । ‘दलालको सम्पर्कमा घरेलु कामदार खोज्ने विदेशी हुन्छन्,’ उनले भने, ‘उनीहरूले तीन महिने पर्यटन भिसामा विदेश लग्छन् ।’ उनले केही युवतीलाई दलाल आफैंले सीधै पर्यटन भिसामा दिल्ली एयरपोर्टबाटै विदेश पुर्‍याउने गरेको बताए ।बेचिएका अधिकांश महिला घर फर्किन सक्दैनन् । उनीहरू विदेशमा शारीरिक र मानसिक हिंसा भोग्न बाध्य छन् । चौधरीका अनुसार आर्थिक वर्ष ०७४/०७५ मा कैलालीबाट ९० महिला बेपत्ता भएका छन् ।

जसमध्ये माइती नेपालको पहलमा १० जनाको उद्धार गरिएको छ । यस वर्ष माइती नेपालले सीमाबाट जोखिममा परेका ५५ महिला र २७ बालबालिकाको उद्धार गरेको जनाएको छ ।

प्रकाशित : जेष्ठ ५, २०७५ १०:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?