१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

गाउँपालिका कार्यालय सदरमुकाममा

मोहन बुढाऐर

धनगढी — आफ्नै गाउँपालिकाको कार्यालय खोज्दै एक दिनको बाटो काटेर आएका पन्डौनका वीरबहादुर बुढामगर शुक्रबार दिनभर धनगढीमा भौतारिए । रिक्सा भाडा ५ सय खर्चेर बल्ल बेलुका ४ बजे गाउँपालिकाको कार्यालय फेला पारे । त्यतिन्जेल कार्यालय समय सकिएको थियो ।

गाउँपालिका कार्यालय सदरमुकाममा

कर्मचारीले कार्यालयका ढोका बन्द गरिसकेका थिए । कामका लागि बुढामगरले आइतबारसम्म पर्खिनुपर्ने भयो ।

चुरेको पहाडी क्षेत्रमा पर्ने कैलालीको मोहन्याल गाउँपालिकाको कार्यालय वर्ष दिनसम्म पनि प्रदेश राजधानी धनगढीमै छ । गाउँपालिका क्षेत्रबाट धनगढी ओहोरदोहोर गर्न कम्तीमा दुई दिन लाग्छ । त्यसैमा भनेको बेला काम नहुँदा त सेवाग्राहीका दिन झनै लम्बिन्छन् । खर्च व्ययभारसमेत ह्वात्तै बढ्छ ।

एउटा सिफारिसपत्र लिन पन्डौनबाट एक दिनको यात्रा गरेर धनगढी आएका वीरबहादुर पाँच दिन बस्नुपर्दा २ हजार रुपैयाँ खर्च थपिएको बताए । ‘संकटकालमा लुकेर सञ्चालन भएका साबिकका गाउँ विकास समितिको कार्यालय खोजे जस्तो गरी अहिले पनि गाउँपालिकाको कार्यालय खोजी गर्नुपरेको छ,’ उनले भने, ‘संघीयतामा सिहदरबार गाउँमा पुग्छ भन्थे, गफ मात्रै रहेछ । अहिलेसम्म गाउँपालिका र वडाका कार्यालय सम्बन्धित गाउँ केन्द्रमा स्थापना गरिएका छैनन् ।’ उनले वडा र पालिकाको कार्यालय खोज्नै जनताले सास्ती खेप्नुपरेको गुनासो सुनाए । कैलालीको साबिक पहाडी गाविस मोहन्याल, पन्डौन र सुगरखाल गाँभेर मोहन्याल गाउँपालिका बनेको हो ।

सुरुवातदेखि नै मोहन्याल गाउँपालिकाको अस्थायी कार्यालय धनगढीबाटै कामकाज चलिरहेको छ । १ देखि ५ वडा कार्यालयहरू कैलालीका घोडाघोडी नगरपालिकाको केन्द्र सुख्खडबाट चलाइएका छन् । ती पाँचवटै वडा कार्यालय एकजना सचिवको भरमा छन् । ६ र ७ वडा सम्बन्धित वडामै रहे पनि दुवै वडा एकजना प्राविधिक सहायकले चलाइरहेका छन् । गाउँपालिकाको कार्यालय धनगढीमा राखेर कार्यकारी प्रमुख गणेश ओझासहित ४ जनाले सञ्चालन गरेका छन् ।

हालसम्म गाउँपालिका र वडाका कार्यालय स्थापना गर्न नसकेका जनप्रतिनिधिप्रति जनताको गुनासो भने बढ्दै गएको छ । ‘वडामा वडा कार्यालय र गाउँपालिकाको केन्द्र वर्ष दिनसम्म स्थापना गर्न सकेका छैनन्,’ स्थानीय वीरबहादुर बुढाले भने, ‘चुनाव जितेकाहरूले भोट माग्ने बेला चुनावमा बोलेका, गरेका विकासे प्रतिबद्धता कसरी पूरा गर्लान् ?’ गाउँपालिकाका प्रमुख नवलसिंह रावलले भौगलिक विकटताका कारण कर्मचारी जान नमान्दा गाउँपािलकाको सदरमुकाम र वडा कार्यालयहरू खोल्न नसकेको बताए । ‘कर्मचारीको अटेरीले पालिका र वडाको कार्यालय खुल्न नसकेका हुन्,’ उनले भने, ‘कर्मचारीहरूले इमेल, इन्टरनेटलगायत अनेक प्राविधिक कठिनाइ देखाउँदै कार्यालय स्थापना गर्न सकिएको छैन ।’ उनले आफू धनगढीस्थित गाउँपालिका सम्पर्क कार्यालयमा नजाने गरेको बताए ।

स्थानीयहरू आफूलाई भेट्न लम्की आउने गरेको उनले बताए । गाउँपालिकाका प्रमुख रावलले आफनो सम्पर्क कार्यालय लम्की–चुहा नगरपालिकाको केन्द्र लम्कीमा रहेको बताए । इन्टरनेट सुविधा अभावका कारण गाउँपालिकामा तोकिएको केन्द्र स्थलमा कार्यालय खोल्न नसकिएको गाउँपालिकाका प्रशासकीय अधिकृत गणेश ओझाले स्वीकारे । सुरुमा खिमडीमा पालिकाको केन्द्र राख्ने निर्णय भएको थियो । ओझाले अहिले सुगरखालको फल्लेबिसौनामा गाउँपालिकाको कार्यालय स्थापना गर्ने तयारी भइरहेको बताए ।

गाउँपालिका प्रमुख रावलले कार्यालयको व्यवस्थापन गर्न नसक्दा एक वर्ष जनताको काम प्रभावकारी ढंगले गर्न नसकेको बताए । उनले कार्यालयको समस्याको कारण यो आर्थिक वर्षको योजना तथा कार्यक्रमहरू कार्यान्वयनमा समस्या भएको स्वीकारे । स्थानीय तहको निर्वाचन भएको वर्ष दिनसम्म कार्यालयहरूको व्यवस्थापन गर्न नसकेको कैलालीको अर्काे गाउँपालिका चुरे पनि हो ।

चुरे गाउँपालिका पनि अत्तरियाको एक होटलबाट सञ्चालित छ । गाउँपालिका पदाधिकारीहरूले अत्तरियामा रहेको मयूर होटलमा कोठा भाडामा लिएर गाउँपालिका कार्यालय सञ्चालन गरिरहेका छन् । वडा नं. १ घरखेडा गाउँपालिका केन्द्र तोकिएको भए पनि सुविधा नभएको र कर्मचारीले बस्न नमानेपछि कार्यालय ५० किलोमिटर दूरीमा रहेको अत्तरिया बजारको होटलबाट सञ्चालन भइरहेको छ ।पहाडी क्षेत्रका विकट गाउँबाट अत्तरिया पुग्न पूरै दिन लाग्ने गरेको छ । आधा दिन पैदल हिंडेर खैरालाबाट सेवाग्राहीले अत्तरिया पुग्नुपर्ने बाध्यता छ । चुरे र मोहन्याल दुवै गाउँपालिका राखिएको होटल र घरमा साइनबोर्डसमेत राखिएको छैन । निर्वाचनमा सिंहदरबार गाउँमै पुर्‍याउने भनेका जनप्रतिनिधि अहिले आफ्नो सुविधाका लागि जनतालाई सास्ती दिइरहेको चुरे गाउँपालिकाका स्थानीय लक्ष्मी आचार्यले आरोप लगाइन् ।

प्रकाशित : जेष्ठ ६, २०७५ ११:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?