१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

कांग्रेसले छान्यो दलको नेता

अर्जुन शाह

धनगढी — प्रदेशसभा गठन भएको चार महिनापछि प्रदेश नम्बर ७ मा प्रमुख प्रतिपक्षी दल कांग्रेसले संसदीय दलको नेता चयन गरेको छ ।

कांग्रेसले छान्यो दलको नेता

आइतबार प्रदेशसभा सदस्य डा. रणबहादुर रावललाई कांग्रेसले सर्वसम्मत रुपमा दलको नेता चयन गरेको हो ।


प्रत्यक्षतर्फ ४ जना सांसद जितेको कांग्रेसका समानुपातिक गरी प्रदेशसभामा १२ जना सांसद रहेका छन् । दलको नेताका लागि सुरुमा डा. रावलसहित सांसदहरु भरत खड्का, गोविन्द बोहरा, डिल्लीराज पन्त, देवराज पाठक र कर्ण मल्ल मुख्य आकांक्षी थिए ।

सुरुदेखि नै आकांक्षीहरु एकले अर्कोलाई छोड्न नमानेका कारण दलको नेता चयन हुन सकेको थिएन ।


डा. रावल कैलाली क्षेत्र नम्बर १ (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् । संसदीय दलको नेता चयन गर्न प्रदेश ७ मा कांग्रेस केन्द्रिय कार्यालयले केन्द्रिय सदस्य एनपी साउदलाई पठाएको थियो ।

साउदकै उपस्थितिमा आइतबार आयोजित बैठकले सर्वसम्मत रुपमा नेता चयन गरेको हो । अन्तिम समयसम्म आंकाक्षी रहेका मल्ल र खडकाले डा. रावललाई समर्थन गरेका हुन् ।


दलको नेता चयन भएपछि रावलले कांग्रेसले प्रदेशसभामा प्रभावकारी रुपमा रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताए । ५३ सदस्यीय प्रदेशसभामा कांग्रेसका १२ सांसद छन् । प्रदेशसभामा नेकपाका ३९ सांसद छन् । २ सांसद रहेको राजपाले अझै संसदीय दलको नेता चयन गरेको छैन ।

प्रकाशित : जेष्ठ ६, २०७५ १५:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?