३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

विद्यार्थीलाई झोला

डोटी — दिपायलका व्यापारी खगेन्द्र साउद ‘केबी’ ले आफ्नो आम्दानीको केही अंश नियमित रूपमा समाजसेवामा खर्चंदै आएका छन् । सामान्यबाट सुरु गरेको उनको व्यापार फस्टाउँदै गएको छ ।

विद्यार्थीलाई झोला

साउदले आइतबार विद्यालयमा झोला वितरण गरे । दिपायल सिलगढी नगरपालिकाको ३ स्थित भागेश्वर आधारभूत विद्यालयका १ सय २५ जनालाई नि:शुल्क विद्यालय झोला हस्तान्तरण गरेका छन् । १ सय २० विद्यार्थी र ५ शिक्षकलाई झोला हस्तान्तरण गरेका साउदले विभिन्न विद्यालयका ५ विद्यार्थीहरूको अभिभावकत्व समेत ग्रहण गरेका छन् ।

उनले सरस्वती मावि घाडीमा कक्षा ८ की असिना आउजी, कक्षा ४ का मालिका आधारभूत विद्यालय गोसेडाका श्यामबहादुर साउद, कक्षा २ का भागेश्वर आधारभूत विद्यालयमा पढ्ने रवीन्द्र साउद, कक्षा ९ की दिल्पेश्वर माविकी रञ्जना साउद र सोही विद्यालयकी कक्षा १० की सुधा माझीको अभिभावकत्व लिएका हुन् । ‘कक्षा १० सम्म लाग्ने उहाँहरूको शैक्षिक खर्च बेहोर्ने जिम्मेवारी उठाउने प्रयास गरेको छु,’ साउदले झोला हस्तान्तरण कार्यक्रममा भने, ‘शिक्षाबिना संसार अघि बढ्न सक्दैन, धेरै ठूलो काम गरे जस्तो लाग्दैन । सामान्य सहयोग गरेको हुँ ।’

साउदले दिपायल सिलगढी नगरपालिकाका ९ वटै वडामा रहेका विद्यालयमा अक्षयकोष स्थापना गर्ने अभियान समेत चलाएका छन् । उनले अहिलेसम्म एक/एक लाख रुपैयाँ बराबरका दुई विद्यालयमा अक्षयकोष स्थापना गरिसकेका छन् । डोटी बहुमुखी क्याम्पस र मगलेख मावि तिखामा गरिब, जेहेन्दार र विपन्न परिवारका विद्यार्थीको छात्रवृत्तिका लागि अक्षयकोष स्थापना गरेका हुन् । ‘प्रत्येक वर्ष दुई विद्यालयमा अक्षयकोष स्थापना गर्ने सोचमा छु,’ साउदले भने, ‘नगरपालिका सकेपछि सायल गाउँपालिकाका विद्यालयमा छात्रवृत्ति स्थापना गर्नेछु ।’

डोटीमा उनले विभिन्न सामाजिक क्षेत्रमा सहयोग गरेका छन् । नियमित रूपमा उनले कठ्यांग्रिँदो जाडोमा वृद्धवृद्धा, एकल महिला, अपांग, असहायलाई न्यानो लुगा वितरण गरेर सम्मान गर्ने गरेका छन् । नगरपालिकाभित्रका मात्रै डेढ हजार जनालाई न्यानो लुगा वितरण गरिसकेका छन् ।

दिपायलको सेती किनारमा पर्यटकीय प्रतीक्षालय, पिपल्लाबजारमा डस्टबिन निर्माण, वृक्षरोपण लगायतका काम उनले गरेका छन् । सार्वजनिक कार्यालय तथा स्थानहरूमा डिजिटल घडी तथा टेम्प्रेचर यन्त्र उनले राखिदिएका छन् ।

साउद दिपायल पिपल्ला बजारमा ‘केबी’ नामबाट इलेक्ट्रोनिक्स, स्टिल तथा फर्निचरको व्यापार गर्दै आएका छन् । बिग्रिएका रेडियोको मर्मत सुधारको कामबाट व्यापार सुरु गरेका साउदको छोटो समयमै व्यापार फस्टाएको छ । ‘आम्दानीमध्येबाट केही अंश समाजसेवामा लगाउने सोच बनाएको छु,’ साउदले भने, ‘समाज परिवर्तनका लागि सरकार एक्लोले केही गर्न सक्दैन, निजी क्षेत्रबाट पनि सक्दो सहयोग हुनु आवश्यक छ ।’ विभिन्न सामाजिक कार्यमा लगानी गर्ने उनी डोटीका पहिलो व्यक्ति हुन् ।

प्रकाशित : जेष्ठ ७, २०७५ ११:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?