भ्याक्सिन बिग्रियो

६ दिनदेखि विद्युत् अवरुद्ध
मोहन शाही

डोटी — विद्युत् कार्यालयको चरम लापरबाहीका कारण डोटीको स्वास्थ्यचौकीमा राखिएका भ्याक्सिन बिग्रिएका छन् । ६ दिनदेखि लगातार विद्युत् अवरुद्ध हुँदा पनि कार्यालयले चासो नराख्दा खोपका भ्याक्सिन काम नलाग्ने हुन पुगेका हुन् ।

भ्याक्सिन बिग्रियो

डोटीको शिखर नगरपालिका–९ मा रहेको दान्कोट स्वास्थ्य चौकीमा भण्डारण गरिराखिएको बालबालिकालाई दिइने खोपका भ्याक्सिन बिग्रिएका छन् । मंगलबारदेखि अवरुद्ध विद्युत्आइतबार दिउँसोमात्र सुचारु भएको छ । लाटामाडौं, बनलेक र बारपाटा स्वास्थ्य चौकीमा समेत वितरण गर्नुपर्ने विभिन्न खोपका भ्याक्सिनहरू काम नलाग्ने भएको दान्कोट स्वास्थ्य चौकीका इन्चार्ज वीरबहादुर कँुवरले जानकारी दिए । ‘खोप भण्डारण गर्ने फ्रिज दानकोट स्वास्थ्य चौकीमा मात्रै छ, यतैबाट अन्यत्र पठाउछौं,’ कुँवरले भने, ‘नियमित तापक्रम मिलाएर राख्नुपर्ने भ्याक्सिनहरू लामो दिनदेखि विद्युत् नहुँदा खराब भएका छन् ।’

दानकोट स्वास्थ्यचौकीले खराब भएका खोप, भ्याक्सिनहरू जिल्लामा फिर्ता पठाउने तयारी गरेको छ । ‘खराब भएका खोप कसरी लगाउने, त्यत्रो जोखिम मोल्न सकिन्न । जिल्लाबाट नयाँ खोप मगाउन पहल भइसकेको छ ।’ खोपका लागि बर्थिङ सेन्टरका सामान निर्मलीकरण गर्न नपाउँदा प्रसूति सेवा समेत प्रभावित भएको स्वास्थ्यकर्मीहरूले बताएका छन् ।

विद्युत् आपूर्तिबारे जानकारी राख्न पटकपटक सम्बन्धित ठाउँमा जानकारी गराउँदा पनि सुनुवाइ नभएको स्वास्थ्यकर्मीको गुनासो छ । जिल्ला प्रशासन कार्यालय डोटीमा गुनासो सुन्ने अधिकारीसँग पनि समस्या राख्दा सुनुवाइ नगरिएको उनीहरूको आरोप छ । जिल्ला प्रशासनले विद्युत्का कर्मचारीको फोन नम्बर दिएर जिम्मेवारीबाट पन्छिएको स्वास्थ्यकर्मीले बताए ।

‘प्रशासनले दिएको नम्बरमा फोन गर्दा उल्टै हप्काउने पाराले उत्तर आयो,’ दानकोट स्वास्थ्यचौकी इन्चार्ज कुँवरले भने, ‘पछि आज शुक्रबार बत्ती आउँछ ल राख्नुस भने । बेलुका बत्ति त आयो तर बिहानैबाट फेरी अवरुद्ध भयो ।’

विश्व स्वास्थ्य संगठनले सिफारिस गरेका विशेष प्रकारका फ्रिजहरू सीमित स्वास्थ्यसंस्थाबाट खोप वितरण हुने गरी बाल महाशाखाले उपलब्ध गराएको छ । ‘प्लस २ देखि ८ डिग्री सेल्सियससम्म तापक्रम मिलाएर खोपहरू राख्नुपर्छ,’ कुँवरले भने, ‘कुनै कुनै माइनस तापक्रममा राखिराख्नु पर्छ । सामान्य फ्रिजहरूमा पनि राख्न मिल्दैन ।’ सरकारले उपलब्ध गराएका महँगा खोपका भ्याक्सिनहरू विद्युत्को लापरबाहीका कारण खेर गएको कुँवरले जानकारी दिए ।

विद्युत् कार्यालय दिपायल प्रमुख बोधनारायण झा भने विद्युत् नभएको भन्ने जानकारी झूटो भएको बताउँछन् । ‘एकछिन् बत्ति अवरुद्ध भयो भने हप्तौं बन्द भयो भन्ने चलन छ, बत्ती कतै अवरुद्ध भएको छैन’ उनले भने । मंगलवार ट्रान्सर्फमर जलेका कारण बिद्युत अवरुद्ध भएको र शुक्रबार अछामबाट नयाँ ट्रान्सर्फमर ल्याई जडान गरेपछि त्यस क्षेत्रमा विद्युत् सेवा सुचारु भएको उनको दाबी छ । ‘हामीले अस्ति नै जोडेर आएका हौं, लाइन सुचारु छ,’ कार्यालय प्रमुख झा भने, ‘यदि विद्युत् नभएको भए पनि तपाईंलाई फोन गर्नुको सट्टा मलाई किन भनेनन् स्थानीयले ?’

प्रकाशित : जेष्ठ ७, २०७५ ११:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?