सीमामा संयुक्त गस्ती गर्दै

भवानी भट्ट

कञ्चनपुर — नेपाल–भारत सीमा क्षेत्रमा वन्यजन्तु संरक्षणका लागि दुवैतर्फका वनकर्मीले संयुक्त रूपमा काम गर्ने भएका छन् ।

सीमामा संयुक्त गस्ती गर्दै

उनीहरूले चोरी सिकारी नियन्त्रणका लागि सामाजिक सञ्जालको प्रयोगबाट सूचना आदानप्रदान र सीमामा संयुक्त गस्ती गर्ने योजना अघि सारेका हुन् ।

गत साता भारत उत्तराखण्डको हल्द्वानीमा भएको संयुक्त बैठकमा यस्तो सहमति भएको हो । सीमा क्षेत्रका निकुञ्ज र वन कार्यालयका कर्मचारीहरूबीच नियमित सम्पर्क र सूचना आदानप्रदानका लागि ‘वाट्स एप’ प्रयोग गरिने बैठकमा सहभागी राष्ट्रिय प्रकृति संरक्षण कोष शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यक्रमका प्रमुख अनिल प्रसाईंले बताए । वन्यजन्तु ओहोरदोहोर भएमा वा चोरी सिकारीका सूचना यही माध्यमबाट आदानप्रदान गरिनेछ । उनका अनुसार वन्यजन्तु तस्करी नियन्त्रणका लागि सूचना र दुवैतर्फ संरक्षणका लागि अपनाइने तरिका पनि आदानप्रदान गर्ने सहमति भएको हो ।

बैठकमा नेपालका तर्फबाट बाँके, बर्दिया, कैलाली र कञ्चनपुरका वन कार्यालयका अधिकारीसँगै उक्त क्षेत्रमा रहेका निकुञ्जका प्रमुख संरक्षण अधिकृतहरू, राष्ट्रिय प्रकृति संरक्षण कोषका, विश्व वन्यजन्तु कोष नेपाल र जेडएसएल नेपालका कर्मचारीहरू तथा मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका पदाधिकारी सहभागी थिए । भारतका तर्फबाट पनि कुमाउँ र गढवाल क्षेत्रका वन कार्यालय, राष्ट्रिय निकुञ्ज र आरक्ष तथा एसएसबीका अधिकारीहरू सहभागी थिए । ‘अबदेखि नियमित सम्पर्कमा रहने गरी एउटा समूह बनाएर सोसियल मिडियाको प्रयोग गरिनेछ,’ कोषका प्रमुख प्रसाईंले भने, ‘दुई/तीन महिनामा एक पटक बैठक बस्ने सहमति भएको छ ।’ उनका अनुसार अर्काे बैठक दुई महिनापछि चितवनमा बस्नेछ ।

‘दुवै तर्फका मुद्दा र सीमामा हुने चोरी सिकारी नियन्त्रणका विषयमा छलफल सँगै योजना कार्यान्वयनमा जाने सहमति भएको छ,’ बैठकमा सहभागी शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत गोपाल घिमिरेले भने, ‘१५/१५ दिनमा नियमित संयुक्त गस्ती पनि गरिनेछ ।’ स्थानीय स्तरमा भएको संयुक्त बैठकलाई पनि निरन्तरता दिइने उनले जानकारी दिए ।

यसका साथै वन्यजन्तुको करिडोर व्यवस्थापनका विषयमा पनि छलफल भएको निमित्त प्रमुख संरक्षण अधिकृत घिमिरेले बताए । खासगरी हात्तीको परम्परागत करिडोरको रूपमा चिनिएको ब्रह्मदेव र लालझाडीको व्यवस्थापनका लागि आवश्यक पहल गर्ने सहमति भएको उनले जानकारी दिए । ‘यी र अन्य करिडोरका विषयमा दुवैतर्फबाट अध्ययन गरिनेछ,’ उनले भने ।

बौठकसँगै दुवैतर्फका अधिकारीले संयुक्त रूपमा हल्द्वानी क्षेत्रमा पर्ने नन्धौर वन्यजन्तु आरक्ष र जिम कर्बेट राष्ट्रिय निकुञ्जको भ्रमण गरेका थिए । उक्त क्षेत्रका गरिने गस्ती र संरक्षणका कार्यक्रमबारे आवश्यक जानकारी पनि प्राप्त भएको कोषका प्रमुख प्रसाईंले बताए ।

नेपालमा बैठक भएका बेला भारतीय अधिकारीलाई पनि यहाँको निकुञ्ज तथा वन क्षेत्रमा भ्रमण गराएर नयांँ तरिकाबारे जानकारी आदानप्रदान गरिने उनले बताए ।

प्रकाशित : जेष्ठ ८, २०७५ १०:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?