१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

‘जडीबुटी उपयोगबाट समृद्धि’

कञ्चनपुर — प्रदेश ७ को समृद्धिका लागि यस क्षेत्रको जलस्रोत र जडीबुटीको प्रयोगमा विशेष ध्यान दिने वैज्ञानिकहरूले औंल्याएका छन् । देशकै सबैभन्दा बढी जलविद्युत् र वनस्पतिको सम्भावना भए पनि अहिलेसम्म उपयोग हुन नसकेका कारण यो क्षेत्र पछाडि परेको उनीहरूको निष्कर्ष छ ।

‘जडीबुटी उपयोगबाट समृद्धि’

सोमबारदेखि नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) को आयोजनामा महेन्द्रनगरमा सुरु भएको विज्ञान तथा प्रविधि सम्मेलनमा सहभागी वैज्ञानिकहरूले कार्यपत्र प्रस्तुत गर्दै यस क्षेत्रका जलविद्युत् र जडीबुटीको उपयोगमा जोड दिएका हुन् । ‘प्रदेश ७ मा मात्रै मुलुकको कुल ऊर्जाको १३ प्रतिशत ऊर्जाको सम्भावना छ,’ नास्टका उपकुलपति डा. जीवराज पोखरेलले भने, ‘तर अहिलेसम्म १ प्रतिशत पनि उत्पादन भएको छैन, वैज्ञानिकहरूले यसको उत्पादनमा जोड दिएका छन् ।’


उपकुलपति पोखरलले प्रदेश ७ लाई नवीकरणीय ऊर्जा प्रदेश बनाउन समेत वैज्ञानिकहरूले प्रस्ताव गरेको जनाए । जलविद्युत्सँगै सौर्य र वायु ऊर्जाको सम्भावना प्रबल भएका कारण स्थानीय र प्रदेश सरकारले विशेष जोड दिनुपर्ने उनले बताए । अहिले व्यापक चर्चामा रहेको पश्चिम सेती र पञ्चेश्वर परियोजनासँगै थुप्रै स–साना खालका योजनाहरूबाट पनि ठूलो मात्रामा ऊर्जा उत्पादन गर्न सकिने वैज्ञानिकहरूले प्रस्तुति गरेका छन् ।


कुल गार्हस्थ उत्पादनमा वनस्पतिको योगदान १५ प्रतिशत छ । त्यसमा पनि ५ प्रतिशत जडीबुटीको योगदान रहेको छ । प्रदेश ७ मा पनि जडीबुटीको उत्पादन र उपयोगको प्रचुर सम्भावना भएकाले समृद्धिको प्रमुख आधारसमेत बन्न सक्ने वैज्ञानिकहरू बताउँछन् । खासगरी हिमाली क्षेत्रमा संकलन हुने यार्सालगायत विभिन्न प्रजातिका जडीबुटी कच्चा पदार्थका रूपमा निर्यात भइरहेकाले प्रशोधन गरेर निर्यात गर्न सके ठूलो आम्दानी हुने वैज्ञनिकहरूले आफ्नो कार्यपत्रमा उल्लेख गरेका छन् । ‘हिमाली भेगको जडीबुटीलाई प्रवद्र्धन गर्न सके प्रदेशको समृद्धिमा ठूलो सहयोग पुग्छ,’ सम्मेलनमा जडीबुटीका विषयमा कार्यपत्र प्रस्तुत गरेका नास्टका वरिष्ठ वैज्ञानिक अधिकृत जयकान्त रावतले भने, ‘उक्त क्षेत्रका जनतालाई जडीबुटीबाट नै सम्पन्न बनाउन सकिन्छ ।’ रावतको टोलीले २ वर्षदेखि दार्चुलामा पाइने च्याउ प्रजातिको जडीबुटी यार्सा, रातो च्याउ र गुच्छी च्याउका विषयमा अध्ययन अनुसन्धान गरिरहेको छ ।


उनका अनुसार राष्ट्रिय तथ्यांकअनुसार सबैभन्दा बढी यार्सा संकलन हुनेमा दार्चुला डोल्पा पछि दोस्रो जिल्लामा पर्छ । जिल्लामा संकलन हुने राजस्वको ८० प्रतिशत यार्साबाटै संकलन हुने गरेको छ ।

प्रकाशित : जेष्ठ ९, २०७५ ११:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?