२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

‘बरु विकास चाहिँदैन, रक्सी बन्द गर्दिनुस्’

पीडित महिलाको आग्रह
दिनभरि मजदुरी गरेको पैसा श्रीमान्ले रक्सी खाएर सके
गाउँको अशान्तिको कारण नै मदिरा
वसन्तप्रताप सिंह

बझाङ — ‘रातदिन रक्सी खाएर छोराछोरीलाई कुट्छन् । मलाई त मार्नै आँटिसके । हाड छाला मात्र बाँकी छ । रक्सीले गर्दा शान्तिसँग बाँच्न पनि पाएका छैनौं । हामीलाई बरु विकास केही चाहिँदैन सर । रक्सी बन्द गर्दिनुस्’ बुंगल नगरपालिका ५ दमाउनेकी मन्धरी विकले जिल्ला समन्वय ध्ध्धसमितिका संयोजक खड्गबहादुर खड्कासँग हात जोड्दै भनिन्, ‘कतै भागेर जाऊँ भने केटाकेटीको माया लाग्छ । घरमा श्रीमान्ले बसी खान दिँदैनन् ।’

‘बरु विकास चाहिँदैन, रक्सी बन्द गर्दिनुस्’

मन्धरीका ५ सन्तान छन् । श्रीमान् मातेर आउँदा केटाकेटीलाई लुकाउन हम्मे हुने गरेको बताउँदै उनले भनिन्, ‘श्रीमान् आएको थाहा पाउने बित्तिकै खान थालेको खाना पनि छोडेर केटाकेटीसहित भागाभाग गर्नुपर्छ । ऊ सुतिसकेपछि मात्र घरभित्र पस्छौं ।’


स्थानीयको समस्या र नगरपालिकाले गरेको विकास निर्माणको विषयमा बुझ्न बुंगल पुगेको जिल्ला समन्वय समिति प्रमुख लगायतका जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी र पत्रकारहरूको टोलीलाई यहाँका महिलाहरूले मदिराका कारण आफुहरूलाई निकै समस्या भएको पीडा सुनाउँदै रक्सी बन्द गर्न पहल गरिदिन अनुरोध गरे । जिसस प्रमुख र प्रमुख जिल्ला अधिकारीले स्थानीय जनप्रतिनिधिसँग यस विषयमा कुरा गर्ने बताए ।


‘रोड नभए हिँडौंला, पानी लिन आधा घण्टा टाढा जानुपर्छ । समस्या त धेरै छन्’ बुंगलकै बोगटी गाउँकी भागादेवी नाथले भनिन्, ‘अरू कुरामा भएको दु:ख सहन तयार छौं । रक्सीका कारणले घरभित्र आनन्दले बस्न खान पाइएको छैन । सबैभन्दा पहिला रक्सी बन्द गर्दिनुपर्‍यो ।’ आफूले मजदुरी गरेर कमाएको पैसा खोसेर श्रीमान्ले रक्सी खाइदिने गरेको पीडा पोख्दै उनले भनिन्, ‘नगद त नगदै थियो, खाना पकाउने भाँडाकुँडा समेत बेचेर रक्सी खान थाले । बाख्रा, कुखुरा कति थिए । सबै रक्सी खाएरै सकाए ।’


दमाउने र बोगटी गाउँमा मात्रै बुंगल नगरपालिका भरिका महिलाहरूले रक्सीका कारण धेरै महिला र बालबालिकाको बिचल्ली भएको, धेरै घरबारविहीन भएको र २ दिनको अवधिमा २ जनाले ज्यान समेत गुमाएको बताए । यही जेठ २ मा वडा नं. ३ खिरातडीकी २२ वर्षीया रञ्जना बोहराको शव स्थानीय कालंगा नदीमा डुबेको अवस्थामा फेला परेको थियो । जेठ ३ गते वडा नं ९ मा पर्ने देउलीकोट की २८ वर्षिया प्रमादेवी ओखेडाको शव घरभन्दा ५ सय मिटर पर झुन्डिएको अवस्थामा फेला परेको थियो । दुवै घटनालाई आत्महत्या जस्तो देखाउन खोजिए पनि शंकास्पद कुराहरू फेला परेकाले ज्यान मुद्दाअन्तर्गत मुद्दा चलाउने तयारी गरिएको प्रहरीले जनाएको छ । यहाँका स्थानीयहरू भने यी दुवै घटना हत्या भएको र घटनामा यौन र मदिरा जोडिएको बताउँछन् ।

बुंगल नगरपालिका ५ की स्वयंसेविका लक्ष्मी नाथ भन्छिन्, ‘ज्यानै हान्न थालिसके । रक्सीका कारण कोही पनि सुरक्षित छैन । महिलाहरू एक्लैदुक्लै हिँड्न नसक्ने अवस्था छ ।’ यहाँका स्थानीय महिलाहरूले मदिरा नियन्त्रणका लागि प्रयास नगरेका पनि होइनन् । तर उनीहरूले कुनै पनि पुरुषको साथ पाएनन् । समाज सुधार नागरिक सचेतना केन्द्रकी सहजकर्ता पुष्पा भारतीले भनिन्, ‘शिक्षक, स्वास्थ्यकर्मी, जनप्रतिनिधि र जान्ने बुझ्ने भनाउँदाहरू सबै रक्सीमै भुलेका छन् । हामीलाई कसैले साथ दिएनन् ।’


मदिराका कारणले महिला र बालबालिकाले शारिरिक, मानसिक, आर्थिक र सामाजिक रूपमा यातना पाइरहेको नगरपालिकाकी उपप्रमुख मीना जाग्रीको भनाइ छ । नगरपालिकाले मदिरा बन्द गर्ने प्रयास गरे पनि सफल नभएको भन्दै उनले भनिन्, ‘दिनभर रक्सी खाने, साँझ परेपछि स्वास्नी र केटाकेटीलाई यातना दिने घटना बढ्दै गएका छन् । नगरपालिकाकाले मदिरा बन्द गर्ने निर्णय गरेको भए पनि कार्यान्वयन हुन सकिरहेको छैन ।’


उनले लाइसेन्स भएका मदिरा वितरकले एक ठाउँका लागि अनुमति लिएर धेरै गाउँमा मदिरा बिक्री गरेको भए पनि आफूहरूले नियन्त्रण गर्न नसकेको बताइन् । सबैको सहयोग नभएका कारण नगरपालिकामा मदिरा नियन्त्रण गर्न नसकिएको र हिंसाका घटना बढ्दै गएकोप्रति उनले चिन्ता जाहेर गरिन् ।

प्रकाशित : जेष्ठ ९, २०७५ ११:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?