१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८४

अंग्रेजीले सामुदायिकमा विद्यार्थी आकर्षित

मोहन बुढाऐर

धनगढी — कैलालीका केही सामुदायिक विद्यालयले विद्यार्थी आकर्षित गर्न अंग्रेजी माध्यमद्वारा अध्ययन–अध्यापन सुुरु गरेका छन् ।

अंग्रेजीले सामुदायिकमा विद्यार्थी आकर्षित

अभिभावक तथा बालबालिकामा बोर्डिङ स्कुलको आकर्षण बढ्न थालेपछि सामुदायिक विद्यालयले अंग्रेजी माध्यमद्वारा पढाइ सुरु गरेका हुन् ।

‘अंग्रेजी भाषा र विद्यालय पोसाकमा अभिभावक तथा विद्यार्थीहरूको आकर्षण देखियो,’ शारदा माध्यमिक विद्यालयका प्रधानाध्यापक तेजबहादुर सिंहले भने, ‘विद्यार्थी संख्या बढाउन हामीले पनि निजी बोर्डिङसरह शैक्षिक वतावरण दिन बाध्य भएका छौं ।’ उनले यो शैक्षिक–सत्रबाट पूर्वप्राथमिक तहका नर्सरी र यूकेजी कक्षा सञ्चालन गरेको बताए ।

प्रअ सिंहका अनुसार निजी विद्यालय जस्तै आफ्नो विद्यालयले शैक्षिक वातावरण सुधार्नुपरेको हो । विद्यार्थीलाई हप्तामा दुईवटा ड्रेस अनिवार्य गरिएको छ । ‘मंगलबार र शुक्रबार टि–सर्ट र ट्राउजर गरेका छौं,’ उनले भने, ‘अन्य बार सर्ट र पाइन्टमा टाई भएको ड्रेस छ ।’ विद्यार्थी संख्या घटिरहेको अवस्थामा विद्यालयलाई निजी विद्यालयसरह अंग्रेजी माध्यमको पाठ्यक्रम लागू गर्दा भर्ना संख्या बढेको उनले बताए । ‘गएको शैक्षिक–सत्रमा कक्षा १ मा १३ जना मात्रै विद्यार्थी थिए,’ प्रधानाध्यापक सिंहले भने, ‘अहिले नर्सरीमा ४२ र यूकेजीमा १२ जना विद्यार्थी भर्ना भएका छन्,’ पूर्वप्राथमिक तहमा मात्रै होइन, माध्यमिक तहका कक्षामा समेत विद्यार्थी भर्ना संख्या बढेको छ ।’ उनका अनुसार यस शैक्षिक सत्रमा २ सय ५० विद्यार्थी नयाँ भर्ना भएका छन् । जसमध्ये कक्षा ६ मा बोर्डिग स्कुल छोडेर आउने विद्यार्थीहरूका लागि छुट्टै ‘सेक्सन’ रहेको उनले बताए ।

‘बोर्डिङ स्कुलबाट भर्ना हुन आएका कक्षा ६ मा १० जना विद्यार्थीहरू पुगे,’ प्रअ सिंहले भने, ‘उनीहरूलाई अंग्रेजी भाषामै अध्यापन गराउन छुट्टै सेक्सन खोलेका छौं । बोर्डिङ स्कुलप्रति आकर्षण भएका अभिभावक र विद्यार्थीलाई आफूतिर तान्नु हाम्रो ध्येय हो,’ उनले भने, ‘त्यसैले बोर्डिङ स्कुलभन्दा उत्कृष्ट शिक्षा प्रदान गर्ने कसरतमा छौं ।’ उनले अझै विद्यालयको व्यवस्थापन, अनुशासन र शैक्षिक गुणस्तरमा सुधार गर्न बाँकी रहेको बताए ।

विद्यार्थीहरूको संख्या बढाउन र भएकालाई जोगाउन कैलालीको पुरानो सरकारी विद्यालय पञ्चोदय माविले पनि यस वर्षदेखि अंग्रेजी माध्यमबाट पढाइ सुरु गरेको छ । विद्यालयले जनक शिक्षा सामग्रीद्वारा नेपाली भाषाका माध्यमिक तहका पाठ्यपुस्तक तयार गरी अंग्रेजी माध्यमबाट अध्यापन गराइरहेको प्रधानाध्यापक पदमसिंह कुँवरले बताए । ‘विद्यार्थी र अभिभावकको रुचिअनुसार विद्यालयले आफूलाई रूपान्तरण गर्न आवश्यक छ,’ उनले भने, ‘अंग्रेजी शिक्षाको मोहले विद्यार्थीहरू निजी विद्यालयतर्फ आकर्षित भएका हुन् ।’ उनले सरकारी विद्यालयले समेत आफूलाई अंग्रेजी भाषिक बनाएपछि अंग्रेजी शिक्षा पाउन चर्काे शुल्क तिरेर बोर्डिङ स्कुल भर्ना हुनुपर्ने बाध्यता अन्त्य हुने बताए ।

जिल्ला शिक्षा अधिकारी गणेशबहादुर सिंहले विद्यार्थी पाउन, विद्यार्थी र अभिभावकले खोजेको जस्तो शैक्षिक वातावरण सामुदायिक विद्यालयले दिन आवश्यक भइसकेको बताए । ‘शैक्षिक–सत्रदेखि त्रिभुवन बस्ती, बोराडाडी र धनगढी माविमा पनि अंग्रेजी माध्यमबाट पढाइ सुरु भइसकेको छ,’ जिशिअ सिंहले भने ।

सुदूरपश्चिम एकेडमीका प्रधानाध्यापक रामबहादुर बुढाऐरले मध्यमवर्गीय परिवारका विद्यार्थीहरूको रोजाइ निजी विद्यालय बन्नुको कारण अंग्रेजी भाषामा शिक्षा र हाइफाई हो । उनले अभिभावकलाई आफ्ना बालबालिकाको घाँटीमा टाई र बोलीमा अंग्रेजी मिसिएको शब्द मनपर्न थालेकाले सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या घटिरहेको बताए । उनले सामुदायिक बिद्यालयले परम्परागत ढर्राको पढाइबाट विद्यार्थी अभावको चुनौती सामना गर्न नसक्ने बताए । उनले भने, ‘समय अनुसारको आधुनिक सीप कला र विधिबाट अध्यापन गराउने नीति सरकारी विद्यालयले अवलम्बन गर्नैपर्छ ।’

प्रकाशित : जेष्ठ १०, २०७५ ११:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?