कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

गोदाममा मल, किसान चर्को मूल्यमा किन्दै

कृषि सामग्री संस्थानले सहकारी मार्फत बिक्री गर्ने मल सहजरूपमा पाउन नसकेको गुनासो कृषकले गरेका हुन्
डीआर पन्त

धनगढी — सरकारी अनुदानको मल बिक्री–वितरण गर्ने कृषि सामग्री संस्थानका गोदाम मलले भरिभराउ छन् । तर कृषकले भने धानको बीउ छर्ने समय सुरु भइसक्दा पनि सहज रूपमा मल पाउन सकेका छैनन् ।

गोदाममा मल, किसान चर्को मूल्यमा किन्दै

कृषि सामग्री संस्थानले सहकारीमार्फत बिक्री गर्ने मल कृषकले सहज रूपमा पाउन नसकेको गुनासो कृषकले गरेका हुन् । सरकारले ५७ प्रतिशत भन्दा बढी अनुदान दिने गरेको मल कृषकले भने चर्को मूल्यमा खरिद गर्नुपरेको बताएका छन् । कृषि सामग्री संस्थानले कैलालीका १३ वटा स्थानीयतहमा २ सय २६ वटा सहकारी मार्फत कृषकलाइ आवश्यक मल बिक्री–वितरण गरिरहेको छ । सहकारी संस्थाहरूले किसानलाइ सहज हुने गरि विक्री बितरण गर्नुपर्नेमा मुनाफा खाने उद्देश्यले मल बितरण गर्दा कृषकले सास्ती भोग्नुपरेको हो ।

‘कृषि सामग्रीले तोके भन्दा निकै चर्को मूल्यमा सहकारीले मुनाफा लिएर मल वितरण गर्ने गरेका छन’ गोदावरी नगरपालिका ४ का कृषक दिनेश रानाले भने, ‘८ सय २६ रुपैयाँ प्रतिब्याग (५० केजी) मा सहकारीले बिक्री गर्नुपर्ने मल प्रतिब्याग १ हजारभन्दा बढी तिरेर पनि पाउन मुस्किल हुने गरेको छ ।’ कुनै कुनै सहकारीले ८ सय २६ मा विक्री गर्नुपर्ने मल १२ सय सम्म लिने गरेको पनि कृषकले गुनासो गरेका छन् ।

कैलाली प्रतापपुरका कृषक नारायण जोशी भन्छन, ‘ब्यबस्थापन खर्चका लागि २० प्रतिशत मूल्य वृद्धि गर्न पाउने नियमलाई टेकेर सहकारीले कृक्रिम अभाव सृजना गरी चर्को मूल्यमा मल बिक्री गरिरहेको छ ।’ कृषि सामग्री संस्थानले युरियाप्रति क्विन्टल १ हजार ६५२, डीएपी प्रतिक्विन्टल ४ हजार ७५२ र पोटास प्रतिक्विन्टल ३ हजार ३५२ मा सहकारी संस्थाहरूलाई बिक्री गर्ने गरेको छ । प्रतिक्विन्टलमा २५ रुपैयाँ संस्थानले सहकारीलाई छुट समेत दिने गरेको छ । सहकारी संस्थाहरूले भने तोकेको मूल्यमा २० प्रतिशतभन्दा बढी बृद्धि गरी बिक्री गरिरहेका छन् । धनगढी उप–महानगरपालिका देवरियाका नरेश राना भन्छन्, ‘सहकारीले चर्को मूल्यमा मल बिक्री गर्न अभाव सृजना गर्ने गरेका छन् ।’

‘कृषि सामग्री संस्थानले तोकेभन्दा बढी मूल्यमा मल बिक्री गरिरहेको अनुगमनका क्रममा भेटिएको छ’ संस्थानका वरिष्ठ सहायक रुपबहादुर कुंँवरले भने ‘स्थानीयतहवाट बिक्री गरेको मूल्य प्रमाणित गरेर ल्याउनुपर्ने नियम लागू गरेपछि केही सहज भएको छ ।’ जिल्लाको प्रतापपुर, गौरीगंगा, नारायणपुर, देवरिया र मनहरा लगायतका क्षेत्रमा चर्को मूल्य लिएर मल बिक्री गरिरहेको गुनासो समेत आएको वरिष्ठ सहायक कुंँवरले जानकारी दिए ।

विगत वर्षमा हुने मलको हाहाकार यस पटक नभएको कृषि सामग्री संस्थानले जानकारी दिएको छ । सामग्रीसँग यस वर्ष आवश्यक मलमध्ये युरिया, डीएपी र पोटास पर्याप्त मौज्दात रहेको छ । कैलालीमा २५ सय मेट्रिकटन डीएपी, ४ हजार मेट्रिक टन युरिया र २ सय ४३ टन पोटास आवश्यक रहेको संस्थानले जनाएको छ । संस्थानका वरिष्ठ सहायक कुँवरका अनुसार आवश्यकमध्ये डीएपी ४ सय मेट्रिक टन गोदाममा मौज्दात छ । पोटास पनि २ सय मेट्रिक टन मौज्दात छ । युरिया भने २ हजार मेट्रिक टन वितरण भइसकेको र थप ४ हजार मेट्रिक टन आवश्यक रहेको कुँवरले जानकारी दिए । ‘गत वर्ष मलको अभाव भएकाले कृषकहरूले समयभन्दा अगावै मल किनेर राख्ने गरेका छन्,’ कुँवरले भने, ‘सहकारी संस्थाहरूले व्यवस्थित रूपमा मल बिक्री–वितरण गरे भने अभाव हुन सक्दैन ।’

सहकारी संस्थाहरूले चर्को मूल्यमा मल बिक्री गरिरहेको प्रति संस्थानले अनुगमन सुरु गरेको पनि उनले जानकारी दिए । सम्बन्धित स्थानीय तहबाट बिक्री मूल्य प्रमाणित गरेर ल्याए मात्र धरौटी फिर्ता हुने व्यवस्था संस्थानले गरेको पनि उनले जानकारी दिए ।

प्रकाशित : जेष्ठ ११, २०७५ ११:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?