२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

कारागार सुधार्दै कैदीबन्दी

मोहन शाही

डोटी — कैदी–बन्दीप्रति समाजको धारणा सकारात्मक हुँदैन । उनीहरूको अनुशासन, इमानदारी र नैतिकताजस्ता व्यवहारमा शंका गर्ने चलन छ । डोटी जिल्ला कारागारका कैदी भने फरक छन् । उनीहरू लामो समयदेखि कारागारभित्र अनुशासन र इमानदारी हुनुपर्ने माग गर्दै उठाउँदै आएका छन् ।

कारागार सुधार्दै कैदीबन्दी

कारागारभित्र कैदीलाई गरिने ब्यवहार र प्रशासनको ‘भ्रष्ट चरित्रमा’ सुधार आउनुपर्ने उनीहरूको माग छ । कैदीका नाइके दिपेन्द्र जेठारा कारागारभित्रको वातावरणले कैदीहरूलाई सकारात्मकभन्दा नकारात्मक सोचतर्फ ढल्न बाध्य परिरहेको गुनासो गर्छन् ।

‘कारागार प्रशासनबाटै कैदीहरूप्रति हेर्ने दृष्टिकोणमा सुधार आउन जरुरी छ,’ उनले भने, ‘त्यसपछि सजाय भुक्तानपछि समाजमा पुन:स्थापित हुने सहज वातावरण बनाउनुपर्छ ।’ कारागारभित्रका साँघुरा कोठाहरू, दुर्गन्धित शौचालय, फोहोर भान्साले सास्ती भएको उनीहरूको गुनासो छ । खुला वातावरण, खेलकुदका सामग्री, ब्यायाम गर्ने साधनहरू नहुँदा स्वस्थ हुनुको साटो हरेक दिन रोगसंग लड्नुपरेको उनीहरूको दुखेसो छ ।

‘आवश्यक मानवीय ब्यवहार पनि हुँदैन कारागारभित्र,’ जबरजस्ती करणी मुद्दामा सजाय भोगिरहेका दिपायल सिलगढी नगरपालिकाका भुवनसिंह दमाई भन्छन्, ‘अवहेलना गरिएका कारण आत्मग्लानिले हामी मरे सरह हुन्छौं, हाम्रो मात्र चरित्र सफा हुनुपर्छ भन्ने कल्पना गर्नु राज्यको मूर्खता हो कि ? कैदीहरूले सकारात्मक सन्देश दिने पाठ्यसामग्रीहरू, सीपमूलक तथा ज्ञानबद्र्धक तालिम, पारिवारिक वातावरण नभएको गुनासो गरेका छन् । ‘हामी अनुशासनमा बस्न नसकेकै कारण अपराधमा जानी नजानी फसेका हौं,’ एक कैदीले भने, ‘मानिस चाहेर यस्तो दुनियाँमा फस्दैन, परिबन्दले पर्ने हो । त्यसका लागि अनुशासन चाहिन्छ भन्ने बुझेर नै सरकारसँग माग गरिरहेका हौं ।’


जेलभित्र सहयोग
‘संसार बदल्नु छ भने आफैंबाट सुरु गर्नुपर्छ’ भन्ने भनाइलाई ब्यवहारमा उतारिरहेका छन्, जिल्ला कारागार डोटीका कैदी दिपेन्द्रबहादुर जेठारा । ज्यानसम्बन्धी मुद्दामा सजाय भोगिरहेका जेठारा डोटी बडीकेदार गाउँपालिकाका हुन् । उनी कैदीका नाइके छन् । उनले समाजसेवाको उदाहरण कारागारभित्रबाट सुरु गरेका छन् । फोहोर र साँघुरो भान्साकोठामा दाउरा बालेर खाना पकाउँदा कैदीहरूले भोगिरहेको समस्या उनले देख्न सकेनन् । घरबाट पैसा मागेर कैदीहरूलाई खाना पकाउन ६ वटा ग्यास सिलिन्डर र चुलो किनेर सहयोग गरे । चुलो र सिलिन्डर पाएपछि कैदी खुसी भए । ‘हामीलाई आगो बालेर खाना पकाउन निकै समस्या भएको थियो, धुवाँले बिरामी पनि हुने गरेका थियौं,’ बेचबिखनको मुद्दामा सजाय भोगिरहेका बझाङका सुदिप भण्डारीले भने, ‘जेठाराले ठूलो सहयोग गरे ।’ आगन्तुकसंग गर्नुपर्ने ब्यवहारबारे पनि जेठाराले सिकाउने गरेको अर्का कैदी महासिंह कुँवरले बताए ।


सुधारगृह बनाउने लक्ष्य
डोटी कारागारका कैदी सजाय भुक्तान गरिसकेपछि कारागार सुधारकै अभियानमा लाग्ने बताउँछन् । नेपालमा कानुनी रूपमा कारागारलाई सुधारगृह उल्लेख गरे पनि ब्यवहारमा त्यस्तो नदेखिएको उनीहरूले बताए । दिपेन्द्र जेठारा जेल जीवनपछि सामाजिक अभियान चलाउन चाहन्छन् । देशभरका कारागारलाई व्यावहारिक रुपमा सुधारगृहका रुपमा परिणत गर्ने उनको धोको छ ।

प्रकाशित : जेष्ठ १२, २०७५ ०९:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?