कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ताल संरक्षणमा नयाँ योजना

गणेश चौधरी

टीकापुर — घोडाघोडी नगरपालिकाले घोडाघोडी ताल संरक्षण व्यवस्थापन र पर्यटन विकासका लागि नयाँ योजना ल्याउने भएको छ । सरकारले सिमसार र रामसारको सुचीमा परेको तालको संरक्षणको जिम्मेवारी नलिएसम्म तालको संरक्षण र पर्यटन विकास सम्भव नभएकाले नयाँ योजना ल्याउन थालेको हो ।

ताल संरक्षणमा नयाँ योजना

घोडाघोडी नगरपालिकाका प्रमुख तथा बृहत् घोडाघोडी ताल तथा पर्यटन विकास बोर्डका अध्यक्ष ममताप्रसाद चौधरीले घोडाघोडी ताल तथा पर्यटन विकास बोर्डमार्फत घोडाघोडीको नयाँ गुरु योजना ल्याउन लागिएको बताए । उनले भने, ‘प्राकृतिक सम्पदालाई असर नपर्ने गरी पर्यटन पुर्वाधार बनाउने सोच छ ।’


चौधरीका अनुसार घोडाघोडी तालमा पाइने जंगली धान, गोही प्रजनन, हरिहाँस लगायतका विभिन्न जीवजन्तु तथा चराको संरक्षित क्षेत्र गुरु योजनामा हुनेछ । ‘घोडाघोडी तालसंग जोडिएका अन्य तालमा पनि डुंगा सयर गर्ने, फिसिङ गर्ने तथा पर्यटकलाई सूचना घर र चुरेसम्मको ट्ेरकिङ र बन्जीजम्प लगायतका सम्भावना पनि गुरु योजनामा समेटिनेछ,’ उनले भने ।


घोडाघोडीमा पाइने जीवजन्तुको लगत लिन पनि बाँकी रहेकोले घोडाघोडी ताल तथा पर्यटन विकास बोर्ड मार्फत त्यो काम गरिने उनको भनाइ छ । ‘घोडाघोडी ताल क्षेत्रमा विभिन्न गैरसरकारी संस्थाले पनि तथ्यांक संकलन गरेका होलान् । उनीहरूको तथ्यांक पनि उपयोग गर्ने र बोर्ड आफंैले पनि लागत लिनेछ,’ मेयर चौधरीले भने ।


घोडाघोडी ताल क्षेत्रमा बोर्डको स्वीकृतिबिना कार्यक्रम गर्न नपाइने कार्यविधिमा उल्लेख गरिएको छ । नगरप्रमुख चौधरीले भने, ‘घोडाघोडीको विकासमा एकद्धार प्रणाली होस । डुप्लिकेसन नहोस् भन्ने उद्येश्य हो ।’


नगर प्रमुखले नेपालको पर्यटन रणनीतिमा अहिलेको सुदूर पश्चिमका पर्यटकीय गन्तव्य नपरेको गुनासो गर्दै घोडाघोडीको प्रचारात्मक र प्रवद्र्धनात्मक कार्यक्रम गरिने बताए । उनले भने, ‘अहिले कैलाली भ्रमण वर्ष चलिरहेको छ । यो अवसरमा पनि घोडाघोडीमा थुप्रै कार्यक्रम गर्ने सोच बनाएका छौं ।’


घोडाघोडीमा अहिले पर्यटक मुस्किलले ३० मिनेटजति अडिने गरेकामा आउँदा दिनमा एक हप्तासम्म पर्यटक रोकिने सम्भावनाको खोजी गर्दै रणनीतिक योजना बनाइने पनि नगरप्रमुख चौधरीले बताए । उनले भने, ‘स्थानीयसँग सौहार्दता र विद्यालय स्तरमा पाठ्यक्रममा संरक्षणका कुरा राखिने सोच छ ।’

प्रकाशित : जेष्ठ १२, २०७५ ०९:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?