कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

मुक्तिले फेरियो जीवन

सबैजसो मुक्त कमैयाले गाउँमै काम पाइरहेका छन् । बजार क्षेत्रका घर र विकासे काममा पनि संलग्न छन् । मिस्त्रीको काम पाएपछि आर्थिक अवस्था पनि सुध्रिदै छ ।
भवानी भट्ट

कञ्चनपुर — ३२ वर्षीय मोहन चौधरीको घरमा हरेक दिन बिहान बेग्लै माहोल हुन्छ । सबै आआफ्ना काममा जान हतारिन्छन् । मोहन, उनका दाइ सोनु र भाइ राजेश तीनै जना घर निर्माणका लागि जान्छन् । सँगै निस्के पनि उनीहरूको काम गर्ने ठाउँ भने फरक छ ।

मुक्तिले फेरियो जीवन

बिहान निस्केका उनीहरूको भेट अबेर साँंझ मात्रै हुन्छ ।


‘मुक्तिपछि हाम्रो दैनिकी यसरी नै चलेको छ,’ मोहन भन्छन्, ‘पहिला जस्तो बिहान भाले बास्नेबितिक्कै उठेर साँझ अबेरसम्म खेतमै काम गर्नुपर्ने अवस्था छैन ।’ बुबा जंगलीसँगै कमैया बसेका उनलाई मालिकका घरमा गाईबाख्रा चराएको र हलो जोतेको हिजोअस्तिजस्तै लाग्छ । त्यतिबेला उनी सानै भएकाले कामको भार धेरै थिएन । जब उनी काम गर्न सक्ने भए कमैया मुक्तिको घोषणा भयो । मुक्तिपछि उनको परिवार बेदकोट नगरपालिका ३ सामादैजीमा बसोबास गरिरहेको छ ।


कमैया बसेकै बेला ८ कक्षा सम्म पढेका मोहनले कमैया मुक्तिपछि स्कुल जान पाएनन् । मालिकले घरबाट धपाएपछि केही दिन त के खाने के लाउने र कहांँ बस्ने भन्ने ठेगान भएन । त्यही बेलादेखि मजदुरी सुरु गरेका उनले ४ वर्षमा मिस्त्रीको काम सिकेका हुन् । आफूसँगै दाइ र भाइलाई पनि काम सिकाएको उनले बताए । अहिले उनको परिवारको मासिक आम्दानी ७० हजार बढी छ । यसका साथै उनको परिवारले २ विघा जमिन पनि अधियाँ कमाएको छ ।


‘विगतमा अर्काका लागि धेरै पेलियौं, बिहानदेखि सांँझसम्म मालिककै लागि काम गर्‍यौं,’ मोहन भन्छन्, ‘तर अहिले कुनै करकापबिना स्वतन्त्र भएर जे जति सक्यो आफ्नै लागि गरिरहेका छौं ।’ सबैले सानोतिनो भए पनि प्रगति गरेको उनको बुझाइ छ । उनका परिवारका तीनै जनाका ५ छोराछोरीलाई बोर्डिंङ स्कुलमा पढाएका छन् । यसका साथै विभिन्न समूह र सहकारीमा पनि बचत गरेका छन् ।


सामादैजीमै बसोबास गरिरहेका ४२ वर्षीय मंगल चौधरी र उनका जेठा छोरा अजय दुवै जना मजदुरी गर्छन् । बाबु छोरा दुवै बिहान आआफ्नो काममा जान्छन् । दिउँसोको खाना खान घर फर्किन्छन् । खाना खाएर केहीबेर आराम गरेपछि फेरि काममा जान्छन् । सांँझ घर फर्किएर परिवारसँगै दु:ख सुखका गफगाफ गर्दै सँगै खाना खान्छन् । ‘कमैया बस्दा परिवारसँगै बसेर खान पाउने कुरै भएन,’ उनी सम्झन्छन्, ‘त्यतिबेला न खाने समय हुन्थ्यो, नत सुत्ने नै ।’

मंगलले कमैया पुन:स्थापना कार्यक्रमबाट पाएको ५ कठ्ठा र थप केही अधियाँ जमिन बनाएका छन् । त्यसबाट घर परिवारका लागि खान पुग्छ । एक छोरा र एक छोरीको पढाइ खर्च मजदुरीबाटै जुटेको छ । जेठो छोरा पनि काम गर्ने भएकाले केही बचत गरेर उनले पक्की घर बनाएका छन् । ‘कमैया मुक्तिपछि धेरैले राम्रो प्रगति गरेका छन्, सबैले छोराछोरी बोर्डिंङमा पढाएका छन्, घर पनि पक्की बनाएका छन्,’ मंगल भन्छन्, ‘पहिले खानेपिउने समय थिएन, आम्दानी शून्य थियो, अहिले आरामले काम गर्छाै, सबैले आम्दानी गरिरहेकै छौं । कोही मजदुरी गर्छन्, कोही मिस्त्री छन् ।’

उनका अनुसार मुक्त कमैया बस्तीमा घर निर्माण गर्ने मिस्त्रीको काम धेरैले सिकेका छन् । महिलासमेत मिस्त्री काममा लागेका छन् । सबैजसोले गाउँमै काम पाइरहेका छन् । बजार क्षेत्रमा सानोतिनो घर निर्माणको काम होस वा विकास निर्माणको काम । जताततै मुक्त कमैया परिवारकै महिला र पुरुषहरू संलग्न देखिन्छन् ।


५ पटक ‘लिलामी’
बुबा भरतसँग सानैदेखि कमैया बसेका ७० वर्षीय सोनारी चौधरी ‘मालिक’का घरमा बिहान भाले बासेदेखि राती अबेरसम्म जोतिएको अझै बिर्सेका छैनन् । समयमा खाना खान नपाउने र सुत्न नपाउने त उनलाई सामान्य झैं लाछ । तर माघ नजिकिँदा फेरबदलका लागि लाग्ने ‘लिलामी’ सम्झिदा अहिले पनि उनको मन विचलित हुन्छ । ‘मान्छेले मान्छेको लिलामी बोल्ने जमाना थियो त्यो, माघको महिना बोली लाग्थ्यो जसले मालिकको ऋण तिथ्र्याे उसैले लैजान्थ्यो,’ कमैया बस्दाको अवस्था सम्भिंmदै सोनारी भन्छन्, ‘५० वर्षमा ५ पटक मेरो लिलामी भयो ।’


माघको महिना नजिकिंदै गर्दा घर बदल्न भ्याइनभ्याई हुन्थ्यो । मालिकको मन नपर्दा होस् वा कमैया बसेको व्यक्तिको मन नमाने पनि माघमा छाड्ने र नयाँं घर खोज्ने चलन थियो । जसले मालिकको ऋण तिर्छ उसैकहांँ बस्नुपर्ने अवस्था थियो । सोनारीले पनि बुवाले लिएको १२ हजार ऋणका लागि ५ पटक घर बदलेका थिए । कुनै ठाउँमा मलिकले मन नपराएर र कुनै ठाउँमा उनी आफैले मन नपराएर घर बदल्नुपरेको बताउँछन् ।


तर अहिले अवस्था फरक छ । उनले बुढेसकालमा बिश्राम गर्न पाएका छन् । छोराहरू काममा जान्छन् । कमाएर ल्याउँछन् र आमाबुवालाई पनि पालेका छन् । ‘कमैया बस्दा त बुढेसकालमा समेत आराम गर्न पाइँदैनथ्यो,’ उनी भन्छन्, ‘अहिले सवै काम गर्छांै, नसके घर कुरेर बस्छौं, छोरानातिका लागि खाना बनाइदिन्छौं ।’

प्रकाशित : जेष्ठ १२, २०७५ ०९:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?