१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

डढेलोले जंगल र वन्यजन्तु संकटमा

कैलाली जिल्लाका संरक्षित वन क्षेत्र डढेलोका कारण उच्च जोखिममा
डीआर पन्त

धनगढी — कैलालीको संरक्षित वन क्षेत्र र जैविक मार्गमा डढेलोका कारण वन्यजन्तुसँगै ठूलो मात्रामा जंगल क्षेत्र विनाश हुन थालेको छ ।

डढेलोले जंगल र वन्यजन्तु संकटमा

वसन्ता वन क्षेत्र, मोहना जैविक मार्ग, कर्णाली वन क्षेत्र, चुरे वन क्षेत्र, भावर वन क्षेत्रलगायतका देशकै सबैभन्दा बढी वन क्षेत्रमा हरेक वर्ष लाग्ने डढेलोका कारण जंगल विनाशसँगै दुर्लभ वन्यजन्तु संकटमा पर्न थालेका हुन् । ‘हालसम्म ५ सय हेक्टरभन्दा बढी वन क्षेत्रमा आगलागी सुरु भइसकेको छ,’ सहायक वन अधिकृत भीमप्रसाद ढकालले भने ‘जनचेतना फैलाउनेबाहेक डढेलो रोक्ने कुनै संयन्त्र नभएकाले गम्भीर समस्या भएको छ ।’


जैविक विविधताका दृष्टिकोणले महत्त्वपूर्ण मानिएका कैलाली जिल्लाका संरक्षित वन क्षेत्र डढेलोका कारण उच्च जोखिममा रहेको वनकर्मीले जनाएका छन् । मोहना करिडोर, वसन्ता वन क्षेत्र, कर्णाली वन क्षेत्र र चुरेभावर क्षेत्रका जंगलमा आगलागीबाट हरेक वर्ष वन विनाश हुंँदै आएको वनकर्मीको भनाइ छ । ‘हरेक वर्ष हजारौं हेक्टर जंगल डढेलोका कारण नष्ट हुने गरेको छ,’ वन संरक्षणमा क्रियाशील धर्मराज जोशीले भने, ‘सामुदायिक वनमा डढेलो नियन्त्रण दल गठन गरी अग्निरेखा बनाएर संरक्षणको प्रयास भइरहेकाले क्षति कम भए पनि राष्ट्रिय वनमा भने वन क्षेत्र विनाश हुँंदै आएको छ ।’


सामुदायिक वन उपभोक्ता महासंघ कैलालीका सचिव डण्डीराज सुवेदी पनि सामुदायिक वनमा डढेलो नियन्त्रण दल गठन गरी वनमा आगलागी हुनबाट जोगाउन खोजे पनि प्रभावकारी हुन नसकेको बताउँछन् । सुवेदीले भने, ‘प्रविधि, जनशक्तिको अभाव र सचेतना नहँुदा डढेलो नियन्त्रण गर्ने प्रयास भइरहे पनि प्रभावकारी हुन सकेको छैन ।’


सामुदायिक वनहरूले केही प्रयास गरिरहेको भए पनि राष्ट्रिय वनमा भने डढेलो नियन्त्रणको सामान्य प्रयाससमेत हुन सकेको देखिएको छैन । गत वर्षको डढेलोले कैलालीको २५ हजार हेक्टर वन क्षेत्र नराम्ररी प्रभावित भएको थियो । जिल्ला वन कार्यालयको तथ्यांकअनुसार गत वर्ष देशभरिमा सबैभन्दा बढी जंगल क्षेत्र डढेलोका कारण कैलालीमा सखाप भएको थियो । सहायक वन अधिकृत ढकालका अनुसार यस वर्ष अहिलेसम्म ५ सय हेक्टर जंगल क्षेत्रमा आगलागी भए पनि समय समयमा पानी परेका कारण डेढेलोले ठूलो रूप लिन पाएको छैन । ‘गत वर्षजस्तै खडेरी पर्ने हो भने असारसम्म पनि वनमा डढेलो लाग्न सक्ने त्यत्तिकै सम्भावना रहन्छ,’ सहायक अधिकृत ढकालले भने, ‘डढेलोका कारण भएको जंगललाई क्षति त हुन्छ नै त्यसबाहेक नयाँ हुर्कन थालेको जंगल समाप्त हुने गरेको छ ।’ जंगलको दोस्रो पुस्ता हुर्कन नपाउँदै समाप्त हुने भएकाले डढेलो नियन्त्रणमा राज्यले गम्भीर हुनुपर्नेमा संरक्षणकर्मीहरूले माग गरेका छन् । लामो समयदेखि वन संरक्षणमा क्रियाशील मोहना सामुदायिक समन्वय समितिका अध्यक्ष राजबहादुर ऐरले भने, ‘जनचेतनासँगै डढेलो नियन्त्रणका लागि सामुदायिक वनलाई जनशक्ति र प्रविधियुक्त बनाउन आवश्यक रहेको छ ।’ वनक्षेत्र संरक्षणका लागि बनेका कानुनको कडाइका साथ पालना नहुँदा पनि वन क्षेत्रमा जथाभावी आगलागी हुने गरेको ऐरले बताए । उनले भने, ‘वन क्षेत्रमा आगलागी मानवजन्य क्रियाकलापबाट बढी हुने गरेको छ ।’


देशमा सबैभन्दा बढी २ लाख ५३ हजार हेक्टर वन क्षेत्रमध्ये कैलालीमा ५ सय २४ वटा सामुदायिक वनले ५८ हजार ७ सय हेक्टर जंगल क्षेत्र ओगटेका छन् । त्यसबाहेक प्राय: सबै वन क्षेत्र राष्ट्रिय वन र संरक्षित वन क्षेत्रमा रहेको छ । चुरे क्षेत्र, वसन्ता जैविक मार्गजस्ता जंगलमा डढेलोका कारण वन्यजन्तुले सबैभन्दा बढी सास्ती भोग्नुपरेको संरक्षणविद्हरूले बताएका छन् ।


भारतको दुदवा नेसनल पार्कसँग जोडिएका कैलालीका घना वन क्षेत्रमा ओहोरदोहोर गर्ने वन्यजन्तुको अस्तित्व नै संकटमा पर्न थालेकोमा संरक्षणकर्मीहरूले चिन्ता व्यक्त गरेका हुन् ।

प्रकाशित : जेष्ठ १६, २०७५ १०:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?