मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक

चार मन्त्रीको आफ्नो नाममा सम्पत्ति छैन
आर्थिक कारोबारी मन्त्री : आर्थिक मामिलामन्त्री
सुनका धनी : आन्तरिक मामिलामन्त्री
अर्जुन शाह

धनगढी — सरकार गठन भएका सय दिन पुगेसँगै प्रदेश ७ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मुख्यमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण मंगलबार सार्वजनिक गरेको छ ।

मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक

मुख्यमन्त्री त्रिलोचन भट्ट, आन्तरिक मामिलामन्त्री प्रकाशबहादुर शाह, सामाजिक विकासमन्त्री दीर्घबहादुर सोडारी र भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनीता चौधरीको आफ्नो नाममा कुनै सम्पत्ति छैन ।


सार्वजनिक सम्पत्ति विवरणअनुसार मुख्यमन्त्री त्रिलोचन भट्टसँग सबैभन्दा न्यून सम्पत्ति छ । सुनका धनी आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाह देखिएका छन् । मन्त्री शाहसँग श्रीमती लक्ष्मी भट्टको कमाइको ५२ तोला सुन छ । आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुृर बोहरा वित्तीय कारोबारमा अगाडि देखिएका छन् । घरजग्गामा समेत उनी अन्य मन्त्रीभन्दा अगाडि छन् ।


मुख्यमन्त्री भट्टको डोटीको केआई सिंह–६ मा एउटा घरसहित साढे २० रोपनी जग्गा छ । उक्त घरजग्गा श्रीमती दुर्गा भट्ट र शालिग्राम भट्टका नाममा छ । उनीसँग एक तोला सुन छ । ७० हजार बैंक मौज्दात देखाएका मुख्यमन्त्रीले ३ लाख ४० हजार ऋण रहेको उल्लेख गरेका छन् ।


आफ्नो नाममा कुनै सम्पत्ति नरहेको उल्लेख गरेका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाहको श्रीमती लक्ष्मी भट्टको आर्जनको ५२ तोला सुन, काठमाडौं गोठाटारमा ३ आनामा बनेको घरजग्गा छ । यस्तै, धनगढी ४ मा ६ कठ्ठा ८ धुर र कञ्चनपुर दैजी–८ मा १ हजार ६९३ वर्गमिटर जग्गा भट्टकै नाममा छ । मन्त्री शाहका दाजु डम्बरबहादुर शाहका नाममा बाजुराको बूढीगंगा–६ मा १२ हजार वर्गमिटर खेती जग्गा र घर रहेको उल्लेख छ । ७३ हजार बैंक मौज्दात, ७ लाख २० हजार ऋण रहेको उल्लेख छ । ४ लाख ६५ हजारको १ हजार ७१० कित्ता सेयर भट्टकै कारोबार रहेको उल्लेख छ । ‘सुनसहित सबै सम्पत्ति श्रीमतीले विवाहअघि आर्जन गरेको सम्पत्ति हो,’ मन्त्री शाहले भने । आफ्नो नाममा कुनै सम्पत्ति नभएका अर्का मन्त्री सामाजिक विकासमन्त्री दीर्घबहादुर सोडारी हुन् । मन्त्री सोडारीका बुवा लोकबहादुर सोडारीका नाममा कैलालीको गौरीगंगा–५ मा १५ कठ्ठा जग्गा र घर छ । यस्तै, अछामको मंगलसेन–१४ मा ४ रोपनी जग्गासमेत बुवाकै नाममा रहेको उल्लेख छ । दाजु कल्याण सोडारीको नाममा गौरीगंगा–५ मा ५ कठ्ठा, लम्कीचुहा–२ मा २ कठ्ठा जग्गा र एक घर रहेको उल्लेख छ । भाइ नरबहादुर सोडारीको नाममा गौरीगंगा–५ मा ६ कठ्ठा र घर छ । श्रीमती गीता सोडारीको नाममा धनगढी–१ मा १ कठ्ठामा बनेको घर र सोही ठाउँमा अर्को १२ धुर जग्गा रहेको उल्लेख छ । सम्पत्ति विवरणमा उल्लेख गरेअनुसार सोडारीको सुन ६ तोला र चाँदी २० तोला रहेको छ । ५ लाख ६० हजार बैंक मौज्दात भएका मन्त्री सोडारीलाई
एक लाख ऋण छ ।


भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहराको तराईमा घरजग्गा छैन । बुवा भवानसिंह, मन्त्री आफैं, बाजे गोपी बोहरा र श्रीमती मीनादेवी बोहराका नाममा डडेलधुराको पर्शुराम नगरपालिकामा गरी ३१ रोपनी जग्गा र २ घर छन् । अमरगढी नगरपालिकामा एउटा घडेरी छ । २ लाख ६४ हजार बैंक मौज्दात भएका मन्त्री बोहरासँग ४ तोला सुन छ भने एक लाख ऋण छ । आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराको ७ करोड ५१ लाख ३६ हजारको सेयर छ । ६ लाख ४५ हजार ८६४ बैंक मौज्दात रहेका मन्त्री बोहरासँग १९ करोड ७५ हजार ऋण छ । श्रीमती दुर्गा बोहराका नाममा टीकापुरमा ४ कट्टा १२ धुर जग्गा छ । लम्कीचुहा नगरपालिकामा श्रीमती बोहराकै नाममा ४ कट्टा १५ धुर, कैलाली टीकापुर ९ मा २ बिघा १६ कट्टा, काठमाडौं ७ मा एक रोपनी ३ आना, काठमाडौं ४ मा १ हजार ६०९ वर्गमिटर जग्गा छ । यस्तै मन्त्री बोहरा आफ्नो नाममा कैलाली गोदावरी–२ मा ४ रोपनी १० आना, काठमाडांै–४ मा १ हजार ५९८ वर्गमिटर, कैलाली टीकापुर–९ मा २ कठ्ठा रहेको छ । छोरा कृष्ण बोहराको नाममा कैलाली गोदावरी एक रोपनी जग्गा रहेको छ । उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्टका नाममा बैतडी दशरथचन्द–५ एक रोपनी जग्गा र एक घर छ । ५ लाख बैंक मौज्दात भएकी मन्त्री भट्टलाई २५ लाख बैंक ऋण छ । उनीसँग १५ तोला सुन र २० लाख ६५ हजार बराबरको २ सय ५० कित्ता सेयर छ ।


भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनीता चौधरीको आफ्नो नाममा कुनै सम्पत्ति छैन । श्रीमान् परशुराम चौधरीको नाममा कैलाली भजनी–४ मा ४ कठ्ठा जग्गा र एक घर रहेको छ । यस्तै श्रीमान्कै नाममा भजनीमै एक बिघा जग्गा छ । ७ तोला सुन, ५० हजार बैंक मौज्दात, एक लाख ऋण र ६२ हजार बराबरको सेयर कित्ता रहेको मन्त्री चौधरीले सम्पत्ति विवरणमा उल्लेख गरेकी छन् ।

प्रकाशित : जेष्ठ १६, २०७५ १०:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?