कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सदरमुकाममा घट्यो चहलपहल

मेनुका ढुंगाना

अछाम — जिल्लामा हुने सबै सरकारी कामकाज स्थानीयस्तरमै भएपछि अछाम सदरमुकाम मंगलसेन सुनसान बन्दै गएको छ । राज्यको पुन:संरचनासँगै संघीयताको कार्यान्वयन भएपछि सदरमुकाम सुनसान भएको हो । विकट गाउँमा भने चहलपहल बढ्न थालेको छ ।

सदरमुकाममा घट्यो चहलपहल

चहलपहल घट्न थालेपछि सदरमुकाममा सञ्चालित व्यवसाय ओरालोलाग्दो क्रममा छ । व्यवसायीले दैनिक गर्ने लाखौंको कारोबार अहिले हजारमा झरेको छ । सदरमुकाम आउनुपर्ने काम गाउँबाटै हुन थालेपछि अछाम सदरमुकाम मंगलसेन सुनसानजस्तै देखिन थालेको छ ।

जन्मदर्ताको सिफारिस लिनका लागि सदरमुकाम धाउनुपर्ने बाध्यताको अन्त्य भएको स्थानीयले महसुस गर्न थालेका छन् । ‘अब स्थानीय तह नै बलियो भएपछि सदरमुकामसँगको काम पनि घट्दै गएको छ,’ तुर्माखाँद गाउँपालिका ५ का वडाध्यक्ष तुलाराम जैसीले भने, ‘सबै स्थानीय तहमा चहलपहल ह्वात्तै बढेको छ ।’ सदरमुकाम छाडेर गाउँ फर्किएपछि रित्ता, जीर्ण भएका घर पनि काम लागिरहेको उनको भनाइ छ । संघीयता कार्यान्वयनपछिको चहलपहलले गाउँमा उमंग छाएको उनले बताए । गाउँपालिकामा चहलपहल बढेका बेला सदरमुकाम मंगलसेनमा व्यापार व्यवसायमात्रै होइन, सरकारी कार्यालयमा समेत सेवाग्राहीको चाप कम हुन थालेको छ ।

जिल्लाभरबाट विकासे कामका निवेदन बोकेका नयाँ कार्यको सम्झौता गर्न आउने सेवाग्राहीले भरिभराउ भइरहने साबिकको जिल्ला विकास समिति हाल जिल्ला समन्वय समितिमा परिणत भएपछि सुनसान बनेको छ ।

यसअघि ग्रामीण बस्तीमा यातायातको पहुँच नहुँदा दैनिक उपभोग्य वस्तु खरिदका लागि सदरमुकाम आउनुपर्ने बाध्यता थियो । हाल प्राय: ठाउँका गाउँघरसम्मै यातायातको सुविधा पुगेपछि सदरमुकाममा उपलब्ध हुने वस्तु सोही मूल्यमा आफ्नै घरपायकमा पाइने भएपछि सदरमुकाम शून्यजस्तै बनेको छ ।

लामो समयदेखि जनप्रतिनिधिविहीन स्थानीय तहमा कर्मचारीसमेत विभिन्न कारण देखाउँदै सदरमुकाममै थिए । सचिवमार्फत गराउनुपर्ने काम हटेपछि सदरमुकाममा लाग्ने सेवाग्राहीको भीड हिजोआज सबै गाउँपालिका तथा वडातिर फर्किएको छ । स्थानीय तह भएपछि सदरमुकाममा अलमलिएर बस्ने राजनीतिक दलका नेता कार्यकर्ता पनि गाउँ फर्किएका छन् । जिल्ला सदमुकाम मंगलसेनमा ६ वर्षदेखि व्यवसाय गर्दै आएका युवा व्यवसायी नमराज न्यौपानेले संघीयताको कार्यान्वयन भएपछि स्थानीय तहमा कार्य सञ्चालन हुँदा जिल्ला सदरमुकाममा साबिकको व्यापारिक गतिविधि र मानिसहरूको चहलपहल घटेको बताए । ‘पहिले जिल्ला सदरमुकामस्थित विभिन्न सरकारी कार्यालयका साथै बैंकहरूबाट लिनुपर्ने सेवा हाल स्थानीय तहबाट नै जनताले पाउने व्यवस्था भएपछि व्यापार–व्यवसाय र मानिसहरूको चहलपहल उतै फस्टाएको छ,’ न्यौपानेले भने ।

जिल्ला सदरमुकामको व्यवसाय घट्नु स्वाभाविक भए पनि सदमुकामस्थित मंगलसेन नगरपालिका र यहाँका व्यवसायीहरूले नयाँ थप सेवासुविधाहरू विस्तार गरी घटेको बजारलाई उकास्न सकिने उनको सुझाव छ । सदरमुकामको घट्दो चहलपहलका कारण चिया पसलदेखि होटल, किराना पसल, स्टेसनरीजस्ता व्यवसाय भने संकटमा परेका छन् । केही वर्षअघिदेखि सदरमुकाममा कम्प्युटर इन्स्टिच्युट चलाउँदै आएका खगेन्द्रबहादुर विष्टले जिल्ला सदरमुकाम हुँदा हुने व्यापार घटेको गुनासो गर्दै अब सो व्यवसाय छाडेर केही नयाँ कार्य गर्ने सोच भएको बताए ।

प्रकाशित : जेष्ठ १८, २०७५ १४:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?