कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

विपन्नलाई चौपाया

डीआर पन्त

धनगढी — तराईका छाडा चौपाया लगेर पहाडी जिल्लाका स्थानीय तहले विपन्न समुदायलाई वितरण गर्ने भएका छन् ।

विपन्नलाई चौपाया

धनगढी उपमहानगरपालिका र बझाङका दुईवटा स्थानीय तहबीच छाडा चौपाया लैजाने विषयमा सहमति भएको छ । पहिलो चरणमा बझाङको खप्तड छान्ना र सुर्मा गाउँपालिकाले ७ सय बढी छाडा चौपाया लैजाने भएका छन् । यसबारे तीनवटै स्थानीय तहका प्रमुखबीच बुधबार सम्झौता भएको छ ।

सम्झौतापत्रमा धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वड, बझाङको खप्तड छान्ना गाउँपालिकाका अध्यक्ष बर्खबहादुर रोकाया र सुर्मा गाउँपालिका अध्यक्ष नरबहादुर बोहराले हस्ताक्षर गरे । ‘धनगढीबाट छाडा चौपाया पहाड पुर्‍याउने काम उपमहानगरले गर्छ,’ नगरप्रमुख वडले भने, ‘सम्बन्धित गाउँपालिकामा चौपाया पुर्‍याएको सबै खर्च उपमहानगरले बेहोर्ने सहमति भएको छ ।’

छाडा चौपाया लैजाने गाउँपालिकाले समुदायमा वितरण गरेको भर्पाइ उपमहानगरलाई बुझाउने सहमति भएको पनि वडले जानकारी दिए । उनले भने, ‘चौपाया लगेर अलपत्र नछोडियोस् भनेर सर्वसाधारणलाई बाँडेको भर्पाइ उपमहानगरले मागेको हो ।’

पहिलो पटक खप्तड छान्ना गाउँपालिकाले ३ सय गाईगोरु लैजाने सहमति गरेको गाउँपालिका अध्यक्ष रोकायाले बताए । सूर्मा गाउँपालिकाले ६ सय गाईगोरु लैजाने त्यहाँका अध्यक्ष बोहराले जानकारी दिए ।

‘तराईमा छाडा पशुचौपायाको बिजोग छ,’ खप्तड छान्नाका अध्यक्ष रोकायाले भने, ‘पहाडमा विपन्न परिवारले दूध खान गाई किन्न नसकेर पोषणको अवस्था खस्किएको छ ।’ निकै महँगो मूल्यमा गोरु किनेर खेतीकिसानी गर्नुपर्ने बाध्यता पहाडी जिल्लामा भएकाले तराईका छाडा चौपायाजति खपत गर्ने योजना बनाएको उनले बताए ।

गरिब तथा विपन्नले गाई किन्न नसक्दा दुध खान नपाएको सुर्मा गाउँपालिकाका अध्यक्ष बोहराले बताए । पोषणको अवस्थामा सुधार गर्न र खेतीकिसानी गर्न सहज बनाउने उद्देश्यले तराईका छाडा चौपाया पहाडका लागि वरदान सावित हुने उनको भनाइ छ । ‘व्यवस्थित रुपमा चौपाया लगेर विपन्न परिवारमा बाँड्ने योजना सबै स्थानीय तहले गर्न सके तराईमा छाडा चौपायाको समस्या पनि समाधान हुन्छ,’ उनले भने ।

तराईमा भने छाडा चौपाया स्थानीय तह र सर्वसाधारणका लागि ठूलो समस्याका रुपमा देखा परेका छन् । छाडा चौपाया नियन्त्रण गर्न विभिन्न स्थानीय तहले लाखौं खर्च गरेर गौशाला निर्माण गर्ने, हेराला राख्नेदेखि विभिन्न उपाय अपनाउँदै आएका छन् । धनगढी उपमहानगरपालिकाले छाडा चौपाया नियन्त्रण गर्ने उद्देश्यले दुई साताअघि मात्र आर्थिक संकलन गर्न धनगढीको शिवपुरी धाममा महायज्ञ नै संचालन गरेको थियो ।

विभिन्न स्थानीय तहको तथ्यांकअनुसार कैलाली र कंचनपुरमा मात्र ७ हजारभन्दा बढी छाडा चौपाया छन् । धनगढी उपमहानगरमा मात्र १ हजार ५ सय बढी छाडा चौपाया छन् । तराईबाट छाडा चौपाया लगेर पहाडमा वितरण गर्ने भएपछि बझाङका दुई गाउंँपालिकाका विपन्न समुदाय खुसी छन् ।

प्रकाशित : जेष्ठ १९, २०७५ ११:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?