२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

चैनपुर सडकमा गाडी बन्द

बझाङ — ४ वर्षअघि कालोपत्रे गरिएको जयपृथ्वी राजमार्गको बागथला–चैनपुर सडक खण्ड जीर्ण भएपछि यातायात व्यवसायीले गाडी सञ्चालनमा रोक लगाएका छन् ।‘सडकमा खाल्टैखाल्टा छन् ।

चैनपुर सडकमा गाडी बन्द

‘सडकमा खाल्टैखाल्टा छन् । ठाउँठाउँमा भत्किएको छ । पटक–पटक ध्यानार्कषण गराउँदा पनि सुधार भएन,’ सुदूरपश्चिम यातायातका बझाङ इन्चार्ज जीवन खड्काले भने, ‘सधैंभरि जोखिम उठाएर गाडी चलाउन नसक्ने भयौं ।’

उनले बागथलादेखि सदरमुकाम चैनपुरसम्मको ४८ किलोमिटर सडक जोखिमयुक्त भएकाले यातायात सञ्चालन नगर्ने निर्णय भएको जानकारी दिए ।

गाडी नचलाउने निर्णयपछि सदरमुकाम चैनपुरको सिमखेतस्थित बसपार्कबाट सुदूरपश्चिम, पवनदूत, महाकाली, मालिका र उग्रतारा यातायातका सम्पूर्ण बस बागथलामा राखिएका छन् । यहाँको बसपार्कबाट दैनिक २० वटा बस बाहिर जिल्लाका लागि छुट्ने गरेका थिए ।

चैनपुरबाट धनगढी, महेन्द्रनगर र काठमाडौं लगायतका ठाउँमा जाने र त्यहाँबाट जिल्ला फर्कने यात्रुलाई भने समस्या भएको छ । जिल्ला फर्केका यात्रु केदारस्युँ गाउँपालिकाको बागथलामै अलपत्र छन् । बाहिर जानलाई आएका यात्रु सिमखेत बसपार्कमै बसिरहेका छन । जयपृथ्वीबहादुर सिंह मार्गको योजना कार्यालयले काम सम्पन गरी हस्तान्तरण गरेको वर्ष नबित्दै यो सडकको अधिकांश ठाउँको पिच काम नलाग्ने गरी बिग्रेको छ । बझाङलाई अन्य जिल्लासँग जोड्ने एक मात्र १ सय ८ किलोमिटर लम्बाइको सडकको पिच उप्किएर दजनौं स्थानमा खाल्डाखुल्डी परेका छन् ।

कतिपय स्थानमा सडकमै पानीका तलाउ जमेका छन् । यात्रुले सास्ती भोग्नुपरेको र दुर्घटनाको जोखिम पनि बढेको व्यवसायीहरूको भनाइ छ ।

समानान्तरमा निर्माण गरिएका शाखा सडकबाट बगेर आएको ढुङ्गा र माटो राजमार्गमा थुप्रिने समस्याले पनि बागथला –चैनपुर सडक खण्डको कालोपत्रे कामै नलाग्ने गरी बिग्रिएको छ ।

यातायात व्यवसायीले बिनाजानकारी यातायातका साधन ठप्प गरेको प्रति जिल्ला प्रशासन कार्यालयले चासो राखेको छ । ‘यातायात बन्द गर्नुभन्दा पहिला आफ्ना मागको बारेमा जानकारी गराएको भए छलफल हुन सक्थ्यो । समाधान निकाल्न सकिन्थ्यो,’ प्रमुख जिल्ला अधिकारी प्रेमसिंह कँुवरले भने ‘एक्कासि यातायात बन्द गरियो । यो राम्रो भएन ।’


प्रकाशित : जेष्ठ २१, २०७५ १२:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?