१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

‘बजेटको विस्तृत विवरण देऊ’

सत्तारूढ नेकपा संसदीय दलको बैठकमा प्रदेशसभा सदस्यहरूले आफूहरूलाई बजेटभित्र समेटिएका विस्तृत योजनाबारे कुनै जानकारी नभएको बताएका छन् ।
अर्जुन शाह

धनगढी — सत्तारूढ दलका प्रदेशसभा सदस्यले सरकारद्वारा प्रस्तुत बजेटको विस्तृत योजना तथा विनियोजित रकमसहितको रातो किताब उपलब्ध गराएर मात्रै छलफलमा लैजान आग्रह गरेका छन् ।

‘बजेटको विस्तृत विवरण देऊ’

प्रदेशसभामा बजेटमाथिको छलफल सुरु हुनुअघि आइतबार बसेको प्रदेश ७ सत्तारूढ नेकपा संसदीय दलको बैठकमा प्रदेशसभा सदस्यहरूले आफूहरूलाई बजेटभित्र समेटिएका विस्तृत योजनाबारे कुनै जानकारी नभएको बताएका छन् । सोमबारदेखि प्रदेशसभामा बजेटमाथिको छलफल सुरु हुने कार्यक्रम छ । त्यसअघि आफुहरूको हातमा बजेटको विस्तृत स्वरूप आउनुपर्ने अधिकांश प्रदेशसभा सदस्यहरूले जोड दिएको सांसद पूर्णा जोशीले बताइन् । विस्तृत कार्यक्रम तथा योजना थाहा नपाएर छलफलमा कुरा राख्न असजिलो हुने सांसद जोशीको भनाइ थियो ।


संसदीय दलको बैठकमा सत्तारूढ दलका सांसदहरूले बजेटबारे थुप्रै प्रश्नसमेत उठाएको दलको बैठकमा सहभागी अर्का एक सदस्यले बताए । भौतिक पूर्वाधार विकास मन्त्रालयमा विनियोजित करिब ५ अर्बबाहेक अन्य मन्त्रालयको बजेट सिलिङबारे आफूहरूले कुनै जानकारी नपाएको बताएका थिए ।


‘कुन मन्त्रालयअन्तर्गत कुन–कुन र कति योजना तथा रकम परेको छ भन्ने जानकारी नै भएन’ अछामबाट प्रतिनिधित्वगर्ने सांसद दुर्गाकुमारी कामीले भनिन्, ‘आफैंलाई थाहा नभएपछि जनतालाई कुन–कुन योजना परेका छन् भन्ने जवाफ कसरी दिनु ?’ आर्थिक मामिला तथा योजना मन्त्रालयले बजेट वक्तव्यमा समेटिएबाहेक कुनै पनि कार्यक्रमहरूको शीर्षक र रकमसहितको रातो किताब उपलब्ध नगराएको सांसदहरूले बताए ।


निर्धारित छलफलको कार्यसूची सार्नुपरे पनि मन्त्रालयगत बजेट सिलिङसहितको रेडबुक उपलब्ध भएपछि मात्रै प्रदेशसभामा छलफल सुरु गराउन सरकारलाई आग्रह गरिएको प्रदेशसभा सदस्य चुनकुमारी चौधरीले बताइन् । तर आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले संसद् सचिवालयमा सिलिङसहितको बजेट बुक उपलब्ध गराइसकेको र त्यहींबाट सांसदहरूले प्राप्त गर्ने बताए । संसदीय दलको बैठक मुख्यमन्त्रीको कार्यालयमा बसेको हो ।


दलको बैठकमा बजेट गरिबी न्यूनीकरणमा केन्द्रित हुनु सकारात्मक पक्ष रहेको सांसदहरूले औल्याएको सांसदहरूले बताए । तर, कार्यान्वयन भने चुनौतीपूर्ण रहेको सांसदहरूले औंल्याएका थिए । बजेटमा पुँजीगतभन्दा चालु खर्चमा बढी बजेट विनियोजन गरिनुको कारणबारे सांसदहरूले आर्थिक मामिला तथा योजनामन्त्रीसँग जवाफ मागेका थिए । ‘अन्य प्रदेशमा पुँजीगततर्फ बढी बजेट छ, तर न्यून कर्मचारी संख्या रहेको हाम्रो प्रदेशमा चालुचर्फ बढी बजेट विनियोजन गरिएको छ,’ प्रदेशसभा सदस्य जोशीले भनिन् । २५ अर्ब ६ करोड ५६ लाख १४ हजारको कुल बजेटमा चालुतर्फ १३ अर्ब ३५ करोड विनियोजन गरिएको छ भने पुँजीगततर्फ ११ अर्ब ७१ करोड छुट्याइएको छ ।


यस्तै दलको बैठकमा सांसदहरूले प्रदेश गौरबका आयोजनाबारे स्पष्ट किटान नगरिएकोमा समेत असन्तुष्टि जनाएका छन् । सुरुदेखि प्राथमिकताका साथ छलफलमा ल्याइएको ऐजेण्डा ‘प्रदेश गौरवका आयोजना’ बारे बजेटले किटान नगर्नु ठीक नभएको सत्तारूढ दलका एक सांसदले बताए ।


प्रदेश सरकारको बजेट कार्यान्वय तथा सदुपयोग गर्ने संयन्त्रकाबारेमा समेत सदस्यहरूले सरकारसमक्ष जिज्ञासा राखेका छन् । स्थानीय तहका आफ्नै तमाम योजना तथा कार्यक्रमहरू छन् । प्रदेशअन्तर्गत रहेका ८८ वटै स्थानीय तहका कर्मचारीहरूलाई आफ्नै योजनाहरू सम्पन्न गर्न भ्याइनभ्याइ छ । त्यसैमा प्रदेश र संघीय सरकारका योजना थपिएपछि कार्यान्वयनमा आशंका रहेको बताउँदै सांसद बलदेव रेग्मीले भने ‘प्रदेशले कार्यान्वय तथा अनुगमन संयन्त्र बनाउन आवश्यक छ ।’ सरकारले ३ महिनाभित्र आवश्यक संयन्त्र गठन गरिसक्ने प्रतिबद्धता गरेको सांसद पूर्णा जोशीले बताइन् ।

प्रकाशित : असार ४, २०७५ ०९:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?