२० रुपैयाँमा फर्कियो ज्योति

बझाङ — मुर्मा गाउँपालिका–२ का धिर्जबहादुर बोहराले आँखा देख्न छोडेको ५ वर्ष भएको थियो । कमजोर आर्थिक अवस्थाका कारण उपचार गर्न नसकेर उनले आँखाको ज्योति फर्केला भन्ने आशा मारिसकेका थिए ।

२० रुपैयाँमा फर्कियो ज्योति

‘घरमा राम्रोसँग खानलाउन त समस्या छ । उपचार गर्ने खर्च कहाँबाट पाउनु ?’ उनले भने, ‘संसार नदेखेरै मर्ने भइयो भन्ने ठानेको थिएँ । अहिले त बादल फाटेको आकाशजस्तै भएको छ,’ गुमेको आँखाको ज्योति पाएकोमा उनी दंग छन् ।


बझाङको विभिन्न ठाउँमा गेटा आँखा अस्पताल कैलालीले सञ्चालन गरेको आँखा उपचार शिविरमा उनीजस्तै १ सय ९० जनाले गुमेको ज्योति पाएका छन् । त्यो पनि २० रुपैयाँमा । शिविर आर्थिक अभावमा आँखाको उपचार गर्न नसक्नेलाई लक्षित गरी सञ्चालन गरिएको थियो । शिविरमा नाम दर्ता शुल्क मात्र लिएर आँखा परीक्षण तथा शल्यक्रिया गरेको आँखा उपचार केन्द्र सिमखेतका इन्चार्ज व्यासमुनि रानाले बताए । शिविरबाट ६ सय ३० जना अरू आँखाका बिरामीहरूले पनि सेवा पाएको उनले बताए ।

३ वर्षअघि गेटा आँखा अस्पताल कैलालीमा गएर आफूले देब्रे आँखाको शल्यक्रिया गर्दा झन्डै २० हजार खर्च लागेको बताउने थलाराकी झमा सार्कीले अर्काे वर्षबाट देब्रे आँखा देख्न छोडेकी थिइन् । पैसा अभावले गर्दा शल्यक्रिया गराउन नपाइएकी उनले नि:शुल्क उपचार पाउँदा खुसी व्यक्त गरिन् । उनले भनिन्, ‘दु:खी गरिबको सेवा गर्ने सरकारलाई धन्यवाद छ ।’ घरभित्र धूवाँमा काम गर्नुपर्ने भएकाले महिलाहरूमा बढीजस्तो आँखाको समस्या इन्चार्ज रानाको भनाइ छ ।


गेटा आँखा अस्पताल कैलालीबाट थर्मोलिजिस्टको नेतृत्वको टोलीले यो शिविरमा शल्यक्रिया गरेको थियो । विभिन्न गाउँमा रकमको समस्याका कारण आँखाको समस्या पालेर बसेकाहरूले घरदैलोमा आँखाको उपचार पाउन भन्ने उद्देश्यले सञ्चालन गरेको शिविरले आँखाको हेरचाह गर्ने तरिकाबारे पनि चेतना जागरण गरेको इन्चार्ज रानाले बताए ।

प्रकाशित : असार ४, २०७५ ०९:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?