२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

विपन्नको सहारा बन्यो वन

मोहन शाही

डोटी — जोरायल गाउँपालिका–३ की ५९ वर्षीया धना नेपाली चार वर्षअघि बिरामीले थला परिन् । उपचारका लागि पैसा थिएन् । घरमा साँझ–बिहानको छाक टार्न अभाव हुने धनालाई उपचारका लागि धनगढीका अस्पतालहरूले ६० लाख खर्च लाग्ने बताए ।

विपन्नको सहारा बन्यो वन

उपचार नपाएर घरमा मृत्यु पर्खेर बसेकी धनालाई कैलपाल कबुलियती बनका सदस्यहरूले ढाडस दिए । कबुलियती वनको कोषमा रहेको रकमबाट धनालाई सबैको सल्लाहमा ऋण उपलब्ध भयो ।

उपचारपछि उनी अहिले स्वस्थ छन् । उनले त्यसै कबुलियती वनको आम्दानीबाट ऋणसमेत चुक्ता गरिसकिन् । ‘कबुलियती बनले मलाई जीवन दिएको छ, यो मात्र हुन्न थियो भने म यो संसारमा पनि हुन्थेन होला,’ धना नेपालीले हरियो भएको कबुलियती बन देखाउँदै भनिन्, ‘हामीजस्ता दलित तथा विपन्नका लागि कबुलियती बन सहारा बनेको छ ।’

यसै साता केआई सिंह ४ काफली गाउँकी लक्ष्मी खवासलाई एकाएक विपत् पर्‍यो । उनकी गर्भवती बुहारी धनगढीस्थित जिल्ला अस्पतालमा बच्चा पाउन नसकेर बेहोस थिइन् । डाक्टरले अप्रेसन गर्नुपर्ने बताए ।

अप्रेसनलगायत अन्य खर्चका लागि पैसा खोज्न उनी गाउँभरि डुलिन् तर कतैबाट सहयोग पाइनन् । उनले विपत्मा सहयोग पाइने रम्भा कबुलियती वनको कोष सम्झिन् । समूहका सदस्यहरू तुरुन्तै जम्मा भएर २२ हजार रुपैयाँ ऋणस्वरूप दिए । अहिले उनले नाति पाएकी छन् । बुहारी र नाति घर फर्केपछि परिवारमा खुसीको सीमा नै छैन । केआई सिंह गाउँपालिका–६ की भिताडी गाउँकी इन्द्रा बलायर केही वर्षअघिसम्म घाँसपातका लागि तितेगडामा रहेको राष्ट्रिय वनमा ८ घण्टाको समय कट्थ्यो ।

खानानास्तासँंगै बोकेर बिहान घरबाट निस्के पनि बेलुकी मात्र घर फर्कनुपर्ने बाध्यता थियो । राधाकृष्ण कबुलियती वन बनाएपछि भने उनीसहित गाउँका धेरै महिलाहरूका दु:ख हटेका छन् । हरियाली रहेको कबुलियती वनबाट उनीहरूले आफ्ना बस्तुभाउका लागि मात्र घाँसपात नकाटेर बिक्रीसमेत गर्ने गरेका छन् । ‘विगतमा कुरिटोमा भाँगो हालेर घाँसपात गर्न जान्थ्यौं, धेरै दु:ख झेल्नुपरेको थियो,’ कबुलियती वनको अध्यक्षसमेत रहेकी बलायरले भनिन्, ‘अहिले त हाइसुख्ख छ, नजिकै आफ्नै वन छ, समयको बचत भएको छ ।’ यी दुई उदाहरण मात्र हुन् । विपन्न समुदायका लागि पछिल्लो समय डोटीमा कबुलियती वन सहारा बन्दै गएका छन् । कबुलियती वनको आम्दानी बढ्दै गएपछि विपन्न समुदायको आकर्षणसमेत बढिरहेको जिल्ला वन अधिकृत बद्रीकुमार कार्कीले बताए ।

डोटीमा २ सय १० वटा कबुलियती वन छन् । १० देखि १५ जनाको समूहलाई जिल्ला वनले बाँझो जमिन उपलब्ध गराएर कबुलियती वन बनाउन जिम्मेवारी दिने गरेको छ । ‘विपन्न, गरिब तथा पहुँच नभएका परिवारलाई कबुलियती वन हस्तान्तरण गर्दछौं,’ जिल्ला वन कार्यालयका रेन्जर सुरेश रोकायाले भने, ‘वनको उपभोगबाट समेत वञ्चित रहेका उपभोक्ताले आफ्नै स्वामित्व ग्रहण गरी आम्दानीसमेत उठाउने गर्छन् ।’

प्रकाशित : असार ५, २०७५ १०:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?