एक वडा, एक उत्पादन

कञ्चनपुर — कञ्चनपुरको भीमदत्त नगरपालिकाको तेस्रो नगरसभाले सोमबार आर्थिक वर्ष ०७५/०७६ का लागि १ अर्ब १० करोडको बजेटसहित नीति तथा कार्यक्रम पारित गरेको छ ।

एक वडा, एक उत्पादन

नगर क्षेत्रिभित्र सञ्चालित विभिन्न आयोजना र कार्यक्रमसँगै ससर्त र निसर्त प्राप्त हुने अनुदान र आन्तरिक आयसहितको बजेट प्रस्तुत गरिएको हो ।

आन्तरिक आयतर्फ १२ करोड, वित्तीय समानीकरणबाट २५ करोड, ससर्त अनुदानतर्फ ३१ करोड, राजस्व बाँडफाँडबाट १४ करोड, सुरक्षा भत्ताका लागि १८ करोड, क्षेत्रीय सहरी विकास आयोजनाको ४ करोड, नगर विकास कोषको ऋण २ करोडसहितको आय उपप्रमुख सिंहले प्रस्तुत गरेकी हुन् । नगर उपप्रमुख सुशीलाचन्द सिंहद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, वन वातावरण, खेलकुद, सूचना तथा सञ्चारलगायतका विषय प्राथमिकतामा राखिएका छन् । चालु आवमा सुरु गरिएको चुरे फेदीको जैविक र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँग जोडिएको पर्यटन मार्गलाई आगामी वर्षको नीति तथा कार्यक्रममा समेत प्राथमिकतामा राखिएको नगरपालिकाका प्रवक्ता राजेन्द्र पाण्डेयले बताए ।

आर्थिक वर्ष ०७५/०७६ को नीति तथा कार्यक्रममा कृषितर्फ एक वडा एक उत्पादनका लागि पकेट क्षेत्र घोषणा गरिने उल्लेख छ । केरा, आँप, लिची, फलफूल, तरकारी, चैते धान, माछा पालन, जडीबुटी, बेल र कागती खेतीलाई प्राथमिकतामा राखिएको छ । यसैगरी कृषक व्यवसाय पाठशालाको स्थापना गरी कृषकहरूमा उद्यमशीलताको विकास गर्ने लक्ष्य राखिएको छ ।

पूर्वाधारतर्फ सबै वडा कार्यालयको जमिन खरिद र भवन निर्माणलाई प्राथमिकतामा राखिएको छ । नगर क्षेत्रमा चक्रपथ निर्माण गरी नगरबस सञ्चालनको पहल गरिने, मुख्य सडकहरूमा सौर्य तथा विद्युतीय बत्ती जडान गरिने नीति तथा कार्यक्रम पारित भएको छ । स्वास्थ्यतर्फ एक वडा एक स्वास्थ्य एकाइ र नगर अस्पताल सञ्चालन गरिनेछ ।

भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र विष्टको सभापतित्वमा सम्पन्न नगरसभामा प्रदेशसभाका सांसद प्रकाश रावल र मानबहादुर सुनारसमेत उपस्थित थिए ।

प्रकाशित : असार ५, २०७५ १०:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?