२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

दुर्गममा पुस्तक अभाव

मेनुका ढुंगाना

अछाम — यहाँका ग्रामीण क्षेत्रमा पाठ्यपुस्तक पुग्न नसक्दा पठनपाठनमा समस्या भएको छ । तुर्माखाद गाउँपालिकाको भैरव आधारभूत, विन्द्रासैनी आधारभूत, मालिका आभारभूत शान्तिसृजना आधारभूत, जनज्योति निमावि र नेरा आधारभूत लगायतका विद्यालयम अझैसम्म पाठ्यपुस्तक पुग्न नसकेको हो ।

दुर्गममा पुस्तक अभाव

शैक्षिक सत्र सुरु भएको ३ महिना बित्न लाग्दासमेत नयाँ पाठ्यपुस्तक नपुगेपछि विद्यार्थी पुरानै पुस्तक पढ्न बाध्य छन । नेरा आधारभूत विद्यालय रहफमा अध्ययनरत कक्षा १ का ५० जना विद्यार्थीले नयाँ पुस्तक पाउन सकेका छैनन् । उनीहरू पुस्तकविहीन भएको प्रधानाध्यापक गणेशबहादुर रावलले बताए । पुस्तक नपाएपछि च्यातिएका पुराना किताव सँगालेर अध्ययन गराइरहेको उनले बताए । गतवर्षका विद्यार्थीले प्रयोग गरेको च्यातिएको पुस्तक पढ्न विद्यार्थी बाध्य छन्  ।


जिल्ला सदरमुकाम मंगलसैनबाट करिब ९० किलोमिटर टाढा रहेका ती विद्यालयमा समयमै पाठ्यपुस्तक नपुग्दा विद्यार्थी पढाइबाट वञ्चित भएको जनज्योति निमावि रहफका शिक्षक दलबहादुर रावलले बताए ।गाउँमा रहेका विद्यालयमा किताब र पढाइसमेत नभएपछि विद्यार्थीहरू विद्यालय नआउने र आए पनि पूरा समय नबस्ने गरेको प्रधानाध्यापक रावलले बताए । ‘गाउँमा भएका विद्यालयमा समयमै किताब कहिल्यै पुग्दैनन् । जहिल्यै यस्तै हुन्छ’ उनले भने । कक्षा ९ र १० का ऐच्छिक विषयका पाठ्यपुस्तकको अभाव हुँदा पठनपाठनमा समस्या भएको भैरव मावि भैरवस्थान लकान्द्रकी शिक्षिका हीरा खड्काले बताइन् । ‘कक्षा ९ र १०का अर्थशास्त्र, लेखा र शिक्षा विषयको अभाव हुँदा पूरा समय पढाउन समस्या भएको छ’ उनले भनिन् ।


सुर्खेत डिपोबाट नजिक पर्ने पूर्वी अछामका भैरवस्थान, नाडा रहफ, तुर्माखादका विद्यालयमा पाठ्यपुस्तक अभाव देखिएको हो । सदरमुकामको डिपो त्यहाँबाट टाढा पर्ने भएकाले यो क्षेत्रका विद्यालयले सुर्खेत डिपोसँग पाठ्यपुस्तक किन्ने सम्झौता गरेका छन् । तर सुर्खेतबाट समयमै पुस्तक नल्याएकाले समस्या भएको हो । ‘भौगोलिक विकटताको कारण सुर्खेतबाट पुस्तक ल्याउने सम्झौता विद्यालयहरूले गरेका छन् । तर झन् ढिलो भयो’ शिक्षिका खड्काले भनिन् ।


एकातर्फ स्थानीय तहले समयमै रकम निकासा नगरेकाले पुस्तक अभाव भएको शिक्षकहरू बताउँछन् । सबैभन्दा ढिलो रकम निकासा भएको तुर्माखाद गाउँपालिकाका विद्यालयहरूमै पुस्तक अभाव देखिएको छ । यता कमलबजार, विनायक र ढकारी लगायतका विद्यालयहरूमा पाठ्यपुस्तक समयमै पुर्‍याएको मनकामना पुस्तक पसलका टेकबहादुर शाहीले बताए ।

प्रकाशित : असार ८, २०७५ १०:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?