कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

यार्साले धानिँदै जीवन

हजारौं मानिसको जीविकाको रूपमा देखिए पनि कतिपय परिवारको यार्सागुम्बाले घरबार उजाडेको छ ।
मनोज बडू

दार्चुला — यो सिजनमा गाउँभन्दा बढी भीड जिल्लाका हिमाली पाटनमा देख्न पाइन्छ । यार्सागुम्बा संकलनका लागि यहाँका उच्च हिमाली भेगका पाटनहरूमा हजारौंको संख्यामा मानिस पुगेका छन् ।
काखमा ११ महिनाको दुधे बालक च्यापेर यार्सागुम्बा खोज्न ब्यास गाउँपालिका–६ राप्लाकी यशोदा बुढाथोकी दुदिवन पाटन पुगेकी छन् ।

यार्साले धानिँदै जीवन

५/६ वर्षयता यार्सागुम्बा संकलन गरेर जीविका चलाइरहेको उनले बताइन् । ‘यो वर्षको खर्च कमाउन बच्चा बोकेर पाटन आएकी हुँ,’ उनले भनिन्, ‘यार्सागुम्बा संकलन गर्ने समय सुरु भएसँगै घर बुढा सासूको जिम्मा छोडेर लेकतिर आएकी छु ।’ उनीसँगै गाउँका एक दर्जनभन्दा बढी महिलाहरू बच्चा काखमा च्यापेर लेक पुगेका छन् । बिहानै दुधे बालकलाई दुध चुसाएपछि काखमा बच्चा च्यापेर खानेकुरा बोकी उनीहरू यार्सागुम्बा खोज्न जान्छन् । कोही बच्चा हेर्ने बुढा मानिसहरू साथमा लिएर लेक जाने गर्छन् ।


जडीबुटीकै आम्दानीबाट बालबच्चा हुर्काउनुका साथै उनीहरूको पढाइ खर्च र घरव्यवहार चलाउन काखमा दुधे बालक च्यापेर दु:ख सहेर लेक आएको ब्यास गाउँपालिका ३ की कमला धामीले बताइन् । ‘ढेड महिना दु:खकष्ट गरेर वर्षदिनको घर खर्च चल्छ,’ उनले भनिन्, ‘यसकै लागि घरबारी छोडेर लेक आएका छौं ।’ ५ जनाको परिवार सबै यार्सागुम्बा लगायत अन्य जडीबुटी संकलन गर्न घरमा ताला लगाएर आएका छौं । गोठका गाईबस्तु जंगल धपाएर आफूहरू जडीबुटी संकलन गर्न लेक आएको उनका पति जमनसिंह धामीले बताए । डेढ महिनाको जडीबुटी संकलनबाट राम्रो सिजनमा डेढ/दुई लाखको आम्दानी गरिन्छ । पाटन बस्दासम्म करिब ढेड महिनालाई पुग्ने बन्दोबस्ती सामान बोकेर पूरै परिवार लेक आएको उनको भनाइ छ ।


केही वर्षदेखि आफ्नो सम्पूर्ण परिवारको जीविका यार्सागुम्बा संकलनबाटै गर्दै आएको उनका पति जमनसिंह बताए । ‘आठ वर्षदेखि यार्सागुम्बाको आम्दानीबाटै जीविका चलेको छ,’ उनले भने, ‘गाउँघरमा आम्दानीको अन्य स्रोत नहुँदा बर्सेनि जोखिम मोलेरै भए पनि परिवारै डाकेर जानुपर्छ ।’ यार्सागुम्बा संकलन गर्न पति, दुई छोरा र एक छोरी सँगै लेक पुगेका छौं । यार्सागुम्बा संकलनका क्रममा पाइने दु:ख धेरै भए पनि त्यसले दिने आम्दानीले ती दु:खहरू क्षणभरमै बिर्सन सकिने उनले अनुभव सुनाए । यहाँका धेरै परिवारहरू यार्सागुम्बा संकलनकै भरमा आफ्नो जीविका चलाइरहेका छन् ।


जिल्लाका उत्तरी भेगका मानिसको मुख्य आम्दानीको स्रोत यार्सागुम्बा लगायत स्थानीय जडीबुटी भएकाले यो सिजनमा यहाँका अधिकांश मानिसहरू उच्च हिमाली लेकमा भेट्न पाइन्छ । योसँगै जिल्लाका केही पाटनहरूमा भारतीय नागरिक पनि यार्सागुम्बा संकलन गर्न आउने गरेका छन् । ठूलो दु:खकष्ट सहेर उच्च लेकहरूमा यार्सागुम्बा संकलनका लागि पुगे पनि कतिपय मानिसहरूले अकालमै जीवन गुमाउनुपरेको छ । यहाँका हजारौं मानिसको जीविकाको रूपमा यार्सागुम्बा देखिए पनि कतिपय परिवारको यार्सागुम्बाले घरबार उजाडेको छ ।


जिल्लाका ब्यास र अपीहिमाल गाउँपालिकाका आधा दर्जनबढी पाटनहरूमा मुख्य गरी दुई गाउँपालिका लगायत मार्मा, नौगाड, दुहु, महाकाली नगरपालिका र जिल्लाबाहिरका मानिसहरू हिमाली पाटन पुगेका छन् । मुख्यगरी अपीहिमालको लोलु, चाइमिटला, ब्यास गाउँपालिकाको दुदीवन, आपी, नापी, बुदी लगायतका लेकहरूमा सयौंको संख्यामा संकलकहरू परिवारसहित पाटन पुगेको अपीनाम्पा संरक्षण क्षेत्र कार्यालयले जनाएको छ । वैशाखमा यार्सागुम्बा लगायत अन्य जडिबुटी संकलन गर्न गएका मानिसहरू असारको दोस्रो तथा तेस्रो साता घर फर्कने गर्छन् ।


यार्सागुम्बा संकलकहरू वैशाखमै विभिन्न पाटनहरूमा गएका भए पनि व्यापारीहरू भने एक/दुई सातादेखि मात्र लेक पुगेका छन् । संकलकहरूले संकलन गरेको यार्सागुम्बा किन्नका लागि व्यापारीहरू लेकमै जाने गर्छन् । भने कोही संकलकहरूलाई घर फर्कने समय कुरेर उनकै घरमा पुगेका यार्सागुम्बाको कारोबार हुन्छ । जिल्लाका उत्तरी भेगका सबै घरपरिवार र अन्य मानिसहरूको पनि मुख्य जीविकाको स्रोत यार्सागुम्बा देखिए पनि अत्यधिक दोहन भइरहेकाले बर्सेनि कम हुँदै गएको अपीनाम्पा संरक्षण क्षेत्र कार्यालयले जनाएको छ । यार्सागुम्बा दोहनलाई व्यवस्थित गर्न २०७३ मा यार्सागुम्बा व्यवस्थापन निर्देशिका जारी गरिएको थियो ।

प्रकाशित : असार ८, २०७५ १०:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?